कास्की। पोखरा उद्योग वाणिज्य संघको ३२औँ अधिवेशनबाट दामु अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार अबेर घोषणा गरिएको मतपरिणामअनुसार अधिकारी प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई सात मतको अन्तरले पराजित गरेर अध्यक्षमा भएका हुन्। आगामी दुई वर्षे कार्यकालको लागि संघमा नेतृत्व लिन वाम र लोकतान्त्रिक दुई प्यानलबीच निर्वाचन भएकोमा वाम प्यानलका अधिकारीले एक हजार ४७८ मत प्राप्त गरे भने लोकतान्त्रिकका प्रजुले एक हजार ४७१ मत प्राप्त गरे । अध्यक्षमा विजयी अधिकारीले गण्डकी प्रदेशको राजधानी पोखरामा व्यावसायिक वातावरण बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
शुक्रबार र शनिबार दुई दिनसम्म चलेको अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ विजयी भएको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए।
कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, रुद्रप्रसाद लुर्इंटेल, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा, रामेश्वर अधिकारी, कृतिवल्लव त्रिपाठी र बलराम आचार्य विजयी भए। वस्तुगत सदस्यमा हरिराज पन्त, चिन्तामणि बास्तोला, तारानाथ ढुङ्गाना र श्रीप्रसाद घले विजयी बने । कर्पोरेट सदस्यमा हर्क अधिकारी र हरिहर सापकोटा तथा उद्योगतर्फको सदस्यमा सुरेशबहादुर श्रेष्ठ विजयी भए।
कूल तीन हजार ३७७ मतदाता रहेकोमा निर्वाचनमा दुई हजार ९८६ मत खसेको निर्वाचन समितिका सदस्य प्रकाश ज्ञवालीले जानकारी दिए।