काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्ष ब्यापार घाटा २६.७ प्रतिशतले बिस्तार भएर ११ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
शोधनान्तर अवस्था बल्ल बल्ल बचतमा आएको छ। चालु खाता उच्च घाटामा छ। मूल्य बृद्धि दर दशककै कम अंकमा समेटिएको छ।
यही तथ्यांकहरुका आधारमा देशको समग्र अर्थतन्त्र कस्तो छ र आगामी दिन कतातिर लम्किरहेका छन् भनेर अनुमान लगाइने गरिन्छ।
राष्ट्र बैंकले 'हाइलाइट' गर्ने यस्ता आर्थिक शब्दावलीहरुलाई कसरी बुझ्ने?
ब्यापार घाटा
देशले बिक्री गर्ने र खरीद गर्ने बस्तु तथा सेवा अन्तरलाई ब्यापार घाटा वा बचत भनिन्छ। देशबाट बाहिर बिक्री गरिने (निर्यात) भन्दा किन्ने दर (आयात) उच्च भएमा त्यो ब्यापार घाटा हो।
गत आर्थिक बर्षभरीमा ८१ अर्ब १९ करोड रुपैयाँको बस्तु निर्यात भएको थियो। त्यही अवधिमा १२ खर्ब ४२ अर्ब ८३ करोड रुपैयाँको बस्तु आयात गरिएको थियो। बेच्नेभन्दा किन्ने दर उच्च हुँदा ब्यापार घाटा ११ खर्ब ६१ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
नेपाल सबैभन्दा बढि पेट्रोलियम पदार्थको आयात गर्छ। त्यसपछि सवारी साधन र पार्टपुर्जाहरुको। धान चामलदेखि तेलनुनसम्म आयात गर्छ। बेच्ने भनेको हस्तकलाका सामाग्री, तयारी पोशाकलगायत मात्र हो। देशको अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँ पुगेको छ। आयात साढे १२ खर्ब हाराहारी पुग्दा कुल अर्थतन्त्र (जिडिपी) मा आयातको हिस्सा ४१.४२ प्रतिशत पुगेको छ।
उच्च ब्यापार घाटाले देशको अर्थतन्त्र अप्ठेरोमा पर्दै गएको संकेत गर्छ। अहिले विश्वमा द्वीपक्षीय वार्ता हुँदा सरकार प्रमुखहरुले उच्च ब्यापार घाटालाई केन्द्रमा राख्ने गरेका छन्। ब्यापार घाटा उच्च हुनुले परनिर्भर्ता निक्कै बढेको जनाउँछ।
शोधनान्तर
एक देशको अन्य देशबीच हुने वित्तीय लेनद नको हिसाव नै शोधनान्तर (ब्यालेन्स अफ पेमेन्ट) हो। यसमा एक देश र बाँकी सन्सारका बीच आयात निर्यातका लागि हुने वित्तीय लेनदेन समेटिन्छ। बस्तु तथा सेवाको आयात निर्यात, वित्तीय पूँजी, वित्तीय हस्तान्तरणमा पर्छ। नेपालमा शोधनान्तर हरेक महिना मापन गरिन्छ।
ब्यापार घाटाजस्तै देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढि भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ। गत बर्ष मुस्किलले देशको शोधनान्तर बचतमा छ। गत बर्ष ९६ करोडले मात्र शोधनान्तर बचतमा छ। अघिल्लो बर्ष ८२ अर्ब ११ करोड रुपैयाँ बचतमा थियो। गत बर्ष केही महिना २४ अर्बसम्म शोधनान्तर घाटा थियो।
विदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिटेन्स ८.६ प्रतिशतले बढेर ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ भित्रिएको थियो। यसले गर्दा शोधनान्तर केही हदसम्म बचतमा रहेको हो।
चालु खाता
चालु खाता देशभित्र आउने कुल विदेशी मुद्र र वाहिरिने मुद्राबीचको अन्तर हो। बढि भित्रिए चालु खाता बचतमा हुन्छ, बढि बाहिरिए घाटा हुन्छ। अहिले देश चालु खाता घाटाको अवस्थामा छ।
विदेशी मुद्रा निर्यात, प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ), रेमिटेन्सका कारण देशभित्र भित्रिरहेको हुन्छ। अहिले चालु खाता घाटा जिडिपीको ८ प्रतिशत पुगेको छ। ३० खर्बको अर्थतन्त्रमा घाटा २ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। पेट्रोलियम पदार्थ, यातायातका साधन र औद्योगिक सामाग्रीको उच्च आयातले घाटा आकासिएको हो।
चालु खाता घाटा बढ्दा ठूलो चिन्ता लिनु पर्दैन, खासगरी आयात भएका बस्तु उत्पादन बृद्धि, औद्योगिक वितार र विकास निर्माणका लागि भएका हुन् भने। उपभोगका लागि मात्रै आयात उच्च छ र चालु खाता घाटा बढेको छ भने चिन्ता लिनु पर्ने हुन्छ।
चालु खाता घाटा बढ्दा विदेशी मुद्राको सञ्चितिमा दवाव पर्छ। अहिले भारतमा यही भइरहेको छ। उसले पेट्रोलियम पदार्थको भण्डारण बढाउन उच्च आयात गरिरहेको छ र चालु खाता घाटा बढिरहेको छ। यसले गर्दा उसँग भएको डलरको सञ्चितिमा दवाव परिरहेको छ। त्यसैको असरले अहिले भारतमा डलरको भाउ बढिरहेको छ। डलरको भाउ बढेका कारण नेपाली मुद्रा पनि कमजोर भइरहेको छ।