काठमाडौं। 'बुलिस ट्रेण्ड' सुरु भएको विश्लेषण गर्दै शेयर बजारमा लगानी थपिन थालेको छ। पुरानो घाटा पूर्ति गर्न लगानीकर्ताले शेयर थप्न थालेपछि आइतबार बजारमा थप सुधार देखिएको छ।
विगतमा बजार केहि सुधार हुनेवित्तीकै नाफा बुक गर्ने प्रबृत्तिले सूचक माथि जान पाउँदैन थियो। यसपटक भने बजार थप सुधार हुने अपेक्षामा पुरानो घाटा पूर्ति गर्ने मनस्थितिमा लगानीकर्ता शेयर संख्या बढाउन थालेका छन्।
गत फागुन १९ गते नेप्से सूचक १८८१ अंकलाई छोएपछिसबैभन्दा तल्लो अंकमा ओर्लिएको थियो। १९ गतेको सूचक नै न्यूनतम भएको आँकलमा लगानीकर्ताले बजारमा पैसा खन्याउन थालेका छन्।
तीन बर्षको 'वियरिस ट्रेण्ड' मा अधिकांस कम्पनीको शेयर मूल्य घटेका छन्।
सोमबार शेयर बजारमा धेरै समयपछि एक अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ। नेप्से सूचक २.५९ प्रतिशतले सुधार हुँदा कारोबार रकम एक अर्ब दुई करोड रुपैयाँको भएको हो। दिनभरीमा सूचक करिब ३२ अंकले बढेको हो।
बैंक तथा वित्तीय संस्थाको कारोबारमा आकर्षण देखिए पनि निर्जीवन बीमा कम्पनी र उत्पादन तथा प्रशोधनको सूचक भने घटेका छन्।
बाणिज्य बैंकहरुको मात्रै ५४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल बैंकको मात्रै १४ करोड ८० लाख रुपैयाँको भएको छ। बाणिज्य बैंकको सूचक ४.१ प्रतिशत अर्थात ४५.९४ अंकले सुधार देखिएको छ।
बाणिज्य बैंकहरुले तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। यस वर्ष नाफामा राम्रो सुधार गर्ने अपेक्षा गरिएको छ। नाफामा सुधार आएसँगै चक्ता पूँजी बृद्धिपछि प्रति शेयर आम्दानी साविककै वर्षको जति हुने अनुमान गरिएको छ।