BIZMANDU
www.bizmandu.com

आयल निगममा पौडेलको सुरुवाती इनिङ: भन्छन्, ‘सुधारको काम थालेको छु, प्रणाली विकास गर्छु’

२०७५ फागुन १०

आयल निगममा पौडेलको सुरुवाती इनिङ: भन्छन्, ‘सुधारको काम थालेको छु, प्रणाली विकास गर्छु’
आयल निगममा पौडेलको सुरुवाती इनिङ: भन्छन्, ‘सुधारको काम थालेको छु, प्रणाली विकास गर्छु’

काठमाडौं। तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको कार्यकाल भर विवादमा रहेको नेपाल आयल निगममा सरकारले सुरेन्द्र पौडेललाई भित्र्यायो। सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा सुधारका काम गरेर अघि बढेका पौडेलले डेढ महिनायता निगम हाँकिरहेका छन्। 

Tata
GBIME
Nepal Life

खड्का विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। निगमको जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै खड्का विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। पौडेल उदयपुर सिमेन्टमा महाप्रबन्धक भएपछि उनले उद्योगलाई युटर्न गराएर नाफामा लैजान सफल भए। पौडेलले उदयपुर सिमेन्टलाई युटर्न गराएर चर्चासमेत कमाएका थिए। पौडेलले निगमलाई कानुनी र संरचनागत सुधारका साथ अघि बढाउन आफूले काम थालेको दावी गरेका छन्। 

खड्काको रजगजले लथालिंग अवस्थामा पुगेको निगम पौडेललाई ल्याइएपछि सुधारको अपेक्षा सबैले गरेका छन्। पौडेल कार्यकारी निर्देशक भएलगत्तै निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्यो, जसले सर्वसाधारणलाई भने खुशी दिन सकेन। यद्यपि, पौडेल अहिले आफ्नो कार्यकाल भरी गर्ने काम र निगम सुधारका योजना बनाइरहेका छन्। 

निगमले अहिले कर्मचारीको क्षमता विकासबाट सुधारको काम अघि बढाएको छ। 'संस्था के हो भन्ने बुझ्दै नबुझी डिपो प्रमुख भएर गएको पनि पाइयो, यस्तो अवस्थामा कसरी काम गर्न सक्छन?,' पौडेल भन्छन्, 'यसैले संस्थामा नोक्सानी बढाउँछ।' 

पौडेलले सेवाग्राहीबाट गुनासो आउने गरी काम गर्ने र गलत नियत राख्ने कर्मचारीमाथि आफ्नो निशाना सोझ्याएका छन्। उनले डेढ महिनामा पाँच कर्मचारीको सरुवा गरेका छन्। 'हामी सेवा दिने मान्छे हौँ, सेवा दिने हो,' उनले भने, 'अरु चिप्ला कुरा गर्ने होइन।'

पौडेलले अहिले आफू प्रणाली निर्माणका लागि गरिरहेको बताए। 'कसले के गर्यो भनेर पछि लाग्ने होइन, हामीले यस्तो प्रणाली बनाउनुपर्योै कि जसले अटोमेटिक सबै कुरा ठाउँमा आओस,' उनले भने, 'म अहिले त्यसमा कटिबद्ध छौँ।' 

 

 

निगमलाई पेपरलेस संस्था बनाउन आफूले काम थालेको उनले जानकारी दिए। 'सेवा चुस्त गर्ने र संस्थालाई पेपरलेस बनाउन लागि परेका छौँ,' उनले भने, 'यसका लागि अध्ययन थालिसकेका छौँ, छिट्टै केही नतिजा आउँछ।'

निगमले विभिन्न डिपोमा कार्यरत कर्मचारीको बिदा स्वीकृत केन्द्रबाटै गर्ने परिपाटी विकास गर्ने भएको छ। बिदाको अधिकार डिपोमा दिँदा त्यसको दुरुपयोग भएको पाइएपछि नियन्त्रण गर्न खोजिएको हो। 

कार्यकारी निर्देशक पौडेलले आफूले व्यवसायीका गुनासा सुनिरहेको भन्दै जायज विषय सम्बोधन गरेर अघि बढ्ने बताए। 'केही सुझाव र केही गुनासा आएका छन्, जायज विषय सम्बोधन हुन्छन्,' पौडेलले भने। 

निगमले पेट्रोलियम पदार्थको गुणस्तर सुधार गर्न ल्याब सुधारको काम थालेको छ। 'गुणस्तरले प्रश्न नउठाओस अरु कसैले भन्न नपरोस,' उनले भने, 'हाइटेक ल्याब बनाउन लागेका छौँ।' 

आफूले निगमको नेतृत्व सम्हालेपछि पुराना आयोजनालाई व्यवस्थित बनाएर अघि बढाइरहेको उनले दावी गरे। पेट्रोलियम पाइपलाइन आयोजना निर्माणलाई तीव्रता दिइएको उनले बताए। यसैगरी आफू कार्यकारी निर्देशक भएपछि इतिहासकै धेरै तेल भण्डारण क्षमता बनाएको पनि उनले दावी गरे।