BIZMANDU
www.bizmandu.com

जी सेभेन समूहको इटाली चीनसँग जोडियो, चीनको नयाँ ‘सिल्क रोड’मा ८ अर्ब डलर लगानी गर्ने

२०७५ चैत्र १०

रोम, इटाली। एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले एक दस्ताबेजमा हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो ।

Tata
GBIME
Nepal Life

विश्वलाई जोड्ने बेल्ट एण्ड रोड (बिआरआई) आयोजना अन्तर्गतको आयोजनामा जाने इटालीको निर्णयले अमेरिका र यूरोपेली संघ (इयू) ले इटाली र चीनलाई हेर्ने दृष्टिकोणमा असहजता ल्याउन सक्ने विश्लेषकहरूले बताएका छन् ।

बिआरआई आयोजनामा जोडिने विकसित राष्ट्रहरूको समूह (जी–सेभेन) मध्ये इटाली पहिलो मुलुक भएको छ ।

इटालीको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र इटालीका प्रधानमन्त्री जिउसेफे कोन्टेको उपस्थितिमा उक्त २९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

इटालीका सञ्चारमाध्यमले जनाए अनुसार उक्त सम्झौता चीन र इटालीबीच ‘सिल्क रोड’ का लागि करिक आठ अर्ब अमेरिकी डलर लगानीका लागि भएको छ ।

सम्झौतापत्रमा चीनको तर्फबाट राष्ट्रिय विकाश आयोगका हे लाइफेङ तथा इटालीका उप–प्रधान तथा आर्थिक विकासमन्त्री लुइगी दि माइओले हस्ताक्षर गरेका छन् ।

इटालीको आर्थिक दैनिक ‘सेकेण्ड सोल ट्वन्टी फोर ओर’ का अनुसार तत्काल चीनको यूरोप छिर्नका लागि रणनीतिक महत्व राख्ने जिनिओ र त्रियस्ते बन्दरगाहमा लगानीका लागि सम्झौता भएको भएपनि यसलाई २० अर्ब यूरो पुर्याउने लक्ष्यमा सहमति भएको छ ।