BIZMANDU
www.bizmandu.com

बिग मर्जर बारे गभर्नर: मौद्रिक नीतिअघि ‘लभ पारिसक्नुस्’, मौद्रिक नीतिपछि लभ गर्ने समय हुँदैन’

२०७६ असार ९

बिग मर्जर बारे गभर्नर: मौद्रिक नीतिअघि ‘लभ पारिसक्नुस्’, मौद्रिक नीतिपछि लभ गर्ने समय हुँदैन’
बिग मर्जर बारे गभर्नर: मौद्रिक नीतिअघि ‘लभ पारिसक्नुस्’, मौद्रिक नीतिपछि लभ गर्ने समय हुँदैन’


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बिग मर्जरका लागि 'काउन डाउन' सुरु भएको बताएका छन्।

आगामी आर्थिक बर्षको मौद्रिक नीतिको तयारी गरिरहेका गभर्नरले बजेट भाषणसँगै मर्जरको दिनगन्ती सुरु भएको बताएका हुन्। टेलिभिजन कार्यक्रम अर्थको अर्थले सोमबार आयोजना गरेको कार्यक्रममा गभर्नरले सबै बैंकहरुलाई मर्जरका लागि तयार हुन भनेका हुन्।गभर्नर नेपालले मौद्रिक नीति अगाडि अर्को संस्थासँग 'लभ गर्ने समय' भएको भन्दै त्यसपछि सोझै बिहे हुने बताए।

गभर्नरले बोल्नुअघि नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले बैंक मर्जर भनेको 'लभ म्यारिज जस्तै भएकाले फोर्सफुल गर्न नहुने' सुझाब दिएका थिए।उनको भनाइलाई संबोधन गर्दै गभर्नर नेपालले लभ म्यारिज र बैंक मर्जर फरक भएकाले त्यही अनुसार बुझ्न बैंकका सिइओ तथा सञ्चालकहरुलाई आग्रह गरे।

१० बर्षअघि राष्ट्र बैंकले पूँजी वृद्धि गर्दाखेरी नै 'लभ गर्ने समय' उपलब्ध गराएको भन्दै गभर्नरले पछिल्लो पूँजी वृद्धिले पनि पर्याप्त मात्रामा लभ गर्ने समय दिएको बताए। 'अब जति लभ गर्नु छ मौद्रिक नीति अगाडि हो' उनले भने, 'यो कुरा सबैले बुझ्नुहोस्।'

उनले मर्जरलाई आउन नदिनका लागि राजनीतिक लबिङ नगर्न पनि सचेत गराए। चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब पूर्याउँदा सिइओलाई बोकेर अध्यक्षहरु अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म धाएको भन्दै उनले त्यसबेला झगडा गरेर आफूले चुक्ता पूँजी बढाएको बताए।

'अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म अध्यक्षहरुको कुरा सुनेर समय थप्न वा रकम घटाउन भन्नु भएको थियो' गभर्नर नेपालले भने, 'त्यसबेला मलाई राजनीतिक सहयोग पनि थिएन र सरकारको सहयोग पनि थिएन। तैपनि मैले चुक्ता पूँजी पुर्याउने निर्णय लागू गरेरै छाडे।'

उनले यसपाली बजेटमै बिग मर्जरको बिषय परेकाले त्यसलाई कार्यान्वयन गर्न कसैले नरोक्ने समेत बताए। 'अहिले त बजेटमै मर्जरको बिषय छ। बजेटमै परेकाले अर्थमन्त्री र प्रधानमन्त्रीमा धाएर पनि केही हुनेवाला छैन' गभर्नर नेपालले भने, 'अब म धेरै बोल्दिन। तपाईहरुले कुरा बुझिहाल्नु भयो होला।'

गभर्नर नेपालले भरसक मिलाएर नभएर फोर्सफुल मर्जरमा जाने संकेत गरेका छन्। राष्ट्र बैंकले  ल्याएको बिषयमा कुरै नबुझी विरोध गर्ने चरित्र हावी भएको समेत बताएका छन्।

गभर्नरले मर्जरपछि बैंकहरुको सुचना प्रविधि बलियो हुने र तरलता अभावसँग धेरै जुध्न नपर्ने फाइदाका बारेमा पनि बताए। 'अरु पनि धेरै फाइदाहरु छन्। तर मूख्य फाइदा भनेको तपाईँहरुको सुचना प्रविधि बलियो हुन्छ। लगानी बढाउन समस्या हुँदैन' उनले भने, 'धेरैतिर छरिने पैसा तपाईहरुमा मात्रै केन्द्रित हुन्छ, जुन फाइदाजनक हो।'

उनले राष्ट्र बैंकभित्र अनुसन्धान गर्ने ५०औंको संख्यामा योग्य समूह रहेको भन्दै आजको भोलिलाई हेरेर भन्दा पनि राष्ट्र बैंकले दीर्घकालिन हित हेरेर नीति ल्याउने गरेको बताए। 'तपाईहरुले नबुझेको हो कि, बुझ्न नखोजेको हो' गभर्नरले भने, 'तपाईहरु स्पष्ट हुनुस्, राष्ट्र बैंकले दीर्घकालिन हित हेरेर नीति तर्जुमा गर्छ।'

उनले सञ्चालकको उमेर हद तोक्दासमेत विरोध भएको बताए। कर्मचारी ५८ बर्षेको उमेर अवकाश हुने भन्दै जनताको पैसा चलाउने सञ्चालक पनि अवकाश हुनुपर्ने बताए। 'अर्बौ रुपैयाँ जनताको पैसा परिचालन गर्ने सञ्चालक चै अवकाश हुनु पर्दैन र? त्यही भएर ६५ को हदबन्दी लगाएका छौं' उनले भने, 'उमेर धेरै भएपछि समस्या हुन्छ। सिइओलाई लियो मन्त्री भेट्न हिँड्यो। राष्ट्र बैंकले भनेको कुरा पनि राम्ररी बुझ्दैन। यस्तालाई कसरी अर्बौ रुपैयाँ परिचालन गर्ने ठाउँमा राख्न मिल्छ?'

उनले ब्यवसायीप्रति पनि तिक्तता पोखे। बैंकले नाफा गर्नै हुँदैन भन्ने हिसाबले ब्यवसायीको माग आउने गरेको भन्दै उनले बैंकले नाफा गरेन भने समस्यामा पर्ने र त्यो समस्याले अर्थतन्त्रलाई नै समस्यामा पार्ने बताए।