BIZMANDU
www.bizmandu.com

यातायात व्यवसायीले झुकाए सरकारलाई, १०% भाडा बढ्यो, मंसिरसम्ममा फेरि बढ्ने

२०७५ असोज ७


काठमाडौँ। यातायात व्यवसायीहरुले दशैँको लागि अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार सार्वजनिक सवारी साधनको भाडा दर बढाउन बाध्य भएको छ।

Vigo
GBIME
Tata

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा सरकारले यातायात व्यवसायीहरुलाई एकमुष्ट १० प्रतिशत भाडादर बढाउन सहमत भएको बताएको हो।

इन्धनको भाउ लगातार बढिरहेको तर भाडा दर तीन वर्षदेखि एउटै रहेको भन्दै व्यवसायीहरुले कि इन्धनको भाउ घटाउनु पर्ने कि भाडा बढाउनु पर्ने अडान राख्दै अग्रिम बुकिङ सुरु गर्न मानिरहेका थिएनन्।

पछिल्लो पटक सरकारले २०७२ माघ २४ गते भाडा दर परिवर्तन गरेको थियो। त्यतिबेला पेट्रोलको भाउ प्रति लिटर ९९ रुपैयाँ र डिजेलको ७५ रुपैयाँ थियो।

मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा दर समायोजन गर्न निर्देशन दिएको छ। विभागले आइतबारबाट लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गर्नेछ।

यातायात व्यवसायीहरुसँग भएको चार बूँदे सहमतिमा अहिले बढाउने १० प्रतिशत भाडापछि पनि मंसिर २९ गतेसम्ममा पुनः अर्को पटक भाडा बढ्ने उल्लेख छ। वैज्ञानिक तवरले भाडादर समायोजन गर्न एउटा समिति बनाउने र त्यसले दुई महिनाभित्र प्रतिवेदन दिने सहमति पनि आजको वार्तामा भएको विभागका निर्देशक गोकर्ण उपाध्यायले बताए।

विभागका महानिर्देशक लावण्यकुमार ढकालले नेपालका सबै ठाउँमा बढेको भाडा लागू हुने जानकारी दिए। 'अहिलेलाई इन्धनको मूल्यवृद्धिलाई मुख्य आधार बनाएर भाडा बढाएका हौँ', उनले भने।

यातायात व्यवसायी राष्ट्रिय महासंघ दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन पनि सहमत भएको छ। तर अझै पनि उनीहरुले मिति भने तोकिसकेका छैनन्। यसपालिको घटस्थापना असोज २४ गते परेको छ।

सिन्डिकेट अन्त्य गर्ने घोषणा गर्दा सरकारले यातायात समितिहरुको रोक्का राखेको बैँक खाताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरुको भुक्तानी छिटोछरितोसँग गर्ने व्यवस्था मिलाइदिन पनि मन्त्रालयले गृह मन्त्रालयसित अनुरोध गर्ने सहमति भएको छ।