BIZMANDU
www.bizmandu.com

शेयर बजारमा लगानीकर्ताको चहलपहल घट्यो, २ अंकले नेप्से बढ्दा छिमेक लघुबित्तको बढी कारोबार

२०७५ पुष २५


काठमाडौँ। बुधबार सामान्य उतारचढावकाबीच शेयर बजार बन्द भएको छ। बुधवार शेयर बजार मापक सूचक २.२९ अङ्कले बढेर ११७९.३६ अंकमा उक्लिएको छ। सेन्सेटिभ सूचक ०.४२ अङ्कले बढेर २५०.२६ अंकमा उक्लिएको छ।

Tata
GBIME
Nepal Life

बुधवार शेयर बजार सुरुवात देखिनै बढेको थियो। कारोबारको पहिलो दुई घण्टामा सूचक करिब ५ अङ्क बढेर ११८३ अंकमा उक्लिएको थियो। तर बजारमा वृद्धि कायम हुन सकेन र अन्तमा बजार थोरै खुम्चिएर बन्द भयो।

बजारमा धेरैजसो सूचीकृत  कम्पनीहरूले दिने लाभांश घोषणा भइसकेकोले बजार स्थिर देखिएको बजारका जानकार ज्योति दाहालले जानकारी दिए।

उनका अनुसार लगानीकर्ताले लाभांशको लागि शेयर खरिद गर्ने समय सकिएको छ। सोही कारण बजारमा सामान्य उतारचढाव देखिएको हो। धेरैजसो कम्पनीले लाभांशसँगै बुकक्लोज समेत गरिसकेका छन्।


पुस मसान्त र बुक क्लोजको समाप्तिका कारण बजारमा लगानीकर्ताको चहल पहल नहुँदा शेयर बजारमा सुस्त देखिएको दाहालको भनाई छ।

नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा १६६ कम्पनीका १५ लाख १३ हजार कित्ता शेयर कारोबार भयो। सबैभन्दा बढी छिमेक लघुबित्तको पाँच करोड ८६ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिद बिक्री भयो।

उपसूचक मिश्रित देखिएको छ। १० समूहको कारोबारमा दुई उपसूचक घटेका छन् भने आठ समूहको उपसूचक बढेका छन्। सबैभन्दा बढी विकास बैंक समूह ०.५७ प्रतिशत बढेको छ। अन्य समूह ०.१५ अङ्कले घटेको छ।

भार्गभ विकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत कमाए। हाथवे फाइनान्सका शेयरधनीले करिब चार प्रतिशत गुमाए।