Bizmandu
www.bizmandu.com

ज्योति ग्रुपकी निर्देशक मीरा घर र अफिस ब्यवस्थापनमा उत्तिकै सक्रिय, 'रिटायर्ड लाइफ चाहन्न'

ज्योति ग्रुपकी निर्देशक मीरा घर र अफिस ब्यवस्थापनमा उत्तिकै सक्रिय, 'रिटायर्ड लाइफ चाहन्न'


२५ वर्षअघि टेवाको संस्थापक सदस्यका रुपमा काम थाल्दा मीरा ज्योतिलाई महिला पनि कमजोर होलान् र? जस्तो लाग्थ्यो रे। 

सँगै पढेकी साथीले टेवाको स्थापनाकालागि साथ दिन गरेको आग्रहलाई स्वीकार गर्दा मीराको मनमा धेरै प्रश्नहरु एकैसाथ उठेको थियो। जन्मेदेखि नै 'प्रिभिलेज्ड चाइल्ड' का रुपमा हुर्किएकी मीरालाई त्यो बेलासम्म आम महिलाका दूख के हो पत्तै भएन। 

Tata
Jagdamba Steel
Sanima Bank

जबदेखि टेवामा आबद्ध भइन् बल्ल बाहिरी संसारका महिलाहरुसँग नजिकिन थालिन्। अनि पो थाहा पाइन महिलाहरु कसरी जन्मदेखि नै बिभेद भोगिरहेका छन्। महिलाहरुलाई मानिसकै दर्जा नदिने समाज र उनीहरुले भोग्दै आएको समस्याहरु कति विकराल रहेछन्। 

झसंग भइन् मीरा। 

त्यसबेलादेखि आजसम्म पनि मीरा सशक्तिकरणका मुद्दामा काम गरिरहेकी छिन्। अझ जोन्टा क्लब अफ काठमाडौंको प्रेसिडेन्टको रुपमा उनले पूरा गर्नुपर्ने कामको पहिलो नम्बरमा नै छ वालविवाहको अन्त्य। हाल वालविवाह अन्त्यको बिभिन्न अभियान संचालन गरिरहेकी मीराले हाँस्दै सुनाइन्-'२० वर्षभन्दा कम उमेरमा विवाह हुनुलाई बालविवाह भनिन्छ। यसरी हेर्दा त मेरो पनि बालविवाह नै भएको रहेछ नि!'


तिब्बतको ल्हासामा ब्यापार गर्ने बुवा कुलविरसिंह तुलाधरले चार वर्षकै उमेरमा मीरालाई कालिङपोङको सेन्ट जोसेफ कन्भेन्ट लगे। पहिल्यैदेखि कारोबारको सिलसिलामा ल्हासा जाँदा आमा रत्नदेवीलाई छोराछोरीसँग मिड पोइन्टमा छोडेर उता जाने गरेका थिए। त्यसैले आमाकै साथ लागेर उनी पनि चार वर्षकै उमेरमा कालिङपोङ पुगिन्। 

त्यसबेला काठमाडौंमा कुलविरसिंह तुलाधारको आफ्नैखाले प्रतिष्ठा थियो। उनीहरु सम्पन्न खलकका रुपमा चिनिन्थे। मीराका बाजेले ल्हासाबाट कमाएर ल्याएको पैसाले स्वयम्भूको आँखामा सुनौलो पाटा राखेका थिए। वुबा कर्णबीर सन्त स्वभावका। मीराले सानैदेखि देखिन् उनका बुवा महिलाको निकै सम्मान गर्थे। स्वयम्भूमा कर्णदिपहरु बुवाले नै राखिदिएको उनी सम्झिन्छिन्। काठमाडौंमा ब्लु स्टार होटल र काठमाडौं र पोखरामा ब्लुबर्ड मल खोल्ने पायोनियरका रुपमा पनि कुलविरसिंह चिनिन्छन्। 

युद्धका कारण तिब्बतमा उनीहरुले ब्यापार गर्न नसकेपछि कुलविरसिंह नेपाल फर्किए। सँगै सबै परिवार फर्कियो। १६ वर्षको उमेरमा सिनियर क्याम्ब्रिज सकेर नेपाल फर्किदा मीरासँग ठाडो दार्जिलिंगे लवजको कनिकुथी बोल्ने नेपाली बाहेक नेपालीपनका नाममा केही पनि थिएन। 

तीन दिदीबहिनी र २ दाजुभाई हुन् मीराहरु। त्यसमध्ये मीरा र दुई दाजुभाईले मात्र कालिङपोङ पढे। ल्हासाको ब्यापार छोडेर सबैजना नेपाल फर्किएपछि दुई बहिनीहरु सेन्टमेरिज भर्ना भए।

होस सम्हालेदेखि नै कन्भेन्टको पढाई। नेपाली रहनसहन, परम्परा र संस्कृति केही नआउने  मीरालाई नेपाल फर्किएपछि भने केही समय फसाद पर्यो। बिस्तारै यहाँको वातावरणमा भिज्दै गइन्। १६ वर्षमा सिनियर केम्ब्रिज सकेकी उनी अर्थशास्त्र र अंग्रेजीमा स्नातक गर्न १७ वर्षको उमेरमा पद्मकन्या भर्ना भइन्। 

तिनताका पद्मकन्यामा अंगुरबाबा जोशी प्रिन्सिपल थिइन्। स्कुलको कडा अनुशासनबीच हुर्केकी मीरालाई गजब लाग्यो जब पहिलो दिन उनी कलेजभित्र छिरिन्। कलेजमा न कसैले कसैलाई ग्रिट गर्यो न सर मिसलाई कसैले आदरभाव देखायो। अचम्मको परिवेश थियो त्यो! सम्झेर आज मीरा नोस्टाल्जिक हुन्छिन्। 

१९ वर्षकै उमेरमा सम्पन्न घरानाका मणिहर्ष ज्योतिका जेठा छोरा पद्म ज्योतिसँग मागी विवाह भयो मीराको। बिहेपछि नाता जोडिएको परिवार बुद्धत्वलाई अनुकरण गरेको प्रतिष्ठित र शालिन परिवार थियो। विवाहको उमेरमा पद्म ज्योति २४ वर्षका। पद्म ज्योति यति शान्त र शिष्ट कि उनलाई कलेजमा साथीहरुले समेत बुद्ध भनेर बोलाउँथे रे। श्रीमानको भद्र र सौम्य ब्यक्तित्वको असर मीराको जीवनमा पर्यो। 

नेवारी परम्परा र संस्कृति मीराले बिवाहपछि घरभित्रैबाट सिकिन्। 'हरेक मानिसको फरक स्वभाव हुन्छ तर  अनुशासन र परम्परागत मूल्यमान्यता सबै घरभित्रैबाट सिक्ने हो।'- मधुरो स्वरमा मीराले भनिन् अनुशासन नभए त सबै विकासक्रम रोकिन्छ। जे मन लाग्यो त्यो गर्न त कसैले पनि मिल्दैन।  ६६ वर्षकी मीरा सानैमा ग्रहण गरिने अनुशासन र नैतिक शिक्षाले नै मानिसलाई भद्र र शालिन बनाउने बताउँछिन्। 

जोन्टा क्लब अफ काठमाडौंको प्रेसिडेन्टका रुपमा जब मीराले बालबिवाह रोक्ने अभियान थालिन् त्यसबेला मात्रै मीरालाई लाग्यो 'ओहो मेरो विवाह त सानै उमेरमा भएको रहेछ!'

तर जतिबेला उनको विवाह भयो त्यतिबेला १८ वर्ष कटेपछि विवाह गर्ने उमेर पुगेको मानिन्थ्यो। अहिले सम्झिँदा भने कति सानोमा बिवाह भएको जस्तो लाग्छ मीरालाई।  

अझ १५ वर्षमै भित्रिएकी देवरानीलाई सम्झिँदै उनले भनिन् -'न त्यतिबेला जागरण थियो न बालविवाह गर्न हुन्न भन्ने चेतना।' तर सानैमा बिहे गरेर आउँदा मीराले महसुस गरेको एउटामात्र सकारात्मक पक्ष के हो भने 'सानै उमेरमा नयाँ परिवारमा जाँदा सबै परिस्थितीलाई 'इजिली एड्याप्ट' गर्न सकिने रहेछ!'  

'यदि मैले ३० वर्षमा विहे गरेको भए मेरो 'सेट भ्यालुज' हुन्थे होलान्। तर १९ मा विहे गर्दा म 'फ्लेक्जिबल' हुन सकें। त्यसमाथि हामीले कन्भेन्टमा हार्डसिप र सबैसँग मिल्न सक्नुपर्ने अनुशासन सिकेका थियौं जुन बिवाहपछि सबैभन्दा बढी काम लाग्यो।' उनले भनिन्।  

बिहेपछि मीरा २ छोरा हुर्काउन तल्लिन रहिन् श्रीमान ब्यवसाय सम्हाल्न। ठूलो परिवारमा बच्चा हुर्काउने क्रममा मीराले सबैसँग मिलेर घर ब्यबस्थापन गर्न जानिन्। जब बच्चाहरु पढ्नकालागि दार्जिलिङको नर्थ पोइन्ट गए अनिमात्र उनलाई घरभित्रको कामबाट केही फुर्सद मिल्यो। 

ससुरा मणिहर्ष ज्योतिको आदर्शबाट प्रभावित थिइन् मीरा। मणिहर्ष उद्योग गर्नेमात्र नभई शुद्ध आचरणमा बसेर कमाउनुपर्छ भन्ने मान्यता राख्थे। उनले कहिल्यै पनि रक्सी र चुरोट ब्यवसायमा लगानी गरेनन्। भारतको स्वतन्त्रता आन्दोलनमा समेत भूमिका खेलेका उनले नेपालमा प्रजातन्त्र ल्याउनका लागि भूमिगत  अवस्थाका नेपाली काँग्रेसका संस्थापक नेताहरुलाई ठूलो सहयोग गरेका थिए। यसैले उनको योगदानको कदर गर्दै बि सं २०१५ सालमा नेपालको पहिलो संसद् (महासभा)मा उनलाई सभासद्का रुपमा मनोनित समेत गरिएको थियो। बुद्ध धर्मका अनुयायी मणिहर्ष लुम्बिनीको विकासमा जीवनभर सक्रिय रहे।

उनै मणिहर्षले एकदिन बुहारीलाई बोलाएर भने- 'हामीले ब्यवसाय मात्र गरेर हुँदैन कृषिलाई पनि प्राथमिकता दिनुपर्छ। नत्र पछि देशमा के खान पाइएला?'

बाराको परवानीपुरमा संचालित हिमाल आइरन एण्ड स्टिल वरपर कम्पनीकै धेरै जग्गा थियो। ससुराले त्यही जग्गामा कृषिको काम गर्ने जिम्मेवारी मीरालाई सुम्पिए। मीराले बारा गएर नर्सरी, कृषि र डेरीको काम थालिन्। सँगसँगै उनी त्यहाँका फ्रयाक्ट्रीका कामदारको हितमा संलग्न हुन थालिन्। उनले कामदारहरुको लागि स्वास्थ्य चौकी, लाइब्रेरी कामदारका बच्चाहरु पढाउनका लागि स्कुलको स्थापना गर्न सक्रिय भूमिका खेलिन्। कामदारहरुकालागि उत्सव मनाउनेदेखि खेलकुदका कार्यक्रम पनि उनी आफैँ अघि सरेर ब्यबस्थापन गर्थिन्। यसबाट उनको ब्यबस्थापनप्रतिको लगाव र अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना बढ्दै गयो।  

लामो समय फ्याक्ट्रीका मजदुरको हित र कृषिका परियोजनामा सक्रिय मीरा ससुरा बितेपछि भने निरन्तर ज्योति भवनस्थित अफिस आउन थालिन्। ज्योति ग्रुपका अध्यक्ष रहेका श्रीमान पद्म ज्योतिलाई सघाउन थालिन्। हाल बुटवल पावर कम्पनीका अध्यक्षका साथै साइप्रसका कन्सुलेट जनरल रहेका पद्म ज्योति त्यतिबेला डेनमार्कको कन्सुलेट जनरल थिए। उनले त्यसबेलैदेखि भिजा इन्टरभ्यू  र डकुमेन्टेसनका काममा सकेको सहयोग गर्न थालिन्। 

हाल दुई छोरा सौरभ र सुहृद अहिले ब्यवसायमा आइसकेका छन्। सँगै दुई बुहारीले पनि ज्योति समूहलाई अघि बढाउने काममा सघाइरहेका छन्।  नयाँ पुस्ताहरु ब्यबस्थापनमा चुस्त छन्। उनीहरुको ज्ञान र प्रविधिको दायरा फराकिलो हुँदै गएको छ। आइटिले धेरै सुविधा दिएको छ। ब्यबस्थापन प्रक्रिया प्रोफेसनल बन्दै गएको मीरालाई लाग्छ। 

'म बिशुद्ध बिजनेस हेर्ने काममा कहिल्यै भइन तर बिजनेस हाउसको ब्यबस्थापनमा सँधै सक्रिय भए।'- सामाजिक सेवामा धेरै समय दिइरहेकी मीराले हालसम्म पनि अफिस ब्यबस्थापनको काम छोडेकी छैनन्।  

मीरा भन्छिन्- "एउटी महिला यति शक्तिशाली छे कि उ एक्लैले सिंगो घर सम्हाल्न सक्छे। छोराछोरी जन्माउने हुर्काउने मात्र होइन; यौटा घरको नर्स, गार्डनर, लौण्ड्री, सेफ जस्ता मल्टिटास्किङ काम हामी गर्छौं। खाली यसको कदर नभएको मात्र हो। परिवर्तन त त्यो सोचाईमा गर्नुछ। घर ब्यबस्थित बनाउनु 'पावरफूल जब' हो।" भन्दै गर्दा मीराले गम्भीर सुनिइन्- हुन त मैले यसो भनिरहँदा तपाईं यो त पुरानो पुस्ताको सोच पनि भन्न सक्नुहुन्छ तर वास्तविकता यही हो।  

'पढेर आएका बुहारीहरु छन्। उनीहरु पनि काम गर्छन् म पनि गर्छु तर पहिलो कुरा त घर ब्यबस्थित हुनुपर्यो। त्यसपछि बाहिर काम गर्दा पर्फर्मेन्स पनि राम्रो दिन सकिन्छ। अनि पो जीवन सुखी हुन्छ ।' मीरा तर्क गर्छिन्।   

घर लथालिंग पारेर करियरमा मात्रै लाग्यो भने कसलाई पो सुख होला र! फेरि अहिलेका युवाहरु त  आधाआधा सेयर गरेर घरको काममा एक अर्कालाई सहयोग गर्न थालेका छन्। मीरालाई यो परिवर्तनको आभाष पनि भैरहेको छ। हात समाएर सँगै हिँड्यो भने अफ्ठेरोमा पनि एक अर्काको भर हुन्छ। सम्बन्ध र घर टिकाउन पनि यही मान्यता अनुसरण गर्नुपर्छ भन्ने मीरालाई लाग्छ। 

महिलाहरु धेरै एग्रेसिभ हुँदै गएकाले अब पुरुषलाई पनि इम्पावरमेन्ट चाहियो भनेर आवाज उठ्न थालिसकेकोप्रति चिन्ता छ मीरालाई। 'जिन्दगी चलाउन गिभ एण्ड टेक त गर्नैपर्छ। म मात्रै इम्पावर हुने अनि मैले मात्र शक्ति हत्याउने भन्ने चरित्र दुवैले त्याग्नुपर्छ। एक अर्कालाई सघाउने र जिम्मेवारी दुवैले लिने बानीले मात्र परिवार चल्छ।' 

मीराको ब्यबस्थापकीय गुण गजबको छ। यो उनले कार्यालयमात्र होइन घरको ब्यबस्थापनमा पनि यो प्रयोग गरेकी छिन्। संयुक्त परिवारमा हुने समस्यालाई समाधान गर्नकालागि परिवारभित्र एउटा अभ्यास सुरु भएको छ। फ्यामिली बिजनेस चलाउन र सँगै बस्नलाई 'फ्यामिली काउन्सिल' गठन गरिएको छ जसले घर र व्यवसायमा आइपर्ने जस्तोसुकै समस्या पनि समाधान गर्छ।

यहि काउन्सिलमा सबैले आ-आफ्ना गुनासा, समस्या र समाधानको तरिका प्रस्तुत गर्छन्। 'कमन अण्डरस्ट्याण्डिङ' मा आउन यसले सबैलाई सहज बनाएको छ। अनुशासनमा सबै बाँधिएका छन्। अहिलेसम्म परिवार र ब्यवसायमा कुनै समस्या नआउनुको कारण यसैलाई मान्छिन् मीरा। एउटै कम्पाउण्डभित्रका तीनवटा घरमा मीराको संयुक्त परिवार रमाइरहेको छ।

ससुरा सँधै भन्थे 'सिम्पल लिभिङ हाइ थिंकिङ'। मीरामा यसैको प्रभाव पर्यो। शान्त स्वभावका श्रीमान र उनीबीच 'फरगिभ एण्ड फरगेट'को समझदारी छ। ४७ वर्ष लामो सहयात्रामा उनी सँधै श्रीमानको गृहस्थी र व्यवसायमा साथी बनिन्। 'परिवारमा कसैको पनि ३२ गुण हुन्न तर जो छन् सबै हाम्रै हुन् भन्दै एक अर्काको कमजोरीलाई परिपूर्ति गर्नुपर्छ'-मीरा भन्छिन्। 

ससुराले ज्योति समूहलाई संघर्षले अघि बढाएको मीराले देखेकी छिन्। तर उनै ससुराको  'गिभ ब्याक टु कम्युनिटी' भन्ने सिद्धान्तलाई पनि उनले नजिकबाट नियाल्न पाइन्। रेडक्रस, लेप्रोसी, आँखा अस्पताल भ्याएजति र सकेजति सबैमा उनी संलग्न थिए। लुम्बिनीलाई आजको अवस्थामा ल्याउन पनि मणिहर्षले महत्वपूर्ण भूमिका खेले।

मीराले धेरै अघिदेखि ज्योति ग्रुपको ब्यबस्थापकीय पाटोमा महत्वपूर्ण भूमिका खेल्दै आइन्। कम्पनीको निर्देशकका रुपमा बोकेको उत्तरदायित्वका साथै सामाजिक सेवामा पनि उनको उत्तिकै लगाव छ। बालभोजन, स्पाइनल इन्जुरी तथा लुम्बिनीको राजकीय बुद्ध बिहारमा पनि उनी सक्रिय संलग्नता देखाइरहेकी छिन्। जोन्टा र टेवा त छँदैछ। उनी बौद्ध महिला संघकी उपाध्यक्ष समेत हुन्।

अब आराम गर्ने बेला भएन र? चार नातीकी हजुरआमा मीराले अहिलेसम्म रिटायर्ड लाइफको कल्पना पनि गरेकी छैनन् रे। 'म त बाँचुन्जेल काम गर्छु। अहिले पनि मलाई काम गर्न २४  घण्टा कम भएजस्तो लाग्छ।' 

हत्केलातिर आँखा दौडाउँदै मीराले नरम स्वरमा भनिन्-'यी हातखुट्टा जहिलेसम्म चलिरहन्छ म काम नै गरिराख्छु।'