काठमाडौं। मंगलबार शेयर बजारमा तिब्र उतारचढाव देखिएको छ। कारोबार सुरु भएदेखिनै बढ्न थालेको शेयर बजार एक घण्टा १५ मिनेटमा तीन अंकले घट्न पुगको थियो। त्यस पछि बजार सुधार हुँदै गर्दा साढे दुर्इ बजेसम्ममा १२१४.०६ अंकसम्म उकालो लागेको थियो।
बजार अधिकतम ७.९६ अंकसम्म उकालो लागेको शेयर बजारमा अन्तिममा ३.९८ अंकको सुधार सँगै १२१०.२४ अंकसम्म पुगेको छ। मंगलबार ०.३३ प्रतिशतले सुधार हुँदा ५२ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ।
हाइड्रोपावर, उत्पादन तथा प्रसोधन, माइक्रोफाइनान्स र जीवन बीमाको उपसूचक घटेका छन् भने बाँकी सूचक तथा उपसूचक उकालो लागेका छन्। बाणिज्य बैंकको कारोबारले समग्र सूचकमा नै प्रभाव पारेको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सबै भन्दा धेरै १० करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। सबै भन्दा धेरै कारोबार हुने १० कम्पनीहरुमा बाणिज्य बैंक रहेका छन्। १० वटा बाणिज्य बैंकहरुको मात्रै २८ करोड रुपैयाँको कारोबार भएको छ। यो जम्मा कारोबारकै ५५ प्रतिशत हो।
कावेली विकास बैंकका शेयरधनीले सबै भन्दा धेरै १० प्रतिशतले कमाएका छन्। कम्पनीको कारोबारमै सर्किट लागेको हो। अरुण कावेली पावरका शेयरधनीले ३.९४ प्रतिशतले गुमाएका छन्।
लगानीकर्ताहरुले अर्थमन्त्रीलार्इ भेटे सँगै बजारमा थोरै कन्फिडेन्स बढ्दा बजारमा सुधार देखिएको इन्भेष्टर फोरमका महासचिव राजन लम्सालले जानकारी दिए।
कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने समय नजिकिदै गर्दा उक्त लाभांश सुरक्षित गर्नको लागि पनि लगानीकर्ता हौसिएको लम्सालले बताए। राम्रो लाभांश दिन सक्ने कम्पनीहरुको बजार मूल्य निकै तल आएको हुँदा त्यस्ता कम्पनीमा लगानीकर्ता आकर्षित भएको उनको विश्लेषण छ।
एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षमा दुर्इ अर्ब ५५ करोड रुपैयाँसम्म नाफा गर्ने लक्ष्य बनाएको खबर बजारमा आएसँगै कम्पनीको कारोबार विगत केहि दिन देखि बढिरहेको उनले बताए।
लक्ष्मी र एभरेष्टबीच गाभ्ने गाभिने हल्ला यस अघि धेरै पटक आउँदा लगानीकर्ता मर्कामा परेको र यस पटक पनि त्यस्तै हुने हो कि भन्ने शंका पैदा भएको उनले बताए।