Bizmandu
www.bizmandu.com

अदितीको अर्जुन दृष्टि: आफूभन्दा जेठो ब्राण्ड ‘प्यारागन’ हुर्काउँदै, घरब्यवहार छिचोलेर ब्यापार

अदितीको अर्जुन दृष्टि: आफूभन्दा जेठो ब्राण्ड ‘प्यारागन’ हुर्काउँदै, घरब्यवहार छिचोलेर ब्यापार


काठमाडौं। सन् १९७५ मा भारतको केरलामा जुत्ता चप्पल बनाउने सानो उद्योग खुल्यो। रबरका जुत्ता चप्पल मात्र बनाउने उद्योगले तिनताका दैनिक १५ सय जोर जुत्ता उत्पादन गर्थ्यो। 

केरलाको हावापानी सुहाउँदो रबरका जुत्ता चप्पलहरु बिस्तारै त्यहाँका मानिसको ‘मनपसन्द’ बन्न थाल्यो। उत्पादनको एक दशक नबित्दै त्यस ब्राण्डले केरला छिचोलेर भारतका अरु राज्यहरुमा पनि आफूलाई प्रिय बनाइसकेको थियो। 
Sipradi
Sanima Bank
Riddisiddi Cement


त्यहि ब्राण्ड ‘प्यारागन’ ले अचेल भारतबाहिर पनि राम्रो पकड जमाएको छ। अहिले कम्पनीले रबरका जुत्ताचप्पल मात्र होइन सबै किसिमका फुटवेयर उत्पादन गर्छ। रिसाइकल पेपरबाट जुत्ताको बक्स बनाएर बितरण गर्नु  प्यारागनको अर्को विशेषता हो।  

हाल प्यारागन ग्रुप अफ इन्ड्रस्ट्रिज अन्तर्गतको यस ब्राण्डको दैनिक रुपमा ४ लाख जुत्ता चप्पल त केरलाको उद्योगमबाट मात्रै उत्पादन हुन्छ। बैंगलोर, सलेम र हैदराबादका अरु तीन उद्योगबाट पनि यसको उत्पादन र बितरण निरन्तर छ। 

बार्षिक १४ करोड जोर जुत्ताको ब्यापार गर्दै आएको कम्पनीले भर्खरै हो नेपालमा हाँगा फिजाएको। खुला सीमा क्षेत्रका कारण अन्य माध्यमबाट नेपालमा पनि धेरै पहिलेदेखि भित्रिदैँ आएको प्यारागनले औपचारिक रुपमा प्रवेश पाएको भने डेढ वर्षजति भएको छ। र ४३ वर्ष पुरानो भारतीय ब्राण्ड प्यारागनलाई नेपालमा स्थापित गर्न लागिपरेकी छिन् अदिती हिरावत। 



कमलपोखरीस्थित प्रिन्सा इम्पेक्सकी म्यानेजिङ डाइरेक्टर अदिती नजन्मिँदै हो प्यारागन ब्राण्ड जन्मिएको। अहिले उनी आफूभन्दा जेठो ब्राण्डलाई नेपालमा हुर्काउन खटिएकी छिन्। ६ जनाको मार्केटिङ टिम र २५ जना कर्मचारी लिएर अदिती प्यारागनलाई स्वदेशी ब्राण्डसँग प्रतिस्पर्धामा कसरी उतार्ने भन्दै घोत्लिरहन्छिन्। 

डेढ वर्ष भयो अदितीको प्रिन्सा इम्पेक्सले प्यारागनलाई नेपाल भित्र्याउने स्वीकृति पाएको। तर बिभिन्न प्रक्रिया पूरा गर्दागर्दै काम सुरु गर्न भने केही ढिला भएको उनले बताइन्। ८ महिनादेखि मात्र फिल्डमा उत्रिएकी अदितीको आफ्नै लागि पनि परीक्षा हो यो प्रोजेक्ट। किनभने बिवाहपछि बिशुद्ध हाउसवाइफको भूमिकामा रहेकी अदिती दुई बच्चा हुर्काएर अहिले मात्रै ब्यापारको दुनियाँमा पसेकी हुन्। 
*** 
काठमाडौंकै ब्यापारिक घरानामा जन्मिएकी अदिती पढ्नलाई भारतको मसुरी पुगिन्। मसुरी इन्टरनेशनल स्कुलबाट स्कुल लेभल सकेर नेपाल फर्केपछि प्लस टु पढ्न चोभारको मोर्डन इन्डियन स्कुल पुगेकै दिन थाहै नपाइ कोही उनको जीवनमा आइसकेका थिए।   

उनीसँगै एघारमा भर्ना हुनेमा एक थिए मनिन्द्र हिरावत। उमेरको आकर्षण वा भाग्यको खेल अदिती मनिन्द्रतिर तानिदैँ गइन्। अदिती जोग्राफी पढ्थिन्। मनिन्द्र कम्प्युटर। सेक्सन फरक परेपनि उनीहरुको मन मिलिसकेको थियो। 

थाहै नपाइ प्लस टु सकियो। मनिन्द्र थप पढाइका लागि पुने उडे, अदिती दिल्ली। दिल्लीको श्रीराम कलेजबाट साइकोलोजीमा ब्याचलर सकेर नेपाल फर्किदा घरमा बिहेका लागि धेरै प्रस्ताव आउन थालिसकेका रहेछन्। पुनेमा पढिरहेका मनिन्द्रसँगको प्रेम उस्तै थियो। 



अदितीले आमालाई आफ्नो प्रेमबारे सुनाइन्। आमाले बुवा शशिकान्त अग्रवालसमक्ष कुरा पुर्याएपछि दुबै परिवारको सहमतिमा २२ वर्षको उमेरमा अदिती र उही उमेरका मनिन्द्र जीवनसाथी बने। कच्चा उमेरमै ‘साथी’ बाट सुरु भएको उनीहरुको सम्बन्ध ५ वर्षको अफेयरपछि सँधैका लागि पक्का भयो। 
***
बिहे गरे लगत्तै उनी जुन घरमा गइन् त्यहाँ सासु पहिलेदेखि नै आफ्नै ब्यापारिक ब्राण्ड अभिनन्दनमा काम गर्थिन्। श्रीमानका बुवा, आमा र भाइ सबै ब्यवसायमै संलग्न थिए। अदिती भने बिहेपछि घरभित्रै रहिन्। ब्यापारिक घरानाकै छोरी अदितीलाई बिहेपछिको समय घरमा बिताउँदा अत्यास लागेन रे! उनकै शब्दमा भन्दा ‘त्यसबेला त उनी मनपरेको मान्छेसँगको नयाँ जीवन इन्जोय गरिरहेकी थिइन्।’ 

पढाइ लगत्तै बिहे र बिहेका केही वर्षहरु पारिवारिक जिम्मेवारी सम्हाल्ने समझदारीमा घरभित्रै बित्यो।  त्यहि बीचमा दुई बच्चाहरु भए। ९ वर्षका छोरा र ७ वर्षकी छोरीको लागि अहिले पनि अदितीको रुटिनमा प्रशस्तै समय छुट्याइएको छ। 

उनी भन्छिन्- ‘बुवा र आमा दुबै कामकाजी भए आमाले नै बच्चाको लागि धेरै सोच्नै पर्छ।’ आधा समय काम र आधा समय बच्चाका लागि बाँडेकी अदिती कहिले बच्चा घर पुग्नुअघि घर पुगिसक्छिन् त कहिले बच्चालाई स्कुलको गेटमा कुरिरहन्छिन्। ब्यावसायिक महिला भएर घरबाहिर निस्केपछि ब्यक्तिगत रुपमा आफूलाई निकै फाइदा भएको र आफ्नो ‘पर्सनालिटी ग्रुम’ भैरहेको जस्तो लागेको छ अदितीलाई। 



बिहानको नास्तापछि बच्चाहरु स्कुल जान्छन्। घरका ठूला सबै काममा निस्कन्छन्।  साढे दश बजेदेखि साढे सात बजेसम्म बिजनेसमै बिताउने सासुले कहिल्यै उनलाई घरेलु बुहारी बन्नुपर्छ भनिनन् रे। ‘फुलटाइम वर्किङ’ सासुमाले ब्यवसायमा लाग्न धेरै प्रोत्साहन गर्ने उनले बताइन्। 
***
अदितीलाई ब्यवसायमा पूरै लागेपछि महसुस भएको पहिलो सत्य के हो भने ‘पैसा कमाउन सजिलो छैन।’ अनि दोस्रो सत्य ‘जब परिवारमा अभिभावकले गरेको मेहनत बच्चाले देख्छन् उनीहरुले पनि पैसाको महत्व बुझ्छन्।’ 

अचेल अदिती पनि बच्चाहरुले केहि डिमान्ड गर्दा ‘भ्यालु फर मनि’ बुझाउन थालेकी छिन् रे। बच्चाहरुले पनि बुझ्छन् आमा काम गर्छिन् घरमा सबैले मेहनत गर्छन्, त्यसैले पैसा कमाउन दू:ख गर्नुपर्छ। त्यसैले बच्चाहरुले अनावश्यक डिमान्ड पनि गर्दैनन्। 

उनलाई ब्यापार सुरु गर्दादेखि नै श्रीमान मनिन्द्रले सहयोग गरे। अदितीलाई ब्यवसायमा कसरी अघि बढाउने भन्ने आइडिया त मनिन्द्रकै थियो। उनी भन्छिन्- ‘श्रीमान नै मेरा मेन्टर हुन्। पहिले पनि श्रीमानको पछि लागेर ब्यापारको तरिका सिक्ने गर्थे। जिम्मेवारी काँधमा राखिदिएपछि अझ गम्भीर भइने रहेछ।’ अचेल पनि काममा केही समस्या भैहाल्यो भने अदिती तुरुन्त श्रीमानसँग सल्लाह गरिहाल्छिन्। बिवाहपछि पनि श्रीमानभन्दा बढी साथीकै भूमिकामा छन् रे मनिन्द्र। 



घरभित्र र घर बाहिरको संसार फरक हो भन्छिन् अदिती। घर बाहिरको विश्व अर्कै छ। जब कुनै निश्चित लक्ष्य र उद्देश्यका साथ घरबाट कोही बाहिर निस्कन्छ भने उसले हरेक पाइलामा नयाँ र फरक चिजहरुसँग सामना गर्छ। हो अहिले अदिती ठ्याक्कै त्यस्तै फरक अनुभव गरिरहेको बताउँछिन्। 
***
प्यारागन  नेपाल भित्रिएको छोटो समयमै तीन वटा आउटलेट बिस्तार भैसकेको छ। भाटभटेनीका ६ वटा आउटलेटमा प्यारागनका जुत्ता चप्पल जान थालेको छ। बितरकहरु बढ्दैछन्। रिटेल मार्केटले देखाएको आशाबाट अदिती खुशी छिन्। उनको योजना धेरै छ। अझै कम्पनीका रिटेलर बिस्तार गर्नुछ। डिलरलाई देशैभर पुर्याउने बारे पनि उनी सोचिरहेकी छिन्। 

प्यारागनले अहिले बुटवलमा डिलर राखिसकेको छ। रिटेलरहरुले दिएको प्रतिक्रियाबाट पनि उनी सन्तुष्ट छिन्। भन्छिन्- ‘प्यारागन निकै पुरानो ब्राण्ड भएकाले बजारमा नौलो  मानेनन् त्यहि मेरो प्लस प्वाइन्ट हो। यसको ब्राण्ड भ्यालु छ। त्यसैले स्थानीय बजारका सस्ता ब्राण्ड भनिएका गोल्डस्टार र म्याजिकजस्ता लोकल ब्राण्डसँग प्रतिस्पर्धामा जान पनि  हामीलाई सजिलो भयो।’ 



अचेल नेपाली ब्राण्डका जुत्ता चप्पलहरु पनि सस्ता र राम्रा छन्। तर प्यारागन ब्राण्डको गुणस्तर र सस्तो रेन्ज भएकाले बजारमा टिक्न गाह्रो नहुने उनलाई लागेको छ। प्यारागनका जुत्ता चप्पलहरु ६ सयदेखि लिएर अधिकतम २५ सय रुपैयाँ रेन्जका मात्र भएको उनले बताइन्।  

प्यारागनमा बच्चा, महिला र पुरुष सबैका लागि भेराइटी छ। स्कुलका जुत्तादेखि गम बुट र इन्ड्रस्ट्रियल बुटले पनि बजारमा राम्रो रेस्पोन्स पाइरहेको उनले बताइन्। ‘प्रोडक्ट ड्युरेबल छ, सस्तो छ र डिजाइन पनि लेटेस्ट आइरहन्छ यसैले बजारमा टिक्न सकिन्छ’- ब्राण्डप्रति अदितीको आत्मविश्वास झल्किन्छ। 

अदितीले मनको उकुसमुकुस सुनाइन्- ‘पहिले म निकै रिल्याक्स्ड पर्सन थिए। तर अब भने हरबखत यो प्रोजेक्टलाई कसरी राम्रो बनाउँ भन्ने मात्रै सोच्न थालेकी छु। यसलाई सफल बनाएपछि मात्रै अरु के गर्ने भन्ने बारेमा सोच्नुपर्ला!’- प्यारागनको बिस्तार नै अदितीको अर्जुनदृष्टि बनेको छ अनि अदितीको करियरको परीक्षा पनि यसकै सफलतासँग जोडिएको छ।