BIZMANDU
www.bizmandu.com

अब ‘स्मार्ट लाइसेन्स’ छाप्ने जिम्मा निजी कम्पनीलाई, ४५ दिनमा ५ लाख छाप्न मालिकाको ट्रायल सुरु

२०७५ कात्तिक ६


काठमाडौँ। सवारी चालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को वितरण सहज बनाउन निजी कम्पनीले पनि लाइसेन्स छाप्न सुरु गरेका छन्।

Tata
GBIME
Nepal Life

यातायात व्यवस्था विभागले मात्र छाप्दै आएको लाइसेन्स माग अनुसार वितरण गर्न नसकेपछि निजी कम्पनीलाई पनि छाप्ने अनुमति दिइएको हो।

मन्त्रिपरिषद्को निर्णय अनुसार मालिका इन्कर्पोरेट प्रालिले छपाई अनुमति पाएको हो। कम्पनीले ४/५ दिनदेखि परीक्षणका रुपमा छापिरहेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

प्रवक्ता उपाध्यायले भने, 'केही दिनदेखि मालिकाले स्मार्ट लाइसेन्स छापिरहेको छ। अहिले छापिएका कार्ड ट्रायल भर्सनमात्र हुन्। कुनै त्रुटी हुन्छ कि हुँदैन परीक्षण भइरहेको छ।'

मालिकाले २० वटा प्रिन्टरबाट दैनिक ४ देखि ५ हजार कार्ड छापिरहेको छ। कम्पनीलाई ४५ दिनभित्र ५ लाख स्मार्ट लाइसेन्स छाप्ने अनुमति दिइएको छ। कम्पनीले पाँच लाख कार्ड छापिसकेपछि लाइसेन्स वितरणमा सहज हुने प्रवक्ता उपाध्यायले बताए।

मालिकाले औपचारिक रुपमा छपाई सुरु गरेको दिनदेखि ४५ दिनसम्म पाँच लाख कार्ड छाप्नु पर्नेछ।

अहिले विभागले आफैँ पनि लाइसेन्सको छपाई गरिरहेको छ। मद्रास सेक्युरिटी सर्भिससँग सम्झौता भई कार्ड छाप्ने सुरु गरे पनि प्राविधिक कारणले कार्ड वितरणमा सेवाग्राहीले समस्या भोग्दै आएका छन्। विभागले अहिले पनि दैनिक २ हजारदेखि २५ सयसम्म कार्ड छाप्ने गरेको प्रवक्ता उपाध्यायले बताए।

उपाध्यायले भने,' निजी कम्पनीसँगै हामीले पनि कार्ड छापिरहेका छौँ। दैनिक २ हजारदेखि २५ सयको हाराहारीमा कार्ड छपाई भइरहेको छ।'

अहिले नवीकरण र नयाँका लागि निवेदन दिएका सेवाग्राहीले डेढ वर्षदेखि लाइसेन्स नपाएको गुनासो गर्दै आएको छन्। कामलाई छिटो छरितो बनाउन दैनिक ८ हजार स्मार्ट लाइसेन्स छाप्ने प्रिन्टर ल्याउनका लागि ग्लोबल ट्रेन्डर आह्वान समेत गरिएको छ। विभागले ल्याउन लागेको प्रिन्टरले प्रति घण्टा ४ सय ५० वटा स्मार्ट लाइसेन्स छाप्न सक्छ।

प्रवक्ता उपाध्यायले भने,' टेन्डर आह्वान गरेको एक महिना भइसकेको छ। लगभग दुई महिना भित्रमा विभागले दैनिक ८ हजार कार्ड छाप्ने प्रिन्टर ल्याउँछ। त्यसपछि धेरै समस्या समाधान हुने आशा छ।'

देशभर २३ लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जारी गरिएको छ। सरकारले सबै हस्तलिखित अनुमतिपत्रलाई स्मार्ट कार्डमा परिवर्तन गर्ने बताउँदै आएको छ।