BIZMANDU
www.bizmandu.com

उद्योगमन्त्रीका स्वकीय सचिव र कर्मचारीबीच हात हालाहाल, मन्त्रीलेनै दिए थुन्ने धम्की

२०७६ जेठ १


काठमाडौं। उद्योग मन्त्रालयमा बुधवार उद्योगमन्त्री मातृकाप्रसाद यादबका स्वकीय सचिव र कर्मचारीबीच हात हालाहालनै भयो।मन्त्रालयमा भएको ताण्डबमा मन्त्री स्वयं समेत सहभागी भए।

Tata
GBIME
Nepal Life

यो ताण्डबका पछाडि ठूलो कारण थिएन। सरुवाका विषयमा मन्त्री यादब, स्वकीय सचिव र कर्मचारीबीच हात हालाहाल भएको थियो। मन्त्रालयले केही दिन अघि कर्मचारीको सरुवा लिष्ट निकाल्यो। लिष्टमा आफ्नो नाम नपरेका समूह एकजुट भए। त्यही समूह र मन्त्रीको समूहबीच मन्त्रालयमै झडपको अवस्था आयो।

सरुवाको लिष्टमा नपरेको असन्तुष्ट समूहलाई कांग्रेस निकट कर्मचारी युनियनले गोलबन्द गर्यो। कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले असन्तुष्ट समुहको नेतृत्व गर्दै सरुवा रोक्न उद्योग सचिव यमकुमारी खतिवडा समक्ष पुगे। त्यहाँ उनीहरुले चित्तबुझ्दो जवाफ नपाएपछि कर्मचारी मन्त्रीको निजी सचिवालयको कार्यकक्षमा पुगे। यादबका स्वकीय सचिव प्रेम आचार्यको कक्षमा चर्काचर्की भयो।चर्काचर्की भएपछि मन्त्री यादव आफ्नो कार्यकक्षबाट बाहिर आएर कर्मचारीलाई हप्काउँदै थुन्ने धम्की दिए। मन्त्री यादबनै वाहिर आएर गालीगलौचमा उत्रिएपछि कर्मचारी पनि हच्चकिए।

मापदण्ड विपरित भएका सरुवा खारेज गर्न माग राख्दै निजी सचिवालयमा गएको बेला मन्त्री यादबले कर्मचारीलाई दुर्व्यवहार गरेको कर्मचारी युनियनका सदस्य विश्वबन्धु रेग्मी आरोप लगाउँछन्।'मन्त्रीज्यू कार्यकक्षबाट बाहिर आउने वित्तिकै उहाँको निजी सचिवालयको टोलीले हामी माथी हातपातको प्रयास गरेको हो। मन्त्रालयको सिसिटिभी फुटेजमा सबै कुरा रेकर्ड भएको छ। फुटेज हेरेर यो घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ।' उनले भने।

कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी सहितको टोली र मन्त्रीको निजी सचिवालयको टोलीबीच धकेला धकेल भएपछि यादवका अर्का स्वकीय सचिव सन्तोष बिष्टको हातमा चोट लागेको मन्त्रालय स्रोतको दावी छ।

'गडबढ गर्ने कर्मचारीलाई नछोड्ने मन्त्री र प्रधानमन्त्रीकै चाहना छ। उहाँहरुको विगत त्यती राम्रो नभएकाले उद्योग विभागमा सरुवा नगरिएको हुनसक्छ।' मन्त्री यादवका निजी सचिव प्रेम आचार्यले भने, 'उपसचिव सम्मको सरुवा सचिव स्तरबाट हुने भएकाले यो सरुवा उद्योग सचिवले गर्नु भएको हो। यसमा केही सल्लाह मन्त्रीज्यूसँग पनि लिनु भएको होला।' उनले आफूलाई पैसा खाएर कर्मचारी सरुवाको आरोप लगाएको बताए।

'मलाई पैसा खाएर कर्मचारीको सरुवा गरिएको आरोप लगाइएको छ। उपसचिव स्तरको कर्मचारीले सरुवा गर्न सक्ने कुरै हुँदैन।' आचार्यले भने।मन्त्री यादव एकल बिन्दु सेवा केन्द्रको उद्घाटन गर्न उद्योग विभागमा रहेकै बेला असन्तुष्ट रहेका १५/२० जना कर्मचारीहरुको समूह भने मापदण्ड विपरित भएका सरुवा खारेज गराउन दवाव दिन मन्त्रालयमै परामर्श गरिरहेको थियो।