काठमाडौं।चालु आर्थिक बर्ष लागेयता वाणिज्य बैंकहरूको शेयरमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ।
गएको तीन महिनामा वाणिज्य बैंकहरूको शेयरमा लगानीकर्ताको आकर्षण १६९ प्रतिशतले बढेको छ।
गत साउन लागेयता वाणिज्य बैंकहरूको मात्रै लगानीकर्ताले गरेको शेयर कारोबार रकमको आधारमा यस्तो देखिएको हो।
कारोबार रकमसँगै वाणिज्य बैंकहरूको उपसूचक समेत बढेको छ। गत साउनको तुलनामा वाणिज्य बैंकहरूको कारोबार मापन गर्ने उपसूचक असोजको अन्त्यमा ८१.५६ अंकले बढिसकेको छ।
गत साउन यताको कारोबारमा लगानीकर्ताले वाणिज्य बैंकहरूको शेयर खरिद बिक्री क्रमिक रूपमा बढाउँदै लगेका छन्।
साउन भरिमा लगानीकर्ताले दुई अर्ब ६ करोड रुपैयाँ बराबरको वाणिज्य बैंकहरूको मात्रै शेयर खरिद बिक्री गरेको नेप्सेको तथ्याङ्कले देखाएको छ।
साउनमा २३ दिन शेयर कारोबार भएको थियो। नेप्सेको तथ्याङ्क अनुसार भदौमा २० दिन नेप्सेको कारोबार कक्षमा शेयर कारोबार भएको थियो। भदौ महिनाभरि लगानीकर्ताले चार अर्ब २६ करोड रुपैयाँ बराबरको वाणिज्य बैंकहरूको मात्रै शेयर कारोबार गरे। यो साउन महिनाको तुलनामा १०६ प्रतिशत बढी हो।
यसैगरी असोज महिनाभरी नेप्सेमा १९ दिन शेयर कारोबार भयो। उक्त दिनमा लगानीकर्ताले वाणिज्य बैंकको मात्रै पाँच अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री गरे। जुन साउन महिनामा भएको कारोबारको तुलनामा १६९ प्रतिशत बढी हो।
वाणिज्य बैंकहरुको शेयर सस्तो भएको कारण लगानीकर्ताको आकर्षण बढेको ब्रोकर कार्यालयमा भेटिएका लगानीकर्ताहरूले बताएका छन्।
"मूल्य सस्तो भएकाले लगानीकर्ता आकर्षित भएका हुन्" लगानीकर्ता महेश दाहालले भने। यसैगरि लगानीकर्तालाई लाभांशले समेत आकर्षित गर्न थालेको छ। “दशै लगत्तै वाणिज्य बैकहरुको लाभांश घोषणा हुन्छ। उक्त लाभांश खान लगानीकर्ताले वाणिज्य बैकहरुको शेयर खरिद गरेका हुन् "दाहालले भने।
लगानीकर्ताले शेयरको मूल्यसँगै ब्याजदर र लाभांशबाट प्राप्त हुने रकमको समेत हिसाब किताब गर्न थालेको बजारमा भेटिएका अर्का लगानीकर्ता विकास चाम्लिङ राईले बताए।
राई भन्छन्- ‘सामान्य बचतमा बैंकले ५ देखि सात प्रतिशत मात्रै ब्याज दिन्छन्। जबकि वाणिज्य बैंक समूहका धेरैजसो बैंकले यस वर्ष कम्तीमा १५ प्रतिशत लाभांश दिन सक्ने उनीहरूको चौमासिक रिपोर्टले देखाएको छ।यसले गर्दा लगानीकर्ताले वाणिज्य बैंकहरूले दिने लाभांशले नै व्याज तिर्न सकिने र मूल्य बढेका थप आम्दानी हुने भन्दै उक्त समूहमा लगानी बढाएका हुन्।’
छोटो समयको नाफा बुक गर्न लगानीकर्ताले उक्त समूको शेयरमा लगानी गरेको अर्का लगानीकर्ता मदन पन्तको विश्लेषण छ। एक वर्ष अघि लगानी गर्ने लगानीकर्ताले पाउने लाभांश र एक महिना अगाडि लगानीगर्ने लगानीकर्ताले पाउने लाभांशमा कुनै भिन्नता हुँदैन।
सोही कारण लगानीकर्ताले छोटो समयमै लाभांश प्राप्त गर्न वाणिज्य बैंक समूहको शेयरमा लगानी गरेको पन्तको भनाइ छ।