.jpg)
कैलाली। धावनमार्गमा कालोपत्रे गर्ने काममा ढिलाई भएका कारण धनगढी विमानस्थल एक सातापछि मात्रै संचालनमा आउने भएको छ।
निर्माण सुरु भएको एक महिनामा धावनमार्गको काम सकेर संचालनमा ल्याउने गरि ठेकेदार कम्पनीसँग सम्झौंता भएको थियो। त्यो सम्झौंता अनुसार वैशाख २२ गतेबाट उडान बन्द गरेर धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम भएको थियो। यो समय अनुसार जेठ २१ गते काम सकिएर उडान सुचारु हुनुपर्ने हो। तर समयमै काम नसकिएकोले एक साता समय थपिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताए। उनका अनुसार जेठ २९ गतेबाट मात्रै विमानमा उडान सुरु हुनेछ।
‘ताकेता गर्दागर्दै पनि भने जति काम समयमा सम्पन्न हुन सकेन, बुड्थापाले भने ‘अब थप सात दिन विमानस्थल बन्द गरेर जेठ २९ गतेबाट उडान हुन्छ।’पानी परिरहेकाले पनि काममा बाधा परेको छ। आइतबार राति पानी परेर धावनमार्ग खनिएको बीच भागमा पानी जमेपछि विमानस्थलको काम सोमबार आधा दिनसम्म सुरु नै हुन सकेन। पानी नपरेको खण्डमा मात्रै अबको एक सातामा विमानस्थलको काम सम्पन्न हुने अवस्था छ।
‘अब पानी परेन भने एक सातामा काम सम्पन्न हुन्छ’ बुड्थापाले भने।विमानस्थलको झन्डै साढे ८ सय धावनमार्ग बीच भागमा खनेर नयाँ माटो र बेस हालिएको छ। त्यो माथि ग्राभेल पनि भइसकेको छ। सोमबारबाट साढे ८ सय मिटर धावनमार्ग कालोपत्रेको काम थाल्ने ठेकेदाको तयारी थियो। तर पानी परेपछि काम हुन सकेन। ओभरलेयर मात्र गर्नुपर्ने अन्य साढे ९ सय मिटर धावनमार्ग भने ओभरलेयर सम्पन्न भइसकेको लुम्बिनी, कोसी, न्यौपाने र खड्का, कृष्ण जेभीका इन्जिनियर सचिन थापाले बताए।
बीचमा खनिएको धावनमार्ग सुरुमा ४० सेन्टिमिटर गहिराइ काट्नुपर्ने भनिए पनि काट्दै जाँदा दलदले माटो बढी पाइएपछि थप एक मिटर काट्नु परेकाले काम लम्बिएको थापाले बताए। पानी नपरेमा पाँच दिनमा काम सम्पन्न हुने उनको दाबी छ। ‘बेस, र बेसको लेयर फाइनल भइसक्यो' थापाले भने ‘अब ओभरलेयर गर्न मात्रै बाँकी हो। कुनै अवरोध भएन भने निरन्तर काम गर्दा ५ दिनमा प्लेन उड्ने बनाउँछौँ।’
१४ वर्षपछि धनगढी विमानस्थलको धावनमार्ग ओभरलेयर हुन लागेको हो। करिब साढे १७ करोड लागतमा विमानस्थलको धावनमार्ग मर्मत तथा फराकिलो बनाउने र पार्किङ क्षेत्र विस्तार गर्ने काम भएरहेको छ।
धनगढीबाट दैनिक पाँच उडान हुँदै आएको छ। बन्द हुँदा मासिक २ लाखभन्दा बढी घाटा विमानस्थललाई भइरहेको बुड्थापाले बताए। वैकल्पिक विमानस्थल नहुँदा यात्रुहरू नेपालगन्ज जान बाध्य छन्।