BIZMANDU
www.bizmandu.com

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा प्रधामन्त्रीनै गएनन्, पोखरामा मूख्यमन्त्रीले उद्घाटन गरे



काठमाडौं। सरकारले गत वर्षनै २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गर्यो। यो घोषणा अनुसार झण्डै चार महिना अघि भ्रमण वर्षको राष्ट्रिय संयोजक समेत नियुक्त गर्यो।

Tata
GBIME
Nepal Life

 नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्योगी सुरज वैद्य नियुक्त भएर केही प्रडक्ट बनाएर काम सुरु गर्यो। यो समूहले विभिन्न चरणमा तात्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग छलफल गर्यो। तर दुर्भाग्य, पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा परेर निधन भयो।

अधिकारीको निधनपछि भ्रमण वर्षको काम केही समय रोकियो। केही सातापछि प्रधानमन्त्री केपीशर्मा ओलीसँग भ्रमण वर्ष शुभारम्भ गर्ने भन्दै छलफल सुरु भयो। एक साता अघि नयाँ वर्षको पूर्व सन्ध्या(न्यू एयर इभ) भ्रमण वर्ष उद्घाटनको टुंगो लाग्यो। मिति टुंगो लागेपछि उद्घाटनमा प्रधानमन्त्री ओली भने उपस्थित हुन नसक्ने जानकारी दिइयो। नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार स्वास्थ्यको कारणले यात्रा गर्न नमिल्ने भन्दै ओली उद्घाटनमा सहभागी भएनन्। त्यसपछि उद्घाटनका लागि उपप्रधानमन्त्रीको खोजी भयो।

दुई जना उपप्रधानमन्त्रीले समेत पर्यटक भित्र्याउने मुलुकलेनै घोषणा गरेको कार्यक्रममा जान नभ्याउने जानकारी दिए। बोर्डका ती अधिकारीका अनुसार उपप्रधानमन्त्री समेत कार्यक्रममा सहभागी नहुने जानकारी पाएपछि प्रदेश ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रमुख अतिथि बनाएर भ्रमण वर्ष उद्घाटनको टुंगोमा पुगिएको हो।‘यति ठूलो मुलुककै अर्थतन्त्रसँग जोडिएको कार्यक्रममा प्रधानमन्त्री,उपप्रधानमन्त्री जान नभ्याउने भएपछि हामीले मूख्यमन्त्रीबाटै काम चलायौं’ बोर्डका ती अधिकारीले भने,’पर्यटन क्षेत्रको यति ठूलो कार्यक्रमलाई हेला गरियो।’ भ्रमण वर्षमा जनतालाई जागरुक बनाउन पनि प्रधानमन्त्री ओलीको सहभागिता आवश्यक थियो।‘

भ्रमण वर्ष सफल बनाउन जनताको पनि सहभागिता आवश्यक पर्छ। त्यसका लागि प्रधानमन्त्री तहमै आब्हान हुँदा सकारात्मक प्रभाव पार्थ्यो। तर उहाँले स्वास्थ्यको कारण देखाएर आउनु भएन’ ती अधिकारीले भने।स्वास्थ्यका कारणले पोखरा नगएका प्रधानमन्त्री ओली शनिबार र आइतबार काठमाडौंमा भने ब्यस्त भए। ओली शनिबार बालगुरु आदित्यको कार्यक्रममा सहभागी भए भने आइतबार हरेक नेपालीको बैंक खाता अभियानमा सहभागी भए। स्रोतका अनुसार राष्ट्रिय रुपमा उद्घाटन गर्ने योजना बनाएको भ्रमण वर्षको कार्यक्रम सामान्य रुपमा सुरु भयो।

शनिबार मूख्यमन्त्री सुब्बाले भ्रमण वर्षको उद्घाटन गरे। कार्यक्रममा पर्यटनसचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय संयोजक सुरज वैद्य, पर्यटन व्यवसायी योगेन्द्र शाक्य,पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी लगायत सहभागी भए। भ्रमण वर्षको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली लगायत उपस्थित नभएपछि यसको फर्म्याटनै परिवर्तन गरिएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले सातै प्रदेशमा भ्रमण वर्ष शुभारम्भ गर्ने क्रममा पोखरामा गरिएको बताए।

‘हामीले नेपालमै भ्रमण वर्षको  पहिलो उद्घाटन पोखरामा गरेका छौँ। यो सामान्यरुपमा गरिएको उद्घाटन हो। हामीले पोखरापछि सातै प्रदेशको विभीन्न पर्यटकीय गन्तब्यमा उद्घाटन कार्यक्रम गर्ने योजना बनाएका छौँ।' उनले भने।जोशीका अनुसार नेपाल भ्रमण वर्षको मूख्य उद्घाटन समारोह भने डिसेम्बरको अन्तिम सातामा हुनेछ।