BIZMANDU
www.bizmandu.com

मोरङको बुढीगंगा गाउँपालिकाले व्यवसाय कर घटाउने, व्यवसायीले गरे स्वागत


मोरङको बुढीगंगा गाउँपालिकाले व्यवसाय कर घटाउने, व्यवसायीले गरे स्वागत
मोरङको बुढीगंगा गाउँपालिकाले व्यवसाय कर घटाउने, व्यवसायीले गरे स्वागत



विराटनगर। मोरङको बुढीगंगा गाउँपालिकाले उद्योगहरूबाट लिँदै आएको व्यवसाय कर चालु आर्थिक वर्षदेखि नै घटाउने भएको छ ।

Vigo
GBIME
Tata

मोरङ व्यापार संघ  र उद्योग संगठन मोरङले बारम्बार गरेको आग्रह र दबाबको प्रतिफलका रूपमा गाउँपालिकाले व्यवसाय कर घटाउन लागेको हो ।गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीले संघ र संगठनमा आबद्ध व्यवसायीको अनुरोधलाई सम्बोधन गर्दै व्यवसाय कर घटाउन लागिएको पुष्टि गरे ।
गाउँपालिकाको राजस्व परामर्श समितिको बैठकले कुन किसिमका उद्योगलाई कति कर लगाउनुपर्ने भनी परिमार्जनसहितको सुझाव प्रस्तुत गरेको गाउँपालिकाका कार्यकारी अधिकृत विनोद न्यौपानेले बताए ।

जसअनुसार कुटीर उद्योगले तिर्नुपर्ने व्यवसाय कर वार्षिक १० हजारबाट ५ सयमा झारिएको छ ।त्यस्तै २५ एचपीभन्दा कमको मोटर राख्ने घरेलु उद्योगले तिर्नुपर्ने वार्षिक व्यवसाय करलाई २५ हजारबाट ५ हजार बनाइएको छ ।बुढीगङ्गामा यस्ता घरेलु उद्योग १७ वटा भएको गाउँपालिकाले जनाएको छ ।

साना उद्योगले तिर्नुपर्ने भनिएको व्यवसाय कर वार्षिक १ लाख रुपैयाँलाई घटाएर ५० हजार निर्धारण गरिएको छ । गाउँपालिकाले ५४ वटा साना उद्योग रहेको सूचीकृत गरेको छ ।त्यसैगरी मझौला उद्योगले तिर्नुपर्ने वार्षिक ३ लाख रुपैयाँ व्यवसाय करलाई १ लाख ६० हजारमा झारिएको छ । गाउँपालिकामा मझौला उद्योग १९ वटा रहेको जनाइएको छ ।

गाउँपालिकामा रहेका ७ वटा ठूला उद्योगले तिर्नुपर्ने भनिएको वार्षिक ५ लाख रुपैयाँलाई भने यथावत् राखिएको छ । ठूला उद्योगमा आरती स्ट्रिप्स, पायनियर वायर, प्रिमियर वायर, नेपाल लिकर्स, हुलास वायर, अल्ट्राटेक बन्धन सिमेन्ट र स्वस्तिक आयल परेका छन् ।कार्यकारी अधिकृत न्यौपानेका अनुसार राजस्व परामर्श समितिले दिएको रायलाई गाउँपालिकाको कार्यपालिकामा पारित गरिन्छ । कार्यपालिकाले पारित गरेपछि माघमा हुने गाउँसभामा पारितका लागि प्रस्ताव गरिन्छ । गाउँसभाले पारित गरेपछि मात्र आर्थिक ऐन संशोधन हुन्छ र व्यवसाय करको परिमार्जित दर लागु हुन्छ ।

आगामी गाउँसभा माघमित्र भइसक्ने उनले बताए ।यसअघि असार ७ देखि १४ गते सम्म भएको गाउँसभाले पारित गरेर लागु भएको व्यवसाय करलाई माघमा हुने अर्को गाउँसभाले परिमार्जन गर्ने भएको हो । गाउँपालिकाको निर्णयलाई मोरङका व्यवसायीले स्वागत गरेका छन् ।‘यसअघि हामीले व्यावसायिक करमा परिमार्जन गरियोस् भनेर दबाबमूलक बृहत् कार्यक्रम गरेका थियौँ’, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, ‘त्यसको असर अहिले देखिँदैछ । यो स्वागतयोग्य खबर हो । यो नजिर बनेको छ, अब अन्य ठाउँका उद्योगका कर पनि घटाइनु पर्छ ।’

‘हामीले विभिन्न फोरम, मञ्च, डेलिगेसन र अवसरमा निरन्तर अनुरोध गरेर दबाब सृजना गरिरहेका थियौँ’, मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको भनाइ थियो, ‘कर बढाएर उद्योगव्यवसाय फस्टाउँदैन भन्ने तथ्यलाई तीन तहकै सरकारले बुझ्नु आवश्यक छ ।’