BIZMANDU
www.bizmandu.com

कर्णालीबासीलाई लाइसेन्स नवीकरण गर्न नेपालगञ्ज धाउन नपर्ने, माघदेखि लाइसेन्स पनि सुर्खेतबाटै

२०७५ पुष ५


सुर्खेत। कर्णाली प्रदेशबाटै लाइसेन्स नवीकरणको सेवा प्रवाह शुरु भएको छ। बिहीवार यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले  गरेको कार्यक्रममा लाइसेन्स नवीकरणको सेवा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सुरु गरे।

Tata
GBIME

मन्त्री ज्वालाले प्रदेश अस्पताल कर्णालीका सुपरिटेन्डेन डा. डम्बर खड्काको लाइसेन्स नवीकरण गरी सेवा शुरु गरेका थिए । सुर्खेतमा रहेको यातायात सेवा कार्यालयले राजस्व संकलनको काम मात्रै गर्दै आएको थियो। कार्यालयले अबदेखि सवारी दर्ता, चालकु अनुमति पत्र नवीकरण, वितरण र ट्राएल परीक्षा गर्ने भएको छ।

लाइसेन्स नवीकरण गर्ने सेवा सुरु गरे पनि अन्य कामका लागि भने अझै केहि समय लाग्ने कार्यालयका निमित्त प्रमुख घनश्याम बोगटीले जानकारी दिए। कार्यालयमा आवश्यक जनशक्ति, विद्युतलगायत सञ्चारको व्यवस्थापनपछि सबै सेवा प्रवाह गर्ने उनले बताए।

माघ महिनासम्म चालक अनुमति–पत्र

अब कार्यालयले केही समयपछि प्रदेशको राजधानी सुर्खेतबाटै चालक अनुमति पत्र दिने भएको छ। अहिले कार्यालय भौतिक पूर्वाधार तथा आवश्यक प्रक्रिया मिलाउन थालेको कार्यालयले जनाएको छ। ‘हामीले जति सक्यो छिटो चालक अनुमति पत्र दिने गरी आवश्यक पूर्वाधारको काम गरिरहेका छौँ।’

कार्यालयका निमित्त प्रमुख बोगटीले भने, ‘माघ महिनाभित्रै लाइसेन्स लिने नेपालगञ्ज जानुपर्ने बाध्यता हटाउने प्रयासमा छौँ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले यस अघि नै सुर्खेतमा रहेको यातायात व्यवस्था सेवा कार्यालयलाई चालक अनुमति पत्रका लागि आावश्यक पूर्वाधारको व्यवस्था गर्न सुझाएको थियो।

यस अघि लाइसेन्स नवीकरणका लागि कर्णालीका नागरिक प्रदेश नं. ५ को नेपालगञ्ज यातायात व्यवस्था कार्यालयमा पुग्नुपर्ने बाध्यता थियो।