Bizmandu
www.bizmandu.com

क्लिन फिड: अपरेटरहरुबाहेक सबै पक्षमा, क्लिन फिडले कति बढाउँछ नेपालको विज्ञापन बजार?

क्लिन फिड: अपरेटरहरुबाहेक सबै पक्षमा, क्लिन फिडले कति बढाउँछ नेपालको विज्ञापन बजार?


काठमाडौं। सरकारले टेलिभिजन च्यानलमा क्लिन फिड लागू गर्न भनेर ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरेसँगै क्लिन फिडबारेको बहश चुलिएको छ। 

केबल टेलिभिजन सेवा प्रदायकहरु र विज्ञापन एजेन्सीबीच घम्साघम्सी चलिरहेकै छ। क्लिन फिडको विरोधमा केबल टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टा सेवा बन्द नै गरे।

Tata
Jagdamba Steel
Sanima Bank

यता क्लिन फिड लागू गर्नेसम्बन्धमा सरकार भने दृढ देखिएको छ। एकातिर सरकार र विज्ञापन एजेन्सीहरु क्लिन फिड जसरी पनि लागू गर्ने मनस्थितिमा छन् भने केबल सेबा प्रदायकहरु विपक्षमा। 

सर्वसाधारणमा भने क्लिन फिड के हो र क्लिन फिड लागू भए के हुन्छ? क्लिन फिड लागू भएपछि विदेशी विज्ञापन मात्र बन्द हुने हुन् वा सबै विज्ञापन भन्नेमा अन्योल देखिन्छ। एकथरी क्लिन फिड लागू भएपछि विदेशी च्यानलमा स्वदेशी विज्ञापन हेर्न पाइने तर्क गरिरहेका छन् भने अर्काथरी चाहिँ सबै च्यानल विज्ञापनरहित हुन्छन् भन्ने तर्कमा छन्।

क्लिन फिड भन्ने शब्दले कुनै पनि प्रसारण सामाग्री प्रसारण गर्दा विज्ञापन हुनुहुँदैन भन्ने जनाउँछ। क्लिन फिड लागू भएपछि विदेशी च्यानल प्रसारण हुँदा त्यसमा कुनै पनि विज्ञापन देखाउन पाइँदैन। जस्तो अहिले भारतबाट प्रसारण हुने सोनी टेलिभिजन हेर्दा त्यो च्यानलका कार्यक्रमसहित बीचमा आउने विज्ञापन पनि हेर्नुपर्छ तर पूर्ण रुपमा क्लिनफिड लागू भएपछि सोनीको कार्यक्रमका बीचबीचमा आउने विज्ञापन नहेरी कार्यक्रम मात्रै हेर्न पाइनेछ। तर नेपालको हकमा अहिले सरकारले पूर्ण विज्ञापनरहित वा विदेशी विज्ञापनरहित हो भनेर परिभाषित गरिनसकेको अवस्था छ।

सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले गत बिहीवार पत्रकारहरुलाई जवाफ दिँदा भनेको कुरालाई मान्ने हो भने अहिले नेपालमा लागू गर्न खोजिएको क्लिन फिड भनेको विदेशी च्यानल विज्ञापन रहितभन्दा पनि स्वदेशी विज्ञापनसहितको भन्ने बुझिन्छ। यसमा सरकारले आफैले नि क्लिन फिड के हो भनेर परिभाषित गरेको देखिँदैन।

सरकार एकातिर क्लिन फिड लागू गर्ने भनिरहेको छ र सँगै भनिरहेको छ, ‘हामीले विज्ञापन राख्न नपाउने भनेका छैनौं, स्वदेशी विज्ञापन राख्न नपाउने भनेको हो।‘ यदि त्यसो हो भने त यसलाई क्लिन फिड नभनेर विज्ञापन विस्थापन भन्नुपर्ने हो।

त्यसोभए अहिले सरकारले लागू गर्न खोजेको चाहिँ के हो त? हामीले सूचना तथा संचार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीलाई सोध्यौं। ‘अहिले प्रसारित ऐनमा विज्ञापनरहित नै भनिएको छ,’ उनले भने, ‘यो कस्तो हुने भन्ने चाहिँ नियमावली र कार्यविधि बनाउँदा निर्धारण गर्दै जाने कुरा हो।‘

विज्ञापन एजेन्सी र मिडियाको चासो
अहिले विदेशी च्यानलमा विदेशी विज्ञापन बजाउँदा स्वदेशी मिडिया मर्ने र विज्ञापन नहाल्दा केबल टेलिभिजन सेवा प्रदायकहरुले च्यानलै नपाउने अवस्था आउने चर्चा गरिएको छ। यसको चुरो कुरो खोज्दै जाँदा विज्यापन एजेन्सी र केबल सेवा प्रदायकहरुको लडाइँ प्रष्ट देख्न सकिन्छ यसमा। अझ प्रस्तावित विज्ञापन ऐेनमा रहेको ‘डबिङ गरेका विज्ञापन बजाउन नपाउने’ र ‘विज्ञापनमा नेपाली कलाकार प्रयोग गर्नुपर्ने प्रावधानले विज्ञापन एजेन्सी तथा कलाकारहरुलाई पनि यसले थप उत्साहित बनाएको छ।

यसबाट सोझो फाइदा नेपालका विज्ञापन एजेन्सी र नेपाली मिडियालाई नै हुन्छ। विज्ञापन एजेन्सीहरु भनिरहेका छन्, ‘विदेशी च्यानलमा विज्ञापन बजाउँदा नेपाली टेलिभिजन, मिडियाहरुले विज्ञापन नै नपाउने अवस्था भयो। त्यसमाथि हामीकहाँ नेपाली टेलिभिजन च्यानलभन्दा विदेशी च्यानल बढी हेरिरहिएको अवस्था छ। यस्तोमा हाम्रा टेलिभिजनहरुले विदेशी च्यानलसँग प्रतिस्पर्धा नै गर्न सक्दैनन्। यसले बराबरीको प्रतिस्पर्धा भएन।‘ यता केबल सेवा प्रदायकहरु भनिरहेका छन्, ‘भारतीय ब्रोडकास्टरहरुले क्लिन फिड दिनै सक्दैनौं भनिरहेको अवस्थामा क्लिन फिड लागू भए व्यापार बन्द गर्नुको विकल्प नै छैन।‘

विदेशी च्यानलमा विज्ञापन बन्द गर्ने बित्तिकै बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा विज्ञापन गर्नको लागि खर्च बढाउँछन् भन्ने तर्क छ विज्ञापन एजेन्सीहरुको। अनि त्यो विज्ञापन पाउने त हामीले नै हो भन्ने लोभ मिडिया खासगरी टेलिभिजनलाई देखिन्छ। हुन्छ पनि त्यस्तै नै। तर यो कति प्रतिशतले बढ्ला वा बढ्ने विज्ञापन कतिसम्मको होला भन्ने एकिन थाहा छैन।

नेपालमा टिआरपी अध्ययन छैन। कुन कार्यक्रम कतिले हेर्छन् भन्ने कुनै तथ्याङ्क पनि छैन। तथ्याङ्क नै नभएको अवस्थामा विज्ञापन कति प्रतिशतले बढ्ला भन्न सक्ने अवस्था छैन। सरकारले दुई वर्ष अघि गरेको घरधुरी सर्वेक्षणले ४५ प्रतिशत घरधुरीमा केबल टेलिभिजनको पहुँच भएको देखिएको थियो। यो ४५ प्रतिशतले टेलिभिजनमा कुन च्यानल हेर्छन् भन्ने एकिन तथ्याङ्क छैन।

‘हो, हामीसँग यो तथ्याङ्क छैन, त्यसैले अहिले क्लिन फिड (विज्ञापनरहित)बाट शुरु गर्नुपर्छ,’ प्रिज्मा एडभर्टाइजिङ्का रन्जित आचार्य भन्छन्, ‘बिस्तारै हामीले टिआरपी अध्ययन गर्ने मेकानिज्म बनाउनु पर्छ, त्योबेलासम्म नेपाली मिडिया पनि बाँच्ने अवस्थामा पुग्छन्। अनि स्वदेशी विज्ञापनको कुरा सोच्न सकिन्छ।‘

केबल टेलिभिजन सेवा प्रदायकको समस्या
क्लिन फिडको विरोधमा उभिएका केबल टेलिभिजन सेवा प्रदायकहरु क्लिन फिड लागू भए भारतीय ब्रोडकास्टरहरुले च्यानल नै नदिने दाबी गरिरहेका छन्। अहिले भारतकै लागि सेट गरेका च्यानलहरु अपलिंक गरेर पठाएकोले सस्तोमा पाइरहेको केबल क्लिन फिडमा लाने बित्तिकै महँगो पर्नेछ। यसको लागि छुट्टै स्याटेलाइटको प्रयोग गर्नुपर्ने हुन्छ।

अर्कातिर क्लिन फिड लागू हुने बित्तिकै अहिले जति च्यानलहरु आइरहेका छन् त्यति संख्यामा च्यानलहरु उपलब्ध हुँदैनन्। केबलवालाको एउटा चिन्ता हो, ‘कम शुल्कमा धेरै च्यानल हेरिरहेका ग्राहकका लागि महँगो शुल्कमा थोरै च्यानल हेर्नुपर्ने हुनेछ।‘ प्रिज्मा एडभर्टाइजिङ्का आचार्य भन्छन्, ‘शुल्कमा फरक त पर्छ नै। तपाइँ बिना विज्ञापन टिभी हेर्न पाउनुहुन्छ भने केही त कन्ट्रिब्युट नि गर्नुपर्छ।‘

केबलवालाको अर्को चिन्ता पनि छ। भारतसँगको जमिनको सिमाना मात्र होइन सेटलाइट पनि खाली छ। भारतको सेटलाइटको ‘फूट प्रिन्ट’ नेपालमा जताततै छ। यस्तोमा नेपालका डिटिएच सेवा प्रदायकले राखेका छाताकै माध्यमबाट एउटा सेटअपबक्स फेरेको भरमा भारतका सबै च्यानल हेर्न सकिन्छ। 

यदि क्लिन फिड लागू भयो भने महँगो शुल्क तिरेर थोरै च्यानल हेर्नभन्दा सेटअप बक्स फेरेर खुला सेटलाइटबाट फ्रिका भारतीय च्यानल हेरिएलान् र नेपालको डिटिएचलाई भारतीय डिटिएचले कब्जा गर्ला भन्ने डर पनि छ। ‘यो अवस्था आउनसक्छ,’ रन्जित आचार्य भन्छन्, ‘यसका लागि सरकारले र सबैले मिलेर काम गर्नुपर्छ। यो गैरकानुनी हो भनेर प्रचार गर्नुपर्छ।‘

दुई बर्षअघि सन २०१७ मा सरकारले क्लिन फिड लागू गर्न खोजेको थियो। क्लिन फिड लागू गर्ने घोषणा गरेको २४ घण्टामै सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो।

२०१७ मा सरकारले क्लिन फिड लागू गर्ने भनेपछि भारतीय ब्रोडकास्टरहरुको संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आइबिएफ)ले नेपाल आएर क्लिन फिडमा जाने बेला भैनसकेको भन्दै ‘पहिला डिजिटाइज गर अनि क्लिन फिडबारे कुरा गर’ भनेको थियो। सरकारले त्यसैलाई आधार बनाएर सबै केबल टेलिभिजनलाई डिजिटाइज प्रणालीमा लाने निर्णय गर्योस। अहिले सबै केबल डिजिटाइज भइसकेका छन्।

विज्ञापन प्रतिस्थापन गर्न सकिन्छ?
सकिन्छ। सरकारले क्लिन फिड भनेको विदेशी विज्ञापन रहित हो, स्वदेशी विज्ञापन राख्न पाइन्छ भन्यो भने स्वदेशी विज्ञापन प्रतिस्थापन गर्न गाह्रो छैन। केबल टेलिभिजन सेवा प्रदायकहरुले यसमा केही लगानी थप्नु पर्ने हुन्छ। अहिले यसका लागि अटोमेसन प्रणाली नै छ। विज्ञापन प्रतिस्थापन मोडलका बारेमा भारतीय ब्रोडकास्टरहरुले अहिलेसम्म बोलेका छैनन्। एउटा ब्रोडकास्टर इन्डिया कास्टले विज्ञापन प्रतिस्थापन मोडलमा हो भने च्यानल दिन सकिने बताएको छ। उसको व्यापारिक मोडल नै विज्ञापन प्रतिस्थापन मोडल बनाउने भन्ने छ। स्टार, सोनी, जीजस्ता ब्रोडकास्टरहरुले यो मोडलका बारेमा हुन्छ या हुँदैन केही नभनेको बताउँछन् सेवा प्रदायकहरु।

प्रतिस्थापन प्रणाली अलि महँगो छ, तर अटोमेसन हुन्छ। यो प्रणाली अन्तर्राष्ट्रिय रुपमा अभ्यास भइरहेको छ। जस्तै भारतमा पनि अभ्यासमा छ। एउटै च्यानलमा मुम्बई र केरलाको विज्ञापन फरक हुन्छ। अमेरिका जस्तो टाइम जोन फरक भएको ठाउँमा पनि बफरिङ् प्रणालीबाट यो अभ्यासमा छ।

प्रतिस्थापन कसरी हुन्छ?
विज्ञापन प्रतिस्थापनको लागि अहिले विभिन्न सफ्टवेयरहरु बनिसकेका छन्। यो अटोमेसन प्रणालीमै चल्छ। त्यसको लागि लगानी भने थप्नुपर्ने हुन्छ। जस्तो लाइभ खेलमै च्यानलको फिड आउँदा सिस्टमबाट ५ सेकेण्ड वा ७ सेकेण्ड अगाडि एउटा टोन आउँछ, त्यो टोनलाई यताको सफ्टवेयरले डिटेक्ट गर्छ र तोकेको समयमा आपसेआफ विज्ञापन प्रतिस्थापन गर्छ। प्राविधिक रुपमा यो कुनै गाह्रो काम हैन। ‘प्राविधिक रुपमा यो फिजिबल छ तर आर्थिक रुपमा कति लगानी गर्नुपर्छ भन्ने अध्ययन गर्नुपर्छ भन्छन्’ डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्य।

यसमा पनि एक ठाउँबाट मात्र केबल उपलब्ध गराउनेहरूलाई सजिलो र सस्तो हुनेछ। फरकफरक ठाउँबाट सेवा उपलब्ध गराउनेको हकमा भने हरेक फरक ठाउँमा सिस्टम बनाउनु पर्ने र विज्ञापन विस्थापन गर्नुपर्ने हुन्छ। त्यसले महँगो पर्नसक्छ।

ग्राहकलाई के फाइदा हुन्छ?
क्लिन फिड लागू हुँदा ग्राहकले विज्ञापन हेर्नुपर्दैन। विश्वकप क्रिकेट, फूटबल वा अरु कुनै पनि च्यानलमा कार्यक्रम हेर्दा बिना विज्ञापन हेर्न पाउनेछन्। तर सरकारले विदेशी विज्ञापनमात्र विस्थापन गर्ने हो भने त त्यो सुविधा हुनेछैन।  तर अहिले पाइरहेको शुल्कमा भने केबल टिभी हेर्न पाइने छैन। अहिलेको तुलनामा कति बढी शुल्क तिर्नुपर्छ भन्ने अहिले नै भन्न नसकिए पनि कम्तीमा दुईगुणा बढी तिर्नुपर्ने अनुमान केबलवालाहरुको छ।

'केही बढी शुल्क पर्नसक्छ। तर केबल टेलिभिजन सेवा प्रदायकले च्यानल छान्ने सुविधा दिए अनावश्यक च्यानल नलिन उपभोक्तालाई छनौट हुनेछ,' प्रिज्मा एडभर्टाइजिङ्का आचार्य भन्छन्, 'हामीले अहिले पाएका च्यानलमध्ये कति च्यानल हेर्छौं? अनावश्यक च्यानल हामीलाई किन चाहियौ र?'

क्लिन फिडकालागि भारतीय ब्रोडकास्टरहरुले छुट्टै सेटअप गर्नुपर्छ। एमसिआरदेखि सबै कुरा सेटअप गरेर छुट्टै स्याटेलाइट प्रयोग गर्नुपर्छ। अथवा उनीहरुले बंगलादेश, पाकिस्तान, नेपालका लागि भनेर बनाउन सक्छन्। त्यो भयो भने अलि सस्तोमा पाइने सम्भावना हुन्छ। भारतमा स्टार, जी, सोनी, इण्डिया कास्ट जस्ता आठवटा ब्रोडकास्टर कम्पनी छन्। यी सबै कम्पनीले ‘कन्सोलिडेट’ गरेर एकैठाउँबाट क्लिन फिड उत्पादन गर्ने सम्भावना न्युन हुन्छ। सबैले छुट्टाछुट्टै रुपमा अपलिंक गर्दा यसको शुल्क महँगो हुनेछ।