विराटनगर। तीन व्यवसायिक समूहको लगानीमा विराटनगरमा सेन्ट्रल मल सञ्चालनमा आएको छ। विशाल समूह, देवेनरा मुन्दडा समूह र विराटनगरका चौधरी दाजुभाइको हाइलाइफ समूहको संयुक्त लगानीमा मल सञ्चालनमा आएको हो।
सेन्ट्रल मलको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार गरेका छन्। उद्घाटन समारोहमा मुख्यमन्त्री राईले प्रदेश सरकारले परियोजना बैंकको तयारीमा लागिरहेको र निकट भविष्यमै लगानी सम्मेलन गर्ने तयारी भइरहेको जानकारी दिए। मुख्यमन्त्री राईले दातृ निकाय र निजी क्षेत्रसितको संयुक्त सहभागितामा लगानी सम्मेलन गरिने स्पष्ट पारे।
उनले व्यवसायिक संस्थाले सञ्चालनमा ल्याउने ठुला बजार उपभोक्ता मैत्री हुनुपर्नेमा जोड दिए। 'उपभोक्ताले मर्कामा परेको अनुभूति गर्नु नपरोस्,’ उनले भने।
मल तयार हुँदा जमिनको मूल्यसहित १ अर्ब रुपैयाँ लगानी पुगेको सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिए। महानगरपालिकाको मेनरोडमा रहेको अतिथि सदनदेखि १ सय मिटर उत्तरमा रहेको १६ कट्ठा जमिनमा बनाइएको २५ हजार वर्ग फिटको मलमा १ सय १० पसल छन्। जसमध्ये ५५ वटा बहालमा लागिसकेका छन्।
मलले तत्काल ७५ सवारीसाधन र १ सय ५० मोटर साइकलका लागि अन्डरग्राउन्ड पार्किङको निर्माण गरेको छ। पार्किङको चाप बढ्दै गएपछि यसको क्षमता दोब्बर बनाएर १ सय ५० गाडी र ३ सय मोटरसाइकल अट्ने स्थान बनाइने सञ्चालक मुन्दडाले बताए।
मलले दोस्रो तलामा २ सय ५० सिट क्षमताका वातानुकुलित दुई सिनेमा हल र एक रेस्टुरेन्ट सञ्चालन गरेको छ। दोस्रो तलामै नील डेभिडले सैलुन, स्पा र शारीरिक फिटनेस सेन्टर सञ्चालन गरिरहेको छ।
‘मनोरञ्जन, किनमेल, भोजन तृप्ति र तन्दुरुस्तीका लागि एउटै थलो’ भत्रे उद्देश्यका साथ सञ्चालनमा ल्याइएको मलमा बालबालिकाका लागि छुट्टै खेल्ने ठाउँ छ। ‘विराटनगरमा आधुनिकता, उत्कृष्टता र गुणस्तरको सम्मिश्रण पस्कन लागेका हौँ,’ मुन्दडाले भने, ‘त्यही शैलीलाई सेन्ट्रल मलमा अपनाएका छौँ। विश्व बजारमा प्रतिस्पर्धी हुने सोचका साथ मलको सञ्चालन गर्दैछौँ।’