BIZMANDU
www.bizmandu.com

साढे १५ करोडको आइपिओ निष्कासन गर्ने प्रकृया थाल्यो इस्ट्रन हाइड्रोपावरले, यस्तो पायो रेटिङ

२०७५ मंसिर २४

काठमाडौं। इस्ट्रन हाइड्रोपावर कम्पनीले १५ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि क्रेडिट रेटिङ गराएको छ। इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले सबैभन्दा खराब रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ५ प्राप्त गरेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा १५ लाख ५० हजार कित्ता प्राथमिक शेयरमध्ये प्रभावित क्षेत्रका वासिन्दा लागि ६ लाख २० हजार कित्ता निष्काशन गर्नेछ। कम्पनीले ५ मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। 

क्रेडिट रेटिङ एजेन्सीका अनुसार कम्पनीको प्रतिफल दिने क्षमता एकदमै कमजोर रहेको छ। भोजपुर जिल्लामा निर्माण भैरहेको यस आयोजनाले उत्पादन गरेको विद्युत भोजपुर सब स्टेसनसम्म ल्याउनका लागि ४ किलोमिटरको प्रसारण लाइन निर्माण गर्नु पर्ने हुन्छ। 

कम्पनीले सन् २०११ मा अनुमति लिदा २.४७४ मेगावाट क्षमताको आयोजना निर्माणका लागि अनुमति पाएको थियो। पछि क्षमता बढाउने क्रममा ५ मेगावाट पुर्याएको हो। 

जलविद्युत आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६० लाख रुपैयाँ रहेको छ भने जम्मा लागत एक अर्ब १८ करोड रुपैयाँ रहेको छ। जसमा ऋणबाट ६० प्रतिशत र शेयर पूँजीबाट ४० प्रतिशत रकम जुटाउने योजना रहेको छ। 

आयोजनाको निर्माण कार्य लगभग ८५ प्रतिशत सकिएको छ। कम्पनीले सन् २०१९ जुलाइबाट व्यावसायिक उत्पादन गर्ने योजना बनाएको छ। कम्पनीले बैंकबाट आयोजना निर्माणका लागि ६३ करोड ८० लाख रुपैयाँ दिर्घकालिन ऋण लिएको छ। त्यस्तै ४२ करोड ८० लाख रुपैयाँ संस्थापकहरुबाट संकलन गरेको छ।