काठमाडौं।काठमाडौं-हेटौंडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग कान्ति लोकपथ यसै बर्षभित्र सक्ने लक्ष्यका साथ काम भैरहेको छ।
आयोजनाका अनुसार करिव ८० प्रतिशत काम सकिएकाले निर्माण सामाग्री तथा विष्फोटक पदार्थको अभाव नभए यसै बर्ष पूरा हुनेछ।
अहिले आयोजनाको मुख्य चुनौती का रुपमा कडा चट्टानहरु रहेको छ। विभिन्न खण्डमा गरि करिव ७ किमीमा कडा चट्टान रहेका कारण सडक विस्तार गर्न सकिएको छैन।
कडा चट्टान बिस्फोटक पदार्थ प्रयोग गरेर मात्रै फुटाउन सकिने निष्कर्ष निकाल्दै आयोजनाले २०७२ सालमै सेनासंग ५ टन विस्फोटक पदार्थ मागेको थियो।
सेनाले विस्फोटक पदार्थ दिन सकिने भन्दै स्वीकृति दिएको थियो । सोही समयमा ठेकेदारले आयोजनाको विभिन्न कडा चट्टानहरु भएका खण्डहरुमा प्वाल खोपेर विस्फोटनका लागि तयार पारेका थिए तर सेनाले विस्फोटक पदार्थ नदिएपछि अहिलेसम्म काम हुन सकेको छैन।
आयोजनाका इन्जिनियर नरेन्द्र भट्टका अनुसार उक्त ठेक्काको समय सकिएपछि ५ महिनामा सक्ने गरी नयाँ ठेक्का आव्हान गरिएको छ।
उनका अनुसार साउनमै टेण्डर निकालिएकाले यहि महिनाभित्रै मुल्याङकन सकेर ठेक्का सम्झौता हुनेछ।आयोजनका अनुसार ललितपुरको झाँक्री डाडामा २.२ र मकवानपुरको सिमातखोलापारी ४.८ किमी कडा चट्टान रहेको छ।
आयोजनाले रक्षामन्त्रीसंग समेत भेटेर ब्रिफिङ गरिसकेको छ। विष्फोटक पदार्थ उपलब्ध गराउनकालागि मन्त्री समेत सकारात्मक देखिएका छन्। नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले अहिले विष्फोटक पदार्थ बनाउनकालागि कच्चा पदार्थहरु आइरहेकाले अब उपलब्ध गराउन सकिने जानकारी दिए।उनका अनुसार अहिले पहिलेको जस्तो समस्या छैन।
करिव ६२ बर्षपहिले नेपाली सेनाले यो सडकको ट्रयाक खोलेर सरकारलार्इ हस्तान्तरण गरेको थियो।९० किलोमिटर लामो यो लोकमार्गको २० किलोमिटर सडक कालोपत्रे भैसकेको छ।
५२ किलोमिटर सडक ग्राभेलस्तरमा रहेको छ भने ७ किमी बाटो कडा चट्टान भएका कारण अत्यन्त साँघुरो रहेको छ।अहिले एकतर्फी रुपमा सवारीसाधन चलाउन सकिने आयोजनाको भनार्इ छ। बाँकी रहेको ११किमी डिभिजन सडक कार्यालय र उपत्यका सडक विस्तार आयोजना अन्तर्गत निर्माण भैरहेको छ।ललितपुरको टिकाभैरवसम्म कान्तिलोकपथले हेर्छ।
आयोजनाका इन्जिनियर भट्टका अनुसार आगामी चैतसम्म करिव ७२ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ। २० किमी अहिले नै कालोपत्रे भैसकेको छ भने ५२ किमी ग्राभेलस्तरको भएकाले त्यसमा सब र बेस राखेर कालोपत्रे गरिनेछ। केही खण्डमा सब बेस समेत राख्न सुरु भएको छ। कालोपत्रे गर्नकै लागि भनेर आयोजनाले वगुवामा असफाल्ट प्लान्ट समेत निर्माण गरेको छ।
दशैँअघि ११ वटै निर्माण व्यवसायीलार्इ पत्राचार गर्दै आयोजनाले साइट क्लियर गरेर राख्न निर्देशन दिएको छ। दशैँ लगत्तै धमाधम कामलोपत्रे थाल्ने इन्जिनियर भट्टले जानकारी दिए।
पहिरो रोक्नका लागि छ स्थानमा स्लोप स्टेवलाइजेसन
कान्ति लोकपथ अत्यन्त कठिन भुगोलमा पर्दछ। आयोजनाका अनुसार कतिपय ठाउँमा माथितिर सडक बनायो तलतिर भत्कने अवस्था छ। पहिरोका कारण समस्या उत्पन्न हुन सक्ने देखिएको छ।
उक्त कुरालार्इ मध्यनजर गर्दै आयोजनाले अति संवेदनशील त्यस्ता ठाउँहरुको पहिचान गरेर स्लोप स्टेवलार्इजेसन गरेर रोकथाम गर्ने योजना अघि सारेको छ।
इन्जिनियर भट्टका अनुसार बिज्ञ नियुक्त गरी त्यस्ता ठाउँको पहिचान गरेर रिपोर्ट समेत तयार पारिएको छ।नयाँ गाउँदेखि झाँकी डाँडा(२ सय मि.),झाँक्री डाँडा र भालुखोलाको बीचमा (२ सय मि.) वगुवादेखि शिलालेखको बीचमा दुर्इठाउँमा १.५० र अर्को एक ठाउँमा १.५० गरि करिव ७ सय मिटर स्लोप बनाउनुपर्ने संवेदनशील ठाउँ रहेको छ।
अहिले यसलार्इ अघि बढाउनका लागि अर्थ मन्त्रालयसंग छलफल भैरहेको भट्टले जानकारी दिए।
वैशाखदेखि गाडी ठूला सवारीसाध चल्ने
आयोजनाका अनुसार वैशाख अघि कान्तिलोकपथमा ठूला सवारीसाधन गुडाउन सकिनेछ। पाँच महिना कडा चट्टान फुटाउनकै लागि लाग्ने भएकाले वैशाख अघि ठूला सवारीसाधन चलाउन नसकिने इन्जिनियर भट्टले बताए। त्यसअघि दुर्इतर्फी रुपमा ठूला सवारीसाधन गुडाउन नसकिने उनको तर्क छ।
अहिले ७ किलोमिटर खण्डमा वान वे सवारी पास मात्रै हुने अवस्था रहेको छ। साना सवारीसाधन भने सहजै संचालन भैरहेका छ। मकवानपुरबाट ठिगनसम्म भने अहिले बसहरु नै संचालनमा रहेका छन्।
बिस २०१३ सालमा राजा महेन्द्रले शिलान्यास गरेपछि यो 'राजपथ' निर्माण सुरु गरिएको थियो।पछि २०६५ सालमा वैकल्पिक मार्गका रुपमा सरकारले कान्ति राजपथलार्इ 'लोकपथ' नाम दिएर अघि बढाएको हो।