BIZMANDU
www.bizmandu.com

कलेज खर्च जुटाउन सुन तस्करीमा! दोर्जेका लागि सुन बोक्दा यसरी परे सोबहादुर प्रहरी फन्दामा


काठमाडौं। 'खै त सुन तस्कर? सार्वजनिक गर्नु पर्‍यो।'

Vigo
GBIME
Tata

बुधवार महानगरीय प्रहरी परिसर काठमाडौं परिसरमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित पत्रकारको प्रश्न र आग्रह थियो यो।

सबैलाई सुन तस्कर हेर्ने हुटहुटी थियो।

परिसरले मंगलवार साँझ साढे सात बजे पाँच किलो सुनसहित पक्राउ गरेका अभियुक्तलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको थियो। प्रहरी पनि घटनाको सबै वृत्तान्त सुनाएर सुन तस्करी सार्वजनिक गर्ने तरखरमा थियो।

एकैछिनमा प्रहरी निरीक्षक सुरेन्द्र केसीले सुन तस्करलाई अर्को कोठाबाट सम्मेलन हुँदै गरेको कक्षमा ल्याए। क्यामरा उनीतिरै तेर्सिए।

सेतो र कालो मिसिएको फुल बाउला भेस्ट र खैरो प्यान्टमा देखिए एक किशोर। खुट्टामा लोतिवाला चप्पल।

'विचरा'! सुन तस्कर देख्ने बित्तिकै केहीको मुखबाट फुत्क्यो।

उमेर भर्खर १७ पार गरेका। उनी थिए रसुवा गोसाईकुण्ड थमानका सोबहादुर तामाङ। विशेष सूचनाको आधारमा परिसरको टोलीले युवक तामाङलाई मंगलवार नुवाकोटबाट सार्वजनिक सवारी चढेर बालाजु आउँदै गर्दा सुनसहित पक्राउ गरेको थियो। तामाङले कम्मरमा कपडाको पेटी बनाएर पाँच किलो सुन ल्याएका थिए।

प्रहरीले सुन तस्करीमा नियन्त्रणमा लिएका तामाङ काठमाडौं बसेर पढिरहेका रहेछन्। सामाखुसीमा रहेको एक कलेजमा कक्षा १२ मा पढाइ चलिरहेको छ। यही कलेजको सम्पूर्ण पढाई खर्च बेहोर्ने भएपछि आफू सुन तस्करीमा लागेको सोबहादुरले बताए। भने, 'मलाई कलेजको खर्च सबै तिर्दिन्छु र किलोमा पचास हजार रुपैयाँसमेत दिन्छु भनेकाले सुन ल्याएको हुँ।'

परिसरको टोलीले एक साताअघि तीन किलो सुनसहित रसुवा गोसाइकुण्ड गाउँपालिका १ घर भएका २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्वा तामाङ पक्राउ गरेको थियो। उनीहरू दुई जनालाई आफूले चिनेको सोबहादुरले बताए। उनले भने,' उनीहरूलाई पहिले नै चिनेको हुँ।'

प्रहरीसँगको बयानमा तामाङले आफूले पहिलो चोटि सुन ल्याएको बताएपनि हामीसँग भने यसअघि पनि सुन ल्याएको बताएका छन्। परिसरका एसएसपी वसन्त लामा पनि सोबहादुरले पटक पटक सुन तस्करीमा संलग्न भएको हुनुपर्ने बताउँछन्। एसएसपी लामा भन्छन्, 'पहिलो पटकमा नै तस्करले यति ठुलो परिणाममा सुन बोकाएर पठाउँदैनन्। एक दुई पटक सफल भएपछि मात्र दिएको हुनसक्ने अनुसन्धानले देखाउँछ।'

विच्याटमा तस्करीको गफ
पक्राउ परेकाहरु भरिया मात्र हुन्। मुख्य तस्कर नत सुन भरियाले चिनेका छन् नत प्रहरी नै पत्ता लगाउन सकेका छन्। सुन तस्करीहरूले संगठित रुमा  तह तह बनाएर तस्करी गर्ने गरेको प्रहरीको दाबी छ।

उनीहरूले सुन तस्करीको लागि विच्याटको प्रयोग गर्ने गर्छ। एसएसपी लामा भन्छन्,'चीनमा विच्याटको प्रयोग हुने भएकाले तस्करीमा पनि यही प्रयोग हुन्छ। सुन कसलाई दिने र कहाँबाट ल्याउने च्याटमा नै गफ हुन्छ। तर च्याटबाट केही पत्ता लाग्न सकेको छैन।'

पक्राउ परेका तामाङले सुन बौद्धमा लगेर बुझाउने योजना रहेको बताए। पहिलोपोस्टसँगको कुराकानीमा तामाङले भने,' दोर्जे भन्ने व्यक्तिलाई सुन दिनु भनेर मलाई भनिएको थियो।'

प्रहरीले तामाङलाई पक्राउ गरेपछि गोप्य रुपमा अगाडी नै योजना भएअनुसार सुन बुझाउने ठाउँमा तामाङलाई लग्यो। तर सुन लिन दोर्जे आएनन्। 'तस्करहरूलाई अघि नै आफ्नो मान्छे पक्राउ परेको थाहा भएछ। हामीले थप मानिस पक्राउ गर्न सकेनौँ।'

रसुवा नाकातिर बढे सुन तस्करी
एक सातामा मात्र प्रहरीले रसुवाको केराकेर नाका हुँदै भित्रिएको ८ केजी सुन बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करीको जालो तोडेपछि तस्करी केराकेर नाकातिर सरेको प्रहरीको दाबी छ। भूकम्पछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएकाले रसुवाबाट सुन तस्करी बढेको छ। ए

सएसपी लामा भन्छन्,'हामीले विमानस्थलको सुन तस्करीको जालो तोड्यौं। अहिले विमानस्थलबाट हुने सुन तस्करी कम भएको छ। सुन तस्करहरू केराकेर नाकामा सरेका छन्।' राजस्व अनुसन्धान विभागले प्रहरीलाई सहयोग नगर्दा सुन तस्करीका मुख्य व्यक्तिहरू पक्राउ पर्न नसकेको एसएसपी लामाको दाबी छ।