BIZMANDU
www.bizmandu.com

सनराइजबाट रत्नराज बज्राचार्य बाहिरिँदै, आशालाई कामु सिइओ दिइने, को बन्दैछ नयाँ सिइओ

२०७६ बैशाख २७

सनराइजबाट रत्नराज बज्राचार्य बाहिरिँदै, आशालाई कामु सिइओ दिइने, को बन्दैछ नयाँ सिइओ
सनराइजबाट रत्नराज बज्राचार्य बाहिरिँदै, आशालाई कामु सिइओ दिइने, को बन्दैछ नयाँ सिइओ

Tata
GBIME

काठमाडौं। सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतबाट पाका बैंकर रत्नराज बज्राचार्य बाहिरिने भएका छन्। चार बर्षे कार्यकाल पुरा गरेर बज्राचार्य बाहिरिन लागेका हुन्।

बैशाख मसान्तमा उनको कार्यकाल पुरा हुँदैछ। बैंकले आइतबार बज्रचार्यको बिदाइ गर्ने कार्यक्रम तय गरेको छ। बज्राचार्यले 'चार बर्षको एक कार्यकाल पुरा गरेर बाहिरिने आफ्नो पुरानै नीतिका कारण सनराइज बैंक छाडेको' बताएका छन्।

कडा मिजासका बैंकरका रुपमा चिनिने बज्राचार्य यसअघि ग्लोबल आइएमइ बैंकमा थिए। त्यहाँ पनि उनले चार बर्ष बिताएर छाडेका थिए। त्यसअघि एनसिसी बैंकमा पनि उनले चार बर्ष काम गरेका थिए।

नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्। बज्राचार्य बाहिरिएसँगै नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु भएको छ। नयाँ प्रमुख कार्यकारी नियुक्त नभइन्जेल कामु प्रमुख कार्यकारीका रुपमा आशा राणा अधिकारीले बैंक ब्यवस्थापनको नेतृत्व गर्नेछिन्। उनी पनि ५८ बर्षे उमेर हदका कारण चाँडै बैंकबाट अवकाश हुँदैछिन्।

नयाँ प्रमुख कार्यकारीको रेसमा तीन जना देखिएका छन्। बैंक सञ्चालक समितिसँग जनक शर्मा पौडेल, अनुजमणि तिमिल्सिना र निरज श्रेष्ठको कुराकानी भएको छ। शर्मासँग पटक/पटक छलफल भइसकेको छ भने तिमिल्सिनासँग दुई पटक कुराकानी भएको छ। निरज श्रेष्ठसँग भने सामान्य कुराकानी भएको स्रोतको दावी छ।

यता सरकारी स्वामित्वको नेपाल बैंकमा पनि नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु भएको छ। देवेन्द्रप्रताप शाह अवकाश भएपछि बैंक सञ्चालक समितिले ब्यवसायिक बैंकर नियुक्तिको पहल गरिरहेको छ।

स्रोतहरुका अनुसार, बैंकले निजी क्षेत्रमा काम गरिसकेका बैंकरलाई प्रमुख कार्यकारीका रुपमा सरकारी बैंकमा भित्र्याउन खोजेको छ। रत्नराज बज्राचार्य, सुदेश खालिङ, अजय श्रेष्ठ, निरज श्रेष्ठलगायतसँग कुराकानी गरेको स्रोतहरुको दावी छ। बैंकले जेठभित्र सिइओ नियुक्त गर्ने योजना बनाएको छ।