BIZMANDU
www.bizmandu.com

५२ करोड रुपैयाँ लागतमा रसुवामा भन्सारको नयाँ भवन बन्ने, अर्थमन्त्री खतिवडाले गरे शिलान्यास

२०७६ जेठ ३१

५२ करोड रुपैयाँ लागतमा रसुवामा भन्सारको नयाँ भवन बन्ने, अर्थमन्त्री खतिवडाले गरे शिलान्यास
५२ करोड रुपैयाँ लागतमा रसुवामा भन्सारको नयाँ भवन बन्ने, अर्थमन्त्री खतिवडाले गरे शिलान्यास

Tata
GBIME
Nepal Life

काठमाडौं। रसुवाको रसुवागढीमा एकीकृत भन्सार जाँच चौकी बन्ने भएको छ। ५४ करोड ६२ लाख रुपैयाँमा बन्ने भवनको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेका छन्।

भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले नेपाल र चीन जोड्ने महत्वपूर्ण नाका रसुवागढी भएकाले यसको स्तरोन्नतीका लागि सरकारले विशेष ध्यान दिने बताए। उनले काठमाडौंबाट चीन जोड्ने सबैभन्दा नजिकको नाका भएकाले यसको विकासमा सरकार गम्भीर रहेको उल्लेख गरे। 

अर्थमन्त्री खतिवडाले भवन निर्माणमा रकम अभाव नहुने भन्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। 

रसुवागढी भन्सार कार्यालयका प्रमुख पूण्यविक्रम खड्काले पाँच रोपनी क्षेत्रफलमा पाँच तल्ले भवन निर्माणका लागि शिलान्यास गरिएको जानकारी दिए। उनले नयाँ बन्ने भवनमा भन्सारका साथै क्वारेन्टाइनलगायतका सबै निकाय बस्ने पनि जानकारी दिए।

नेपाल र चीन जोड्ने यो नाकामा रहेको पुरानो भवन २०७२ सालको भूकम्पले भत्काएको थियो। भूकम्पले भवन भत्किएपछि भन्सारले टिमुरेबाट सेवा दिइरहेको छ। 

यसैगरी रसुवागढी भन्सार नजिकै यार्ड पनि निर्माण भइरहेको छ। चीन सरकारको सहयोगमा यार्ड निर्माणको काम अघि बढेको हो। 
शुक्रबार रसुवागडी जानुअघि अर्थमन्त्री खतिवडाले माथिल्लो त्रिशुली जलविद्युत आयोजनाको निरीक्षण गरेका थिए। अर्थमन्त्री खतिवडा शनिबार काठमाडौं फर्किनेछन्।