BIZMANDU
www.bizmandu.com

८ वर्षपछि माइक्रोसफ्टले एप्पललाई जित्यो, अमेरिकी शेयर बजारमा केही बेरकालागि बन्यो टप कम्पनी

२०७५ मंसिर ९


अमेरिकी शेयर बजारमा केही समयकोलागि भएपनि माइक्रोसफ्टले एप्पललाई उछिन्दै ८ वर्षमा पहिलोपटक नम्बर एक बनेको छ।
शुक्रबार शेयर बजारमा केही क्षण माइक्रोसफ्टको बजार मूल्य एप्पलको भन्दा बढी भयो।

Tata
GBIME
Nepal Life

सन् २०१० देखि माइक्रोसफ्टलाई पछि पार्दै आएको एप्पलले अमेरिकी बजारमा केही क्षणको लागि भएपनि दोस्रो नम्बरमा ओर्लिनुपर्यो।
शुक्रबार अमेरिकाको शेयर बजार नास्दाकमा माइक्रोसफ्टको मार्केट क्याप ७५३.३ अर्ब डलर रहेको थियो।

त्यसबेला एप्पलको मार्केट क्याप घटेर ७४६.८ अर्ब डलर पुगेको थियो। यही समय एप्पल ८ वर्षमा पहिलोपटक दोस्रो नम्बरमा झरेको हो।

तर केही बेरको कारोबारपछि एप्पलले फेरि आफ्नो अवस्था मजबुत बनाउँदै पहिलो स्थान हासिल गर्यो। नास्दाकको वेवसाइटका अनुसार शुक्रबारको कारोबार सकिँदासम्म एप्पलको मार्केट क्याप ८१७.५८ अर्ब डलर पुगेको थियो।

माइक्रोसफ्टले बृद्धि हासिल गरेपनि एप्पलको बृद्धि बढि भएपछि  फेरि दोस्रो नम्बरमा झर्न पुगेको थियो।

गत अगस्टमा अमेरिकाकै पहिलो १ हजार अर्ब डलर पुँजी भएको कम्पनी बनेको एप्पलले त्यही स्थानमा टिकिरहन भने सकेन। आइफोनको बिक्रीमा अनुमानभन्दा तल भएकै कारण एप्पलको बजार घटेको छ।

कम्पनीका आपूर्तिकर्ताले आफ्नो लागत तथा कामदारमा कटौती गरिरहेको बताइएको छ। शेयरबजारमा अमेजन ७३६.६ अर्ब डलरका साथ तेस्रो नम्बरमा तथा गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट ७२५.५ अर्ब डलरकासाथ चौथो नम्बरमा रहेको छ।

आफ्नो क्लाउड, गेमिङ तथा सरफेस ल्यापटप पोर्टफोलियोको कारोबारमा बृद्धि भएपछि माइक्रोसफ्टले आर्थिक वर्ष २०१९ को पहिलो त्रैमासिकमा २९.१ अर्ब डलरको राजस्व तथा .८ अर्ब डलरको मुनाफा आर्जन गरेको थियो। कम्पनीको राजस्वमा १९ प्रतिशत तथा मुनाफामा ३४ प्रतिशतले बृद्धि भएको थियो।