BIZMANDU
www.bizmandu.com

देशको बाह्य अवस्था डामाडोल: चालु खाता घाटा अर्थतन्त्रको ७ प्रतिशतमाथि, रेमिटेन्सको आड

२०७६ असार ४

Tata
GBIME
Nepal Life

काठमाडौं। पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाइजहाज तथा पार्टपुर्जालगायतका आयात उच्च भएपछि त्यसको दबाब देशको शोधनान्तर अवस्थामा परेको छ। 

देशभित्र आउनेभन्दा बाहिरिने रकम बढि हुँदा शोधनान्तर घाटा ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले बैशाखसम्मको विवरण सार्वजनिक गर्दै अघिल्लो बर्षको बैशाखमा शोधनान्तर १८ अर्ब ९३ करोड मात्र घाटामा रहेको देखाएको छ।

चालु खाता घाटा २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। ३० खर्बको अर्थतन्त्रमा यो सात प्रतिशतभन्दा बढि हो। अघिल्लो बर्षको बैशाखमा यस्तो घाटा १ खर्ब ९२ अर्ब रुपैयाँ थियो। 

घाटा बढ्दै जाँदा बिदेशी मुद्राको स्टक पनि घट्दै गइरहेको छ। गत असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ स्टक थियो। यो बैशाखसम्म आउँदा स्टक घटेर १० खर्ब ६० अर्ब ७० करोडमा खुम्चिएको छ। डलरमा हिसाब गर्दा गत असार मसान्तसम्म स्टक १० अर्ब ८ करोड थियो। अहिलेको बैशाखमा झरेर ९ अर्ब ४२ करोडमा आइपुगेको छ।

आयात ब्यापार १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। निर्यात भने १८.१ प्रतिशत बढेर ७८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। निर्यातभन्दा आयात धेरै गुणा उच्च हुँदा ब्यापार घाटा १९.७ प्रतिशतले बढेर १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

देशको बाह्यीय आर्थिक अवस्था कमजोर भइरहँदा विदेशमा काम गर्ने नेपालीले पठाएको रकमले भने केही भरथेग गरेको छ। चालु बर्षको १० महिनामा रेमिटेन्स बृद्धि १९.६ प्रतिशत छ। बैशाखसम्म विदेशमा रहेका नेपालीले ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ पठाएका छन्।