BIZMANDU
www.bizmandu.com

भण्डारण क्षमता दोब्बर बनाउँदै एसआर फुड्स, खुद्रा बजारलाई लक्षित गरी रिटेल प्याकिङ पनि शुरु

२०७५ माघ ५

भण्डारण क्षमता दोब्बर बनाउँदै एसआर फुड्स, खुद्रा बजारलाई लक्षित गरी रिटेल प्याकिङ पनि शुरु
भण्डारण क्षमता दोब्बर बनाउँदै एसआर फुड्स, खुद्रा बजारलाई लक्षित गरी रिटेल प्याकिङ पनि शुरु


काठमाडौं । रुपन्देहीमा मुख्यालय रहेको एसआर समूह अन्तर्गतको एसआर फुड्सले गहुँ भण्डारण क्षमता दोब्बर बनाउने भएको छ।

Tata
GBIME
Nepal Life

रुपन्देहीको पडसरीमा अवस्थित उद्योग परिसरमा चार करोड रुपैयाँ लगानीमा पाँच हजार टन क्षमताको साइलो(आधुनिक भकारी) निर्माण गरेर भण्डारण क्षमता दोब्बर बनाउन लागेको हो । ‘साइलो निर्माण कार्य शुरु गरिसकेका छौँ’,एसआर समूहका प्रबन्ध निर्देशक सुरज उप्रेतीले भने,’यसले हाम्रो बजार अझै बिस्तार गर्न सहज हुनेछ।‘

विदेशबाट आयातित कच्चा पदार्थ (गहुँ) मा उद्योगको उत्पादन निर्भर हुने भएकोले कच्चा पदार्थको आपूर्तिमा हुने समस्याका कारण उत्पादनमा कुनै असर पर्न नदिन भण्डारण क्षमता दोब्बर बनाउन लागिएको उद्योग व्यवस्थापनले जानकारी दिएको छ । यो उद्योगले दुईवर्ष अघि चालीस करोड रुपैयाँ लगानीमा मैदा उद्योगमा विश्व प्रसिद्ध स्वीट्जरल्याण्डको भुलर कम्पनीको पूर्ण स्वचालित मेशिनरी‌ मैदा उद्योगमा पहिलो पटक नेपाल भित्र्याएको हो ।

उद्योगको दैनिक कूल उत्पादन क्षमता दुई सय टन रहेकोमा दैनिक १५० टन मैदा,सुजी र ५० टन पीठो उत्पादन गरिरहेको छ । ‘यो नेपालमा उपलब्ध मध्ये सबैभन्दा ठूलो उत्पादन क्षमता र आधुनिक प्रविधिको मेशिनरी हो’, एसआर समूहका प्रबन्ध निर्देशक उप्रेतीले भने । उद्योगको मेशिनरीले गहुँ प्रशोधन गरेर पीठो,मैदा, सुजी,चोकर उत्पादन गरिरहेको छ । चाउमिन र चाउचाउ उद्योग,विष्कुट उद्योगले मैदा,होटलले तन्दुरी पीठो, घरेलु उपभोक्ताले पीठो र सुजी रुचाएको उद्योग व्यवस्थापनले जानकारी दिएको छ।

खुद्रा उपभोग्य वस्तुको बजारमा व्यापार बिस्तारको लागी एक किलोदेखि दुई किलोसम्मको तौलमा समेत प्याकिङ शुरु गरेको छ। ‘खुद्रा प्याकिङको लागी समेत पूर्ण स्वचालित मेशिनरी जडान गरेर खुद्रा उपभोक्ता लक्षित तौलमा प्याकिङ शुरु गरेका छौँ,’ उप्रेतीले भने । यसअघि 'एसआर फ्रेस' ब्राण्डमा पाँच किलो र त्यसभन्दा माथिको तौलमा मात्र प्याकिङ गरिरहेको थियो । खाद्य गुणस्तरको लागी अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण 'आइएसओ २२०००-२००५' प्राप्त यो उद्योगले पतन्जली आयुर्वेदको लागी समेत पीठो उत्पादन गरिरहेको छ ।