BIZMANDU
www.bizmandu.com

टनेलको सबै पानी खाली गरेर यसरी मर्मत हुँदैछ नेपालकै ठूलो जलविद्युत आयोजना, ठूलो जोखिम टर्यो

२०७५ असोज ९


काठमाडौं। नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना कालीगण्डकी ‘ए’ तत्काल मर्मत नगरे जुनसुकै बेला आयोजनाको पावरहाउस नै ध्वस्त हुने भएपछि दशैं तिहारको बीच पारेर आयोजना मर्मत कार्य सुरु गरिएको छ।

Tata
GBIME
Nepal Life

आयोजनाको मर्मत समयमै सक्न उर्जा मन्त्री वर्षमान पुनले निर्देशन दिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सञ्चालक समिति सदस्यहरु चन्द्र टण्डन, चेतराज जोशी, उमेश थानी, भक्तबहादुर पुन लगायतको उच्चस्तरीय टोलीले आयोजना मर्मतको निरिक्षण गरेको छ।

आयोजनाको मेन इनलेट भल्भ र विद्युत उत्पादन गर्ने युनिट २ मा समस्या आएपछि मर्मतका लागि आयोजना असोज ७ गतेदेखि बन्द गरिएको छ। आयोजनामा सुरुङबाट आउने सबै पानी खाली गरेर भल्भ मर्मत गर्नुपर्ने भएकाले असोज ११ गतेसम्म पूर्णरुपमा बन्द गर्नुपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।


३ वटा युनिट मध्ये युनिट १ र ३ को मर्मत यस अघि २०७२ सालमा गरिसकिएकोमा युनिट २ को मर्मत गर्न बाँकी थियो। देशमा विद्युतको माग अत्याधिक भइरहेको बेला आयोजना बन्द गर्दा लोडसेडिङ गर्नुपर्ने भएपछि युनिट २ मा समस्या आउँदापनि जोखिम मोलेर आयोजना सञ्चालनमा ल्याइएको थियो। युनिट २ को मेसिनमा कुनैपनि बेला क्षति पुगेर आयोजनाको विद्युतगृहनै ध्वस्त हुने जोखिम थियो।

आयोजनामा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्तिकर्ता तोसिवाको वारेन्टी यहि असोज १४ गते सकिने भएपछि प्राधिकरणले असोज ७ गतेदेखि मर्मत सुरु गरेको हो। असोज १४ गतेभित्र मर्मत नगरे प्राधिकरणले आफ्नै खर्चमा मर्मत गर्नुपर्ने अर्को बाध्यता पनि भएपछि आयोजनाको मर्मत सुरु गरिएको हो।

हिउँदको समयमा आयोजना बन्द गरेर मर्मत गर्दा चितवन, बुटवल, पोखरा लगायत पश्चिम क्षेत्रमा दैनिक १५ घण्टा सम्म लोडसेडिङ गर्नुपर्ने थियो। अहिले वर्षातको समय भएकाले आयोजना बन्द गर्दा पनि अन्य आयोजनाको विद्युतले माग धान्न सहज हुने भएकाले आयोजना मर्मत अहिले गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

दशैं तिहारको बीचमा उद्योगहरु त्यती धेरै नचल्ने भएकाले उद्योगमा ४ घण्टा लोडसेडिङ गरेर अहिले विद्युतको माग धानिएको छ। आयोजना पूर्णरुपमा सञ्चालनमा आउन भने अझै एक महिना भन्दा बढी समय लाग्ने छ।

आयोजना बन्द हुँदा प्राधिकरणलाई दैनिक तीन करोड ५० लाख रुपैयाँ घाटा भइरहेको भन्दै, मर्मतमा संगल्गन कर्मचारीलाई एक दिन भएपनि छिटो आयोजनाको मर्मत सक्न घिसिङले निर्देशन दिएका छन्।

युनिट २ को मर्मत गर्न भने २५ दिन समय लाग्ने अनुमान गरिएको छ। मेन इन्लेट भल्भको मर्मत पछि युनिट १ र ३ बाट ९६ मेगावाट विद्युत उत्पादन सुरु हुने छ।

युनिट २ को मर्मत सकिएपछि कात्तीक ६ गते देखि १२ गते सम्म आयोजना पुनः पूर्णरुपमा बन्द गरि, १४४ मेगावाट विद्युत उत्पादन सुरु हुनेछ।