काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) को समस्या संबोधन गरिदिएपछि बाणिज्य बैंकहरु साधारणसभाको स्वी्कृति लिन राष्ट्र बैंक पुगेका छन्।
विगतमा दसैंअघि नै आधा दर्जन बैंकले साधारणसभा सक्दै आएका थिए। यसपाली एनएनआरएसका कारण बैंकहरु साधारणसभा गर्न सकिरहेका थिएनन्। आइक्यानले एनएफआरएसमा लाभांस घोषणा गर्ने बाटो खोलिदिएको छ।
खासगरी नोक्सानी व्यवस्थापनसँग सम्बन्धि बिषयमा बैंकहरु अप्ठेरोमा परेका थिए। राष्ट्र बैंकको नीति अनुसार नोक्सानी व्यवस्थापन गर्दा बढी रकम देखाउनु पर्छ। तर एनएफआरएस अनुसार कम देखिन्छ। यसो हुँदा नाफा उच्च हुन्छ।
त्यसैले कुन नाफामा लाभांस बाँड्ने र सरकारलाई कर तिर्ने विषयमा अन्यौंल थियो। त्यही अन्यौंललाई आइक्यानले संवोधन गरिदिएको थियो।
आइक्यानले बाटो खोलिदिएपछि एक दर्जन बैंक बार्षिक प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइसकेका छन्। सानिमा, एभरेष्ट, सिटिजन्स, एनआइसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांस प्रस्ताव गर्दै विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा फाइल पठाएका हुन्। 'करिव एक दर्जन बैंकले एजिएम स्वीकृतिका लागि फाइल पठाएका छन्' राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले भने।
दसैंअघि केही विकास बैंक, लघुवित्त वित्तीय संस्थाले मात्र साधारणसभा गरेका थिए। उनीहरुले एनएफआरएस अनुसार हिसाव देखाउनु पर्दैन।
'अहिले एजिएम स्वीकृतिको लागि बैंकहरुको लाम लागेको छ' विभागका एक अधिकारीले भने, 'हामी दसैं बिदा सकिएकाले सबैको धमाधम हेरिरहेका छौं।' उनका अनुसार, राष्ट्र बैंकको लागि पनि एनएफआरएस नयाँ भएकाले केही वढि समय लागेको छ।
'बिदाबाट कर्मचारीहरु फर्किएका छन्। एनएफआरएसमा अभ्यस्त कोही पनि छैनन्। केही अन्यौल छ' ती अधिकारीले भने, 'तिहारअघिसम्म हामी आधा दर्जनभन्दा बढिलाई साधारणसभा गर्न स्वीकृति दिइसक्छौं। सकेसम्म चाँडो फाइल सक्ने योजना छ।'
बैंकर्स संघले नेपाल राष्ट्र बैंक हुँदै आइक्यानलाई सात बुँदे समस्या राखेका थिए। त्यही अनुसार आइक्यानले समस्या समाधान गरिदिएको थियो। नेपालमा वित्तीय प्रतिवेदनको ढाँचा आइक्यानले तयार पार्छ। त्यसैका आधारमा सबैले हरहिसाब तयार पार्नुपर्छ।