वासिङ्टन। संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ।
अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ।अमेरिकी तयारीबारे समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ।
यो वृद्धिसँगै सन् २०१९ मा तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको छ। अमेरिकी अखबार वासिङ्टन पोस्टले समेत गत वर्ष इरानी तेलको आयातमा केही आयातकर्तालाई दिइएको छुट तत्काल अन्त्य गर्न ह्वाइट हाउसले तयारी गरेको समाचार छापेको थियो।
बेन्चमार्क कच्चा तेलको मूल्यमा सोमबार ३.२ प्रतिशतसम्म वृद्धि भएर प्रति ब्यारेल ७४.३१ अमेरिकी डलर पुगेको छ। यो दर गत वर्ष नोभेम्बर १ को तुलनामा सबैभन्दा उच्च हो । इरानी तेलमाथि हुने प्रतिबन्धले आयातमा प्रभाव पर्नेछ। अमेरिकी कम्पनी वेस्ट टेक्सास इन्टरमेडियट (डब्लुटीआई) को मूल्यमा पनि ३ प्रतिशत वृद्धि भएर प्रति ब्यारेल ६५.८७ डलर कायम भएको छ ।
यो मूल्य गत अक्टोबर ३० यताकै सबैभन्दा उच्च हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि “अधिकतम आर्थिक दबाब” सिर्जना गर्न इरानी तेल निर्यातमा प्रतिबन्ध लगाउने र तेलबाट हुने राजस्वलाई शून्यमा झार्ने रणनीति अघि सारेका छन्। गत नोभेम्बरमा अमेरिकाले इरानी तेल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएलगत्तै इरान र अमेरिका सहित विश्वका छ वटा महाशक्ति राष्ट्रहरुबीच भएको सन् २०१५ को आणविक सम्झौताबाट एकपक्षीय रुपमा अमेरिका बाहिरिने घोषणा गरी इरानमाथि प्रतिबन्धको घोषणा गरेका थिए। तर वासिङ्टनले इरानी तेल आयातकर्ता आठवटा मुलुकलाई केही समयका लागि तेल आयातमा छुट दिने निर्णय गरेको थियो । खासगरी चीन, भारत, जापान, दक्षिण कोरिया, ताइवान, टर्की, इटाली र ग्रीसलाई यस्तो सुविधा उपलब्ध थियो।
यी मुलुकलाई छ महिनाका निम्ति इरानी तेल आयातमा छुट दिइएको थियो । सोमबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आगामी मे २ तारिखदेखि यस्तो सुविधा प्राप्त नहुने घोषणा गर्न लाग्नुभएको ह्वाइट हाउस स्रोतले जनाएको छ। यस वर्ष तेल निर्यातकर्ता मुलुकहरुको संगठन (ओपेक) ले आपूर्ति कटौती गरेका कारण कच्चा तेलको मूल्य बृद्धि भएको छ।
परिणामस्वरुप, ब्रेन्ट कच्चा तेलको मूल्य जनवरी यतामात्र तीन पटकभन्दा बढी पटक वृद्धि भएको छ। विश्लेषकहरुले ट्रम्प प्रशासनले तेलको अस्वाभाविक मूल्य बृद्धि रोक्न ओपेक र यसको मुख्य नेतृत्वकर्ता साउदी अरेबियामाथि तल आपूर्ति कटौती नगर्न दबाब दिने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति ट्रम्पले इरानी तेलमाथिको प्रतिबन्धबाट सिर्जना हुनसक्ने असरका बारेमा साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानसँग पनि गत साता फोनवार्ता गरेका थिए।