BIZMANDU
www.bizmandu.com

याङग्री र लार्के खोलाको डिपिआर एक साताभित्र फाइनल हुने, मेलम्चीको पानी कहिले राजधानी आइपुग्ला!

२०७५ असोज १


काठमाडौं। एक साताभित्रै याङग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाएर काठमाडौंमा ल्याउने आयोजनाको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)फाइनल हुने भएको छ।

Tata
GBIME

करिव एक महिना अघि नै तयार पारेर परामर्शदाता कम्पनीले डिपिआरको रिपोर्ट बुझार्इसकेको थियो।उक्त रिपोर्टमा छलफलका क्रममा एसियाली विकास बैंकका विज्ञहरुले सामान्य सुधार गर्नका लागि सुझाव दिएका थिए।

सो सुझावका आधारमा यहि साताभित्र परामर्शदाता कम्पनीले मेलम्ची खानेपानी विकास समितिलार्इ  फाइनल डिपिआर बुझाउन लागेको हो।

मेलम्ची खानेपानी विकास समितिले पहिलो चरणमा मेलम्ची खोलाको  १७ करोड लिटर पानी राजधानी ल्याउनका लागि अन्तिम चरणमा काम गरिरहेको छ।

दोस्रो चरणमा याङग्री नदिसम्म ९ किलोमिटरको सुरुङ खनेर १७ करोड लिटर  र त्यसमाथि थप २ किलोमिटरको सुरुङ खनेर लार्के  नदिबाट अर्को १७ करोड लिटर पानी मेलम्ची खोलामा मिसाएर  दैनिक ५१ करोड लिटर पानी राजधानी ल्याउन लागेको हो।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार डिपिआर अनुसार सुरुङमार्गको साइज १२.२५ मिटर स्क्वायर फिटको क्रस सेक्सन हुनेछ भने सुन्दरी जलमा उक्त दुर्इ खोलाको पानी ट्रिटमेन्ट गर्नका लागि ट्रिटमेन्ट प्लान्ट समेत बनाउनुपर्ने छ।

डिपिआर अनुसार दोस्रो चरणका लागि २५ अर्व रुपैया लाग्ने  देखिएको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा दोस्रो चरणको  आयोजनाको पनि काम अघि बढाउन लागिएको हो। तर अहिलेसम्म ऋण सहयोग सम्बन्धी कुनै सम्झौता भने भएको छैन।

एडिवीले डिपिआर,वातावरणीय प्रभाव मुल्याङकन,आयोजना स्थलसम्म पुग्ने सडक बनेपछि मात्रै ऋणको विषयमा सम्झौता गर्ने शर्त राखेको थियो।

'हामीले दिएको काम सम्पन्न गर्नका लागि कम्पनीले डिपिआर इआइए रिपोर्ट दुवै बुझाउनुपर्छ  छुट्टा छुट्टै दुर्इ चरणमा दुर्इवटा रिपोर्ट दिनेछ  अनि ऋणका विषयमा एडिवीसंग छलफल सुरु गर्छौ'पन्तले विजमाण्डुसंग भने।

स्पेनको इप्टिसा  (इप्टिसा इन एसोसिएसन विथ टिएस टिमएस जीओके )कम्पनीले डिपिआर र इआइएको काम गरिरहेको छ।

त्यसै गरी  सडक निर्माणका लागि समेत प्रक्रिया अघि बढार्इसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। थाङपालधादेखि देखि इन्दावती र याङग्रीको दोभानसम्मको सडक निर्माण गर्नका लागि टेण्डर निकालिसकेर मुल्यांकन भैरहेको पन्तले जानकारी दिए।

मेलम्चीदेखि थाङपालधापसम्मको बाटो सडक विभागले स्तरोन्नती गर्ने छ। सन् २०२१ सम्ममा याङग्री र लार्के खोलाको पानी राजधानी ल्याउने लक्ष्य  भएपनि थप केहि बर्ष लाग्ने भएको छ।

पछिल्लो संशोधित तालिका अनुसार मेलम्चीको पानी दशैँअघि नै राजधानीवासीलार्इ खुवाउने आश्वासन बाँडिएको भएपनि  सुस्त गतिमा काम भएकाले अझै एक बर्ष लाग्ने देखिएको छ।