BIZMANDU
www.bizmandu.com

स्रोत खुम्चिन थालेपछि फेरि ४३ अर्ब बजारबाट उठाउँदै सरकार, १४० अर्ब रुपैयाँ सरकारी ढुकुटीमा

२०७६ असार २५

स्रोत खुम्चिन थालेपछि फेरि ४३ अर्ब बजारबाट उठाउँदै सरकार, १४० अर्ब रुपैयाँ सरकारी ढुकुटीमा
स्रोत खुम्चिन थालेपछि फेरि ४३ अर्ब बजारबाट उठाउँदै सरकार, १४० अर्ब रुपैयाँ सरकारी ढुकुटीमा


Tata
GBIME
Nepal Life

काठमाडौं। एक सातामै १०० अर्ब रुपैयाँ खर्च भएपछि सरकारले फेरि आन्तरिक ऋण उठाउन थालेको छ। सरकारले २७ गतेदेखि ३१ गतेसम्म ४३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो।

सरकारले चालु बर्ष १७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने घोषणा गरेको थियो। तर बैशाख १ देखि १४ गतेसम्म ८६ अर्ब रुपैयाँ उठाउने क्यालेन्डर प्रकाशित गरेको थियो। तरलता अभावसँग जुधिरहेका बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र किन्न सक्ने क्षमता नहुँदा जम्मा ५३ अर्ब रुपैयाँको मात्र बिक्री भएको थियो।

अहिले खर्चको मात्रा बढ्न थालेपछि फेरि सरकारले ऋणपत्र उठाउने तालिका सार्बजनिक गरेको हो। सरकारका लागि नेपाल राष्ट्र बैंकले शुक्रबारबाट ऋणपत्र निष्काशन गर्दैछ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अर्को बर्ष कुशन राख्नका लागि पनि सरकारले ऋणपत्र जारी गर्न लागेको जानकारी दिए। उनका अनुसार, पछिल्लो समय विकास खर्चमा तिब्रता आएका कारण बैंकहरुमा तरलता बढेको छ। 'यसो हुँदा उनीहरु सरकारले जारी गरेको ऋणपत्र खरीद गर्न योग्य देखिन्छन्' उनले भने।

अहिले सरकार १४० अर्ब रुपैयाँ बचतमा छ। विकास निर्माणको काम धमाधम भइरहेको र भुक्तानीका लागि चेक काट्ने काम पनि भइरहेको छ। यसो हुँदा सरकारसँग भुक्तानी गर्ने पैसा अभाव हुने देखिन्छ। त्यही भएर पनि सरकारले दोस्रो पटक क्यालेन्डर प्रकाशित गरेर ऋणपत्र उठाउन लागेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो। 

स्रोतका अनुसार, बैदेशिक ऋण तथा सहायतमार्फत पैसा आउन समय लाग्छ। काम भएको सम्पूर्ण विवरण पेश गरेपछि मात्र उनीहरुले भुक्तानी गर्छन्। 

राष्ट्र बैंकले ३१ गते मात्रै २० अर्बको ट्रेजरी बिल जारी गर्दैछ। यसको ब्याज दर बोलकबोलबाट निर्धारण हुनेछ। २७ गते पाँच बर्ष अवधिको विकास ऋणपत्र जारी गर्दैछ। यो ऋणपत्र १२ अर्बको हुने छ।

यसैगरी ३० गते ११ अर्बको अर्को विकास ऋणपत्र जारी गर्दैछ। यसको अवधि ८ बर्षको हुने छ। ब्याज दर प्रतिस्पर्धामा निर्धारण हुने छ।