BIZMANDU
www.bizmandu.com

सेकेन्ड ह्यान्ड मोटरसाइकल किनबेच गर्नु पर्यो? ५ सय रुपैयाँ तिरेर एपबाट गर्न सकिने

२०७६ जेठ १०

सेकेन्ड ह्यान्ड मोटरसाइकल किनबेच गर्नु पर्यो? ५ सय रुपैयाँ तिरेर एपबाट गर्न सकिने
सेकेन्ड ह्यान्ड मोटरसाइकल किनबेच गर्नु पर्यो? ५ सय रुपैयाँ तिरेर एपबाट गर्न सकिने

Tata
GBIME
Nepal Life

काठमाडौं। के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ। एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो।

यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण एपमा ‘पोष्ट’ गर्न सक्नेछन्। किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाइन सम्पर्क गरेर खरिद गर्न सक्नेछ। टुटल र पठाओ जस्ता माध्यमले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेर चर्चा बटुलिरहेको बेला मोटरसाइकल किनबेच गर्न चाहने उपभोक्तालाई लक्षित गरी ‘भटभटे एप’ विकास गरिएको बताइएको छ।

“एप प्रयोग गरी सेकेण्ड ह्याण्ड मोटरसाइकल बेच्न किन्न सकिन्छ, ‘रिकण्डिसन हाउस’ सम्म धाउन पर्दैन”, एएम नेपाल प्रालिका महाप्रबन्धक खेमराज देवकोटाले भने। एप मोटरसाइकल किनबेचको उत्कृष्ट “प्लेट फर्म” रहेको महाप्रबन्धक देवकोटाले प्रष्ट पारे। उपत्यकामा मात्र झण्डै नौ लाख २१ हजार ९१७ मोटरसाइकलको सङ्ख्या रहेको छ।

‘स्मार्ट एन्ड्रोइड’ फोन हुनेले ‘गुगल प्ले स्टोर’ र ‘आइफोन’ प्रयोगकर्ताले ‘एप स्टोर’ मा गएर भटभटे एप जोकोहीले निशुल्क ‘डाउनलोड’ गरी ‘इन्स्टल’ गर्नसक्ने एएम नेपाल प्रालिका कार्यालय व्यवस्थापक सुदीप पाण्डेले बताए। हाल यो निःशुल्क छ। करीब ३० हजार प्रयोगकर्ताले एप डाउनलोड गरेपछि र दुई हजार बढीले बेच्न चाहनेले मोटरसाइकल पोष्ट गरेपछि बिक्रेताले मोटरसाइकल पोष्ट गर्न प्रति बाइक ५०० शुल्क तिर्नुपर्दछ। 

“सहज, कम मूल्य र सजिलो सवारी साधनको रूपमा रहेको मोटरसाइकल बेच्न र किन्न चाहनेलाई प्रविधिको प्रयोग गरी सिधा सम्पर्क गराउन एप ल्याइएको हो, यसमा चाहेको मूःल्यको मोटरसाईकल किन्न सहज हुनेछ”, व्यवस्थापक पाण्डेले भने।

हाल २० हजार प्रयोगकर्ताले यो एप प्रयोग गरिरहेका छन्। करीब हजारको हाराहारीमा मोटरसाइकल बिक्रीका लागि राखिएको प्रालिका व्यवस्थापक पाण्डेले जानकारी दिए। जो कोहीले जथाभावी पोष्ट गर्न नसकोस् र यसलाई व्यवस्थित गर्न सकियोस् भनेर शुल्क तोकिएको बताइएको छ। शुल्क इ सेवा अथवा एपमा रहेको ‘पेमेण्ट गेटवे’ को माध्यमबाट तिर्न सकिने छ। काठमाडौँलाई लक्षित गरिएपनि जहाँकहीँबाट एपको प्रयोग गर्न सकिन्छ। 

बेच्न चाहनेले मोबाइलमा एप डाउनलोड गरी आफ्नो ‘युजर रजिस्ट्रेसन’ गरेपछि ‘भेरिफिकेसन कोड’ मोबाइलमा आउने र ‘कोड एक्टिभ’ गरेर मोटरसाइकलको चारतर्फबाट खिचिएको फोटो आफैँ पोष्ट गर्नुपर्ने प्रालिका परियोजना प्रबन्धक राजेन्द्र भट्टराईले जानकारी दिए। त्यसमा मोटरसाइकलको मूल्य, नम्बर प्लेट, माइलेज, गुडेको किलोमिटर राख्नु पर्दछ।