BIZMANDU
www.bizmandu.com

जिजुबाजेले स्थापना गरेको बैंकमा पनाति बने ‘विलफुल डिफल्टर’, धेरै ताकेता गर्दा पनि तिरेनन् ऋण

२०७६ असार २


भारतमा कोलकातास्थित यूको बैंकले यशोवर्धन बिडलालाई विलफुल डिफल्टर घोषणा गरेको छ। यश बिडला ग्रुप अन्तर्गतको एउटा कम्पनी बिडला सूर्या लिमिटेडले ६७ करोड भारतीय रुपैयाँ ऋण नतिरेपछि ग्रुपका अध्यक्ष यशोवर्धनलाई विलफुल डिफल्टर घोषणा गरिएको हो।

Tata
GBIME
Nepal Life

बैंकले कम्पनीसँग १ सय करोड रुपैयाँको क्रेडिट लिमिट भएको र ६७ करोड रुपैयाँभन्दा धेरै साँवा ब्याज लामो समयदेखि तिर्न बाँकी रहेको जनाएको छ।

यस ऋणलाई बैंकले सन् २०१३ मा  ननपर्फमिङ एसेटका रुपमा बर्गीकरण गरेको थियो।

बिडला सूया कम्पनीले मल्टी क्रिस्टालिन सोलार फोटोवाल्टेक सेल्स बनाउने भन्दै बैंकबाट ऋण लिएको थियो।

ग्रुपको एक दर्जनभन्दा बढी कम्पनीहरु छन् जसमा जेनिथ स्टील, बिडला पावर, बिडला लाइफस्टाइल तथा श्लोका इन्फोटेक जस्ता नाम चलेका कम्पनीहरु हाल घाटामा चलिरहेका छन्।

ग्रुप अन्तर्गतका अधिकांश कम्पनीहरु ऋण तिर्न नसक्ने अवस्थामा छन्। कम्पनीले गत वर्ष धेरै नोक्सानी ब्योहोरेको बताइएको छ।

कोलकातास्थित बैंकको स्थापना यशोबर्धन बिडलाका जिजुबुवा घनश्यामदास बिडलाले गरेका थिए। घनश्यामदास बिडला महात्मा गान्धीसँग धेरै निकट मानिन्थे। उनले गान्धीको स्वतन्त्रताको आन्दोलनकालागि ठूलो आर्थिक सहायता समेत उपलब्ध गराएका थिए। उनैले कोलकातामा यूको बैंकको स्थापना गरेका थिए।

प्लेन दुर्घटनामा बुवा आमा दुबै गुमाएका यशले भने २३ वर्षकै उमेरदेखि पारिवारिक ब्यापार सम्हालेका हुन्।

बिडला श्लोका एजुटेक अन्तर्गत यस ग्रुपका धेरै च्यारिटेबल संस्था तथा स्कूल संचालनमा छन्।

कुनै पनि ऋणीलाई विलफुल डिफल्टर घोषणा गर्नु यस्तो प्रक्रिया हो जसमा उसलाई आफ्नो अवस्था सार्वजनिक गर्ने पर्याप्त मौका हुन्छ।

विलफुल डिफल्टर त्यसबेला भनिन्छ जब ऋणीले जानाजान ऋण नतिरेको ठहरिन्छ। अर्थात ऋण तिर्न पर्याप्त संशाधन भएपनि ऋण भुक्तानी नगर्नेहरु विलफूल डिफल्टर हुन्।

यस्तै ऋणदातालाई जानकारी नदिइकनै आफ्नो सम्पति बेचेर पैसा अन्य काममा लगाउनेलाई पनि बैंकले विलफुल डिफल्टर घोषणा गर्छन्।
बैंकले जारी गरेको सूचनामा बैंकले ऋणीलाई धेरै पटक ताकेता गर्दा पनि ऋण नतिरेको उल्लेख छ।