BIZMANDU
www.bizmandu.com

अख्तियारका पुर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर, घुस दिने अझै फरार

२०७६ जेठ १


काठमाडौं।
नेपाल इन्जिनियरिङ कलेजको विवादमा घुस काण्डमा फरार रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठक आयुक्तबाट राजीनामा दिएका थिए। सञ्चार माध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार आफैले पाठकको बारे अनुसन्धान गरेको थियो।

अख्तियारले अनुसन्धान थालेपछि पाठक फरार भएका थिए। अनुसन्धानपछि आयोगले गत चैत १२ गते पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पाठक फरार भएपछि बैशाख २५ मा उनको म्याद तामेलीमा थियो।

अहिले विशेष अदालतमा पाठकको बयान चलिरहेको छ। पाठकको विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासमा बयान चलिरहेको छ।

पहिलोचरणको बयान सकिएपछि विशेषमा थुनछेक बहस हुनेछ। थुनछेक बहसपछि उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने आदेश दिनेछ।

पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने अझै फरार नै छन्।