काठमाडौं । विश्व सम्पदामा सूचीकृत स्वयम्भु र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्राले जोड्ने गुरुयोजना तयार भएको छ।
काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिले २२ सय मिटर दुरीमा रहेको दुवै सम्पदालाई जोड्ने गुरुयोजना तयार पारेको हो ।
उक्त गुरुयोजना विश्व सम्पदा दिवसको दिन आगामी बिहीबार सार्वजनिक गरिने समितिका संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए ।
बिहीबार गुरुयोजना सार्वजनिक गर्नु अघि स्वयम्भु भुईखेलदेखि हनुमानढोका दरबार क्षेत्रसम्म र्याली आयोजना गरिने समितिले जनाएको छ ।
सम्पदा पदयात्राले उक्त दूरीको क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाहरुको प्रवर्द्धन, जनताको आयस्तरमा वृद्धि, आन्तरिक तथा बाह्य पर्यटनको विकास, सम्पदाको मुल्य मान्यताबारे जनचेतना अभिबृद्धि गर्ने लक्ष्य राखेको छ ।
महानगरका बिभिन्न मूर्त तथा अमूर्त सम्पदाहरुको पहिचान, पुस्तान्तरण तथा सम्वर्द्धन कार्यमा यसले सहयोग पुर्याउने विश्वास लिइएको छ । सम्पदा पदयात्राका क्रममा २.२ किलोमिटर दूरीभित्र रहेका करिव २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिन्छ ।
सम्पदा पदमार्गको रुट:
हनुमानढोका – काष्ठमण्डप – मरुगणेश – मरु हिटी – सन्तानेश्वर महादेव – मरुबही – मिच्या – बन्जा हिटी – सा: (तेल मिल) – चस्वार्द्ध – दमाईटोल – सुन्ता गल्ली – पाछै गल्ली – नरदेवी – आयुर्वेदिक अस्पताल – सामुदायिक गल्ली – बुराखेल – म्यछ्यो हिटी – तप्यता – रञ्जित मल्ल सत:घाट – भेलु महादेव – डल्लु चौतारा – निपु हिटी (भीमसेन मन्दिर) – धिमे ल्वहं – चाराहिटी – भुईखेल हुँदै स्वयम्भु ।