काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र, केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्न आग्रह गरेको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकमा ती क्षेत्रमा विदेशी लगानी खुला गर्ने प्रस्ताव गरेपछि महासंघले यो आग्रह गरेको हो। चेम्बरपछि महासंघले समेत विदेशी लगानी खुला नगर्न आग्रह गरेको हो।महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं स“स्थाहरू, ई–कमर्श, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगर्न आग्रह गरेको छ।
महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवलाई भेटी उक्त सुझाव दिएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ संसदमा विचाराधिन रहेको छ ।
महासंघबाट गएको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ, महासंघको वस्तुगत परिषदका सह–सभापति सुमित केडिया, नेपाल वोटल वाटर एसोसिएसनका अध्यक्ष सुवास भण्डारी र महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी थिए।