BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री खतिवडाको बजेट विरुद्ध कपडा व्यवसायी, भ्याट सुविधा माग्दै अढार्इ सय उद्योग बन्द

२०७५ मंसिर १

अर्थमन्त्री खतिवडाको बजेट विरुद्ध कपडा व्यवसायी, भ्याट सुविधा माग्दै अढार्इ सय उद्योग बन्द
अर्थमन्त्री खतिवडाको बजेट विरुद्ध कपडा व्यवसायी, भ्याट सुविधा माग्दै अढार्इ सय उद्योग बन्द


वीरगंज। भ्याट फिर्ताको सुविधा कायम राख्न माग गर्दै कपडा उत्पादक संघले देशभरका कपडा उद्योग बन्दको घोषणा गरेका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट ल्याएको पाँच महिनापछि कपडा उद्योगीले हड्तालको घोषणा गरेका हुन्।

Tata
GBIME
Nepal Life

भ्याट फिर्ताको सुविधा बजेटबाट हट्ने वित्तिकै उद्योगीले अर्थमन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए। त्यो ज्ञापनपत्रपछि अर्थले अध्ययन समिति पनि बनायो तर त्यो समितिले दिएको सुझाब कार्यान्वयन नगरेपछि उद्योगीले उद्योग बन्दको घोषणा गरेका हुन्।संघको आब्हानमा शनिबारदेखि एक साताका लागि देशभरका कपडा उद्योग बन्दको घोषणा गरेका हुन्। संघको निर्णयपछि देशभरका दुर्इ सय ५० उद्योग बन्द भएका छन्। संघका अनुसार उद्योग बन्द हुँदा ६० हजार मजदुर प्रत्यक्ष प्रभावित भएका छन्।
 

संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भ्याट सुविधा फिर्ता हटाएपछि स्वदेशी उद्योग संचालननै हुननसक्ने अवस्था आएपछि उद्योग बन्दको निर्णय भएको जानकारी दिए। चालु आर्थिक वर्षको बजेटबाट मोबाइल, खानेतेल र कपडाबाट त्यस्तो सुविधा हटाएको थियो।‘सरकारले विदेशबाट आयात हुने मोबाइललार्इ जस्तै गरेर मूल्य अभिवृद्धि धेरै हुने र धेरै रोजगारी दिने कपडा उद्योगकै भ्याट फिर्ता हटाउने निर्णय गलत थियो। हामीले सुविधा हटाउनेवित्तिकै अर्थमन्त्रालयलार्इ ज्ञापन बुझाएका थियौं। त्यसपछि अर्थमन्त्रालयले समिति पनि बनायो र त्यो समितिले दिएको सुझाब अहिलेसम्म पनि कार्यान्वयन भएन’ प्रधानले भने,’सुरुमा राजस्व सचिवले भ्याट फिर्ताको विकल्पमा अनुदान दिन तयार हुनुहुन्थ्यो। तर अहिले त्यो सुविधा दिन डराउनुभएको छ।’

कपडा उद्योग बन्द गर्ने निर्णयले स्पिनिङ मिल्स समेत प्रभावित हुनेछ। नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले कपडा उद्योग बन्द हुँदा धागो उद्योग पनि संकटमा पर्ने बताए।‘केही दिन बन्द हुँदा खासै फरक नपर्ला। तर यो बढ्दै गयो भने हामी पनि संकटमा पर्छौ’ उनले बिजमाण्डूसँग भने,’सरकारले कपडा उद्योगको समस्या तत्काल समाधान गर्नुपर्छ होइन भने हामी पनि संकटमा पर्छौं।’
 
कपडा उत्पादक संघका सदस्य तथा नोबेल टेक्सटाइल्स परवानीपुरका प्रबन्ध निर्देशक रमेश गाडिया संघको निर्णय अनुसार उद्योग बन्द गरिसकेको जानकारी दिए। उनले सरकारले स्वदेशी उद्योगलार्इ संरक्षणको साटो रुग्ण बनाउन लागेको बताए। वीरगंज–पथलैया औद्योगिक कोरिडोरको
शंकर,सुजुकी,पाना,रिलायन्स,पशुपति,त्रिवेणीलगायत दुई दर्जन उद्योग बन्द भएका छन् ।उनले नेपालका करिब अढाई सय उद्योग मध्येमा
विराटनगर,वीरगंज,भैरहवा,काठमाडौं,नेपालगंजलगायत क्षेत्रको ९० प्रतिशत उद्योग बन्द भइसकेको र केही बाँकी उद्योग पनि बन्द हुने क्रममा रहेको बताए। कपडा उद्योगमा २० अर्ब भन्दा बढी लगानी छ।