BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्ने, दुई सञ्चालक जनताबाट, सिइओमा क्षेत्री

२०७६ असार २०

ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्ने, दुई सञ्चालक जनताबाट, सिइओमा क्षेत्री
ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्ने, दुई सञ्चालक जनताबाट, सिइओमा क्षेत्री


Tata
GBIME
Nepal Life

काठमाडौं। मेगा बैंकसँग मर्जरको कुराकानी गरिरहेको ग्लोबल आइएमइ बैंकले जनता बैंक नेपाललाई गाभ्ने भएको छ। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई निर्देशन दिएपछि ग्लोबल निरन्तर मर्जरको पहलमा थियो।

आधा दर्जन बढी संस्थालाई गाभेको ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्नका लागि आजै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ। बैंकले साङ्ग्रिला होटलमा हस्ताक्षर कार्यक्रम राखेको थियो।

स्रोतहरुका अनुसार, मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ। सञ्चालकमा ग्लोबलको पाँच जना र दुई जना जनता बैंकबाट आउने छन्। बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकालनै हुने सहमतिमा छ।

प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्। बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्। सम्पति तथा दायित्व मूल्यांकनपछि शेयर आदान प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको छ।

सहमतिपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बिजमाण्डूसँगको छोटो कुराकानीमा भने, 'दुई प्लस दुई मोर देन चार हुने गरी हामी अगाडि बढेका छौं।'

जनता बैंकका अध्यक्ष केशव रायमाझीले सरकारी चाहना र राष्ट्र बैंकको उद्देश्य पूरा गर्नका लागि मर्जरमा जाने निर्णय गरेको बताए। ठूलो बैंकको अवधारणा अनुसार ग्लोबल आइएमइ राम्रो साझेदार भेट्टाएकाले मर्जरमा जाने सहमति भएको उनले जानकारी दिए।

ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ठूलो बैंक हुँदा जोखिम बहन गर्ने क्षमता वृद्धि हुने भएकाले मर्जरमा गएको बताए। उनले ठूलो पूँजी हुँदा ठूला परियोजनामा लगानी गर्न सकिने जानकारी दिए। उनले सरकार र राष्ट्र बैंकको नीतिलाई आत्मसाथ गर्दै अगाडि बढ्ने जानकारी दिए।