BIZMANDU
www.bizmandu.com

आर्थिक वर्षको समाप्तिले शेयर बजार सुस्तायो, शेयर बिक्री लगानीकर्ताको प्राथमिकता

२०७६ असार ११


काठमाडौँ। दुई कारोबार दिन बढेको शेयर बजार तेस्रो दिन फेरि घटेको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २.७८ अंकले घटेर १२५८.२९ अंकमा ओर्लिएको छ।

Tata
GBIME
Nepal Life

आर्थिक वर्षको समाप्ति नजिक पुग्दा कारोबारमा दबाब परेको लगानीकर्ताहरूले बताएका छन्। आर्थिक वर्षको समाप्तिले समग्र आर्थिक क्षेत्रमा भुक्तानीको दबाब रहन्छ जसले शेयर बजारलाई  समेत प्रभावित गर्न थालेको पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।

उनका अनुसार बजारमा लगानीकर्ताहरू आर्थिक वर्षलाई मध्यनजर गर्दै कारोबार गरिरहेका छन्। 'ऋण भुक्तानीको दबाबमा रहेका लगानीकर्ताले शेयर बिक्रीलाई प्राथमिकतामा राख्न थालेका छन्।

खरिद गर्ने मनसाय बनाएका लगानीकर्ता भने असार मसान्तको प्रभावले बजार थप घट्ने अनुमान गर्दै पर्ख र हेरको अवस्थामा छन्' अर्यालले भने।

सहज रूपमा लगानी योग्य पूँजी समेत उपलब्ध हुन सकेको छैन। बैंक वित्तीय संस्थाले आर्थिक वर्षको समाप्ति र तरलताको समस्या देखाउँदै नयाँ ऋण दिन छाडेको अर्यालले बताए। यसै कारण बजार सुस्ताएको उनको अनुमान छ।

बुधबार बजारमा १६७ कम्पनीका १४ लाख १३ हजार कित्ता शेयर ५७ करोड रुपैयाँमा कारोबार भयो।

१९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार गर्दै हिमालयन डिस्टिलरी सबैभन्दा बढी शेयर कारोबार गर्ने कम्पनीको सूचीमा अग्रस्थानमा रह्यो। कारोबार रकमकै आधारमा नेपाल बैंक दोस्रो भएको छ। उसको चार करोड १९ लाख रुपैयाँको शेयर कारोबार भयो।

उपसूचक मिश्रित देखिए। १२ समूहको कारोबारमा आठ समूहका उपसूचक घटेका छन् भने चार समूहको उपसूचक बढेको छ। सबैभन्दाबढी ट्रेडिङ समूहको उपसूचक ०.९७ प्रतिशतले बढ्यो। जलविद्युत समूहको उपसूचक ०.४८ प्रतिशतले घटेको छ।