BIZMANDU
www.bizmandu.com

ऋणपान गरेर शेयर किन्न थाले लगानीकर्ता, सहकारीको पनि पैसा बजारमा

२०७६ जेठ ८

ऋणपान गरेर शेयर किन्न थाले लगानीकर्ता, सहकारीको पनि पैसा बजारमा
ऋणपान गरेर शेयर किन्न थाले लगानीकर्ता, सहकारीको पनि पैसा बजारमा

Tata
GBIME
Nepal Life

काठमाडौं। शेयर बजार लगातार बढ्न थालेपछि लगानीकर्ताले सरसापट-ऋणपान गर्दै दोस्रो बजारमा लगानी बढाउन थालेका छन्। बैंक वित्तीय संस्था, सहकारी र आफन्तसँग रकम जुटाएर दोस्रो बजारमा लगानी बढाउन थालेका हुन्। 

यही कारण अहिले दोस्रो बजारमा कारोबार रकममा बृद्धि देखिन थालेको छ। मंगलबारसम्म बजार मापक नेप्से सूचक २१२ अंकले बढिसकेको छ। गत फागुन १९ देखि शेयर बजार लगातार बढ्दो क्रममा रहँदा सूचक १३१२.१४ अंकमा उक्लिएको हो।

लगानीकर्ताहरूले दोस्रो बजारमा सक्रियता बढ्दा दैनिक एक अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ। फागुन १९ यता मंगलबारसम्मको ५२ कारोबार दिनमा ३४ अर्ब १७ करोड ५४ लाख रुपैयाँभन्दा बढिको शेयर कारोबार भैसकेको नेप्सेको तथ्याङ्कमा देखिन्छ।

जसका आधारमा दैनिक औसत कारोबार रकम ६५ करोडभन्दा बढी हुन आउँछ। यही अबधिमा अघिल्लो ५२ कारोबार दिनमा दोस्रो बजारमा २१ अर्ब ४३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो। त्यबेला दैनिक औसत कारोबार रकम ४१ करोड २१ लाख रुपैयाँ रहेको थियो। यस हिसाबमा दैनिक कारोबार रकम २४ करोड ५० लाख रुपैयाँले बढेको देखिन्छ।  

पछिल्लो समय कम्पनीका शेयर सस्तोमै पाइन थालेका छन्। अब बजार बढ्ने अपेक्षा लगानीकर्ताको छ। त्यसैले सरसापटबाट पनि लगानी गर्ने प्रबृत्ति बढैको देखिन्छ। 

विष्णु त्रिपाठी दोस्रो बजारमा नियमित शेयर कारोबार गर्छन्। उनले पछिल्लो समय दोस्रो बजारमा आफूसँग भएको शेयर मात्रै किनबेच गर्ने गरेका थिए। तर पछिल्लो पटक बजार बढेका कारण उनले आफन्तसँग डेढ लाख रुपैयाँ सापट गरेर बजारमा थप लगानी गरेको बताए। 'एक हप्ताअघि मैले आफन्त सँग डेढ लाख रुपैयाँ सापटी गरेँ र लगानी बढाएँ 'त्रिपाठिले भने।  

बजारमा थप लगानी बढाउन लगानीकर्ताले सहकारीमा बचत गरेको रकम समेत बजारमा परिचालन गर्न थालेका छन्। काठमाडौँस्थित एक सहकारीबाट गएको दुई महिनामा सदस्यहरूले बचत गरेको रकम झिकेर शेयरमा लगानी गरेको देखिउको छ। त्यस सहकारीका उपाध्यक्षका अनुसार, अन्य सहकारीबाट पनि अहिले पैसा झिक्दै शेयरमा लगानी क्रम बढेको छ। 

बचतकर्ताको भनाइलाई उदृत गर्दै उनले भने 'शेयर बजार बढेकोले अहिले पैसा राख्नुभन्दा शेयरमा लगामी गर्न उचित हुन्छ।' सहकारी सदस्यहरूले पछिल्लो महिना ऋणको मागसमेत बढाएका उनको भनाइ छ। 'गएका महिनाहरूभन्दा यो महिनामा बचतसँगै ऋणको माग पनि बढेको छ'  उनले भने। सहकारीले सोझै शेयरमा ऋण दिन नमिल्ने भएका कारण लगानीकर्ताले अन्य शीर्षकमा ऋण लिएर शेयरमा लगानी गर्न थालेको उनको अनुमान छ।

यसैगरी पहिले नै बैंकबाट ओभरड्राफ्टको लिमिट लिएर बसेका लगानीकर्ताले पछिल्लो समय रकम चलाउन थालेका छन्। 'लगानीकर्ताले शेयर बजार बढ्न थालेपछि ओभरड्राफ्ट चलाउन सुरु गरेका छन्' एक ब्रोकर कम्पनीका सञ्चालकले भने। उनका अनुसार लगानीकर्ताले पहिलेको शेयर ऋणको लिमिट बढेको रकम समेत बजारमा आउन थालेको छ।

कुनै लगानीकर्ताले आफूसँग भएको नियम अनुसार शेयर धितो राखेर ५० प्रतिशतसम्म  ऋण पाउँछन्। 

बैक वित्तीय संस्थाबाट नयाँ मार्जिन लोन लिएर समेत लगानीकर्ता दोस्रो बजारमा प्रवेश गर्न थालेका छन्। विगत तीन वर्षदेखि आफ्नै रकमले दोस्रो बजारमा लगानी गर्दै आएका लगानीकर्ता निर्मल बस्नेतले गत महिना २० लाख रुपैयाँको मार्जिन सुविधा लिए। उनले सिद्धार्थ बैकबाट मार्जिन ऋण लिएको बताए। 

'गएको महिना सिद्धार्थ बैकबाट मैले २० लाख रुपैयाँ ऋण लिएर शेयरमा लगाएँ' बस्नेतले भने। 

बैकको मुद्दति निक्षेपमा राखेको रकमसमेत बजारमा परिचालन हुन थालेको छ। चैत महिनामा परिपक्व भएको मुद्धति निक्षेपको रकम दोस्रो बजारमा परिचालन भएको कारण दोस्रो बजारमा कारोबार रकम बढेको भेन्चर क्यापिटलका अध्यक्ष भीमप्रसाद तिम्सिनाको अनुमान छ। 

इन्भेष्टमेन्ट कम्पनीले लगानी गरेको शेयरको नगद प्रतिफलसमेत शेयर बजारमा लगानी गर्न थालेका छन्। क्यापिटलले पछिल्लो पटक शेयरबाट प्राप्त गरेको नगद लाभांशसमेत दोस्रो बजारमा परिचालन गरेको छ। 'हाम्रो क्यापिटलले पाएको सबै नगद लाभांसले पुन: दोस्रो बजारमा शेयर किन्यौं ' तिम्सिनाले भने। 

उनका अनुसार शेयरको मूल्य बढेका कारणसमेत कारोबार रकम बढेको हो। दोस्रो बजारमा शेयर घटेको बेला कारोबार रकम कम हुन्थ्यो। तर त्यही शेयरको मूल्य बढेर भ्यालु बढेको कारणसमेत कारोबार रकम बढेको हो। यसैगरी शेयरको कित्तै बढेर कारोबार भएको कारण कारोबार रकम बढेको उनको भनाइ छ। 

बजार घटेको बेला ६ देखि सात लाख कित्ता शेयर कारोबार हुने गरेको थियो। यतिबेला ३२ देखि ४० लाख कित्तासम्म शेयर कारोबार हुन थालेको छ।