BIZMANDU
www.bizmandu.com

आइपुग्यो बुद्ध एयरको नयाँ एटिआर-७२-५००, १२ वर्षअघि फ्रान्सको आकाशमा उडेको जहाज अब नेपालमा

२०७५ चैत्र ५


काठमाडौं। बुद्ध एयरको नयाँ एटिआर-७२ जहाज सोमबार राती काठमाडौं आइपुगेको छ।

Tata
GBIME
Nepal Life

७२ सिट क्षमता भएको एटिआर-७२ले एक महिनापछिदेखि उडान गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आगामी अप्रिल १५ तारिखदेखि  जहाजले काठमाडौं विराटनगर उडान गर्ने तालिका बनेको छ।

एक अर्ब रुपैयाँमा खरिद गरिएको ९ एन एएमवाइ कलसाइन दिइएको जहाजको कस्टुम शुल्क एक करोड रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।

सन् २००७ मा बनेको यो जहाज यसअघि एयर टाहिटीले उडान गर्दै आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

१२ वर्ष पुरानो जहाज एयर टाहिटीले पुनः एटिआर कम्पनीलाई बिक्री गरेपछि बुद्ध एयरले एटिआर कम्पनी सँगै उक्त जहाज खरिद गरेको प्राधिकरणले बताएको छ। एयर टाहिटीले फ्रान्सको आकाशमा यो बिमान उडाउँदै आएको थियो।

'जहाज खरिद गर्न प्राधिकरणका प्राविधीक गएका थिए। युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) द्वारा जहाज उडान योग्य प्रमाणित भइसकेको छ। प्राधिकरणबाट पनि यो जहाजको लागि उडान योग्य प्रमाणपत्र स्विकृत भइसकेको छ। टाइपीले एटिआरलाई विक्री गरिसकेपछि यो जहाज एटिआरले मर्मत गरेर दिएको छ।' नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सेवा सुरक्षा विभागका एक उच्च अधिकारीले बिजमाण्डूसँग भने।

प्रेसराइज्ड(१५ हजार फीट भन्दा माथि सजिलै उडान गर्न सक्ने क्षमताको जहाज) जहाज अन्तर्गत पर्न आउने एटिआर-७२,जेट, बोइङ ७३७, ७५७, एयरबस ३२०,३३० लगायतका २० वर्ष पुराना जहाज खरिद गर्न सकिने छ भने टिविनअटर, विचक्राफ्ट लगायत नन प्रेसराइज्ड(१५ हजार फीट भन्दा कम उचाईमा मात्र उडान गर्न सक्ने क्षमताको जहाज) जहाज १५ वर्षसम्म पुरानो हुँदा पनि खरिद गर्न सकिने प्राधिकरणले बताएको छ।     

हाल बुद्ध एयरसँग छ वटा ७२ सीटे एटिआर ७२-५००, तीनवटा ४२ सिटे एटीआर ४२-३२० र दुई वटा १९ सिटे बिचक्राफ्टले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, पोखरा लगायत आठवटा आन्तरिक गन्तब्य र साताको दुई दिन बनारस उडान भर्दै आएको छ।

कम्पनीले आगामी जेठ १३ गतेबाट ७२ सिटे एटिआर ७२-५०० मार्फत काठमाडौं-कोलकाता उडान साताको तीन दिन गर्ने योजना बनाएको छ।

कम्पनीका अनुसार हरेक साताको सोमबार, बुधबार र शुक्रबार काठमाडौं-कोलकाता उडान गरिनेछ।