BIZMANDU
www.bizmandu.com

तनहुँ हाइड्रोले सुरु गर्यो तल्लो सेतीको अध्ययन, १०४ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको तयारी

२०७५ असोज २५

तनहुँ हाइड्रोले सुरु गर्यो तल्लो सेतीको अध्ययन, १०४ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको तयारी
तनहुँ हाइड्रोले सुरु गर्यो तल्लो सेतीको अध्ययन, १०४ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको तयारी


दमौली । एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ । 

Tata
GBIME
Nepal Life

आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्नका लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको हो । आयोजनाको डिपिआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेका थिए । त्यसमध्ये एउटा अमेरिका, तीन युरोप र दुई एशियाको कम्पनी विस्तृत अध्ययनका लागि पूर्वछनोट भएका छन् । 

प्राविधिक र आर्थिक प्रस्तावका आधारमा एउटा कम्पनी छनोट गरिने हाइड्रोपावरले जनाएको छ । काम शुरु भएको २० महीनामा विस्तृत सम्भाव्यता अध्ययन तयार पारिने कम्पनीका साइट इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिनुभयो । 

डिपिआर तयार गर्न एशियाली विकास बैंक (एडिबी) ले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । डिपिआरका लागि छनोट हुने कम्पनीले आयोजनाको ठेक्का कागजात र विस्तृत इञ्जिनीयरिङ तयार गर्नुपर्नेछ । बाइस करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना अर्धजलाशय हो । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यसअघि नै आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । कम्पनीले शुरुमा ९२ मेगावाट क्षमतामा अध्ययन गर्न विद्युत् विकास विभागबाट अनुमतिपत्र लिए पनि सम्भाव्यता अध्ययनले क्षमता बढ्ने देखाएको हो । तनहुँ जलविद्युत् आयोजना (एक सय चालीस मेगावाट) को विद्युत्गृह हुँदै टेलरेस (पानी निकास सुरुङ) बाट निस्केको पानी उपयोग गरी आयोजना निर्माण हुनेछ । तनहुँ जलविद्युत् आयोजना (माथिल्लो सेती) को लागत महँगो भएकाले क्यासकेडका रूपमा तल्लो सेती निर्माण गरेर लागत अनुपात मिलाउन खोजिएको छ । 

कम्पनीका अनुसार आयोजनाको रिटर्न अन इक्विटी (स्वपूँजीमा गरिएको लगानीको प्रतिफल) करीब २० प्रतिशत हुनेछ । यसो हुँदा माथिल्लो सेतीको महँगो लागतसमेत यसले समेट्ने जिकिर गरिएको छ । कम्पनीले आयोजनामा स्थानीयवासीका लागि पनि शेयर लगानीको अवसर दिने भएको छ ।