BIZMANDU
www.bizmandu.com

सस्तो ब्याजको पुनर्कर्जा २५ अर्ब पनि प्रयोग हुँदैन, बैंकर ब्यवसायी भने २०० अर्बसम्म माग्छन्

२०७६ जेठ ६


काठमाडौं। बैंकर तथा ब्यवसायीहरुले पुनर्कर्जा कोष २०० अर्ब रुपैयाँसम्म पुर्याउनु पर्ने माग राखे पनि प्रयोग भने निक्कै कम हुने गरेको छ। राष्ट्र बैंकले भर्खरै मात्र ३५ अर्बको कोषलाई ५० अर्ब रुपैयाँ पुर्याउने घोषणा गरिसकेको छ।

Tata
GBIME

सुरुमा १० अर्बको कोषलाई २० अर्ब, २५ अर्ब र ३५ अर्ब हुँदै अहिले ५० अर्ब रुपैयाँ पुर्याइसकिएको छ। यो कोषलाई २०० अर्ब रुपैयाँसम्म पुर्याउनु पर्ने बैंकर संघदेखि ब्यवसायिक संगठनहरुले माग राख्दै आएका छन्।

राष्ट्र बैंकको तथ्यांक अनुसार, चैतसम्म बैंकहरुबाट साधारण पुनर्कर्जा जम्मा १८ अर्ब ९७ करोड रुपैयाँ गएको छ। अन्य स्किमवाला पुनर्कर्जालाई पनि जोड्ने हो भने २३ अर्ब ६ करोड रुपैयाँ गएको छ।

भएको पुनर्कर्जा प्रयोग नभइरहेका बेला माग भने २०० अर्ब रुपैयाँसम्मको छ। अहिले पुनर्कर्जाको ब्याज बढिमा ८ प्रतिशतमा झरिसकेको छ। कतिपय पुनर्कर्जा त २ प्रतिशत ब्याजमै उपलब्ध हुन्छन्। 

राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन पुनर्कर्जा उपलब्ध गराउँछ। यसको अवधि एक बर्षको हुन्छ र यसमा अर्को एक बर्ष नवीकरण गरेर दुई बर्षसम्म चलाउन पाइन्छ।

पछिल्लो समय बैंकर र ब्यवसायीले परियोजनाको अवधिभरलाई पुनर्कर्जा उपलब्ध गराउनु पर्ने माग गर्न थालेका छन्। उनीहरुले पुनर्कर्जाको प्रकृयालाई सरलीकरण गर्न पनि माग गरेका छन्।