BIZMANDU
www.bizmandu.com

अर्थशास्त्री डिल्लीराज खनालको संयोजकत्वमा खर्च पुनरावलोकन आयोग गठन

२०७५ भदौ ३

अर्थशास्त्री डिल्लीराज खनालको संयोजकत्वमा खर्च पुनरावलोकन आयोग गठन
अर्थशास्त्री डिल्लीराज खनालको संयोजकत्वमा खर्च पुनरावलोकन आयोग गठन



काठमाडौं। सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको छ। अर्थशास्त्री डा. डिल्लीराज खनालको संयोजकत्वमा आयोग गठन गरिएको हो।

Tata
GBIME
Nepal Life

आइतबारको मन्त्रिपरिषद बैठकले खनालको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। 

सार्वजनिक खर्चको अवस्था, त्यसको उपयोगिता र त्यससँग सम्बन्धित नीतिगत व्यवस्थामा पुनरावलोकनका लागि सरकारले सुझाव दिन आयोग गठन गरेको हो। नेपाल सरकारको साधारण र पूँजीगत खर्चलाई व्यवस्थित र नियमित तथा आयोजना छनौटदेखि कार्यान्वयन तहसम्मको सुझाव दिन सरकारले आयोग बनाएको छ। 

आयोगले संघीय सरकारमार्फत कार्यान्वयन हुने विकास आयोजना तथा संघीय, प्रदेश तथा स्थानीय तहले गर्नुपर्ने खर्चका क्षेत्रबारे पनि सरकारलाई सुझाव दिनेछ। सरकारको खर्च प्रणाली कमजोर भइरहेको र भएको खर्च पनि प्रभावकारी नभएको भन्दै आलोचना भइरहेको थियो। 

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको खर्चलाई सदुपयोग र सही हिसाबमा प्रयोग गर्न खर्च पुनरावलोकन आयोग बनाउने बताएका थिए। दातृ निकायले पनि नेपाल सरकारको खर्च प्रणाली र त्यसको उपयोगिताबारे विभिन्न प्रश्न उठाउँदै आएका थिए। 

सरकारले यसअघि पनि यस्तै आयोग बनाएको थियो। दरबन्दी व्यवस्थापनदेखि सरकारी खर्चलाई मितव्ययी बनाउनसम्म सरकारलाई सुझाव दिन यस्ता आयोगका सुझाव महत्वपूर्ण हुने पूर्व अर्थसचिव डा शान्तराज सुवेदीले बताए। 

'सार्वजनिक खर्चको पुनरावलोकन भन्ने बित्तिकै सरकारले हरेक हिसाबले गरिरहेको खर्चको उपयोगिता र त्यसलाई प्रभावकारी बनाउन आयोगले सुझाव दिन सक्छ,' सुवेदीले भने, 'यसअघि प्राप्त भएका कतिपय सुझाव कार्यान्वयन पनि भएका छन्। ती सुझावले सरकारी खर्चलाई नियमित र व्यवस्थित बनाउन सहयोग पनि गर्छन्।' 

यसैगरी मन्त्रिपरिषद बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट एकीकृत सार्वजनिक वित्त व्यवस्थापन सुधार आयोजनाका लागि प्राप्त हुने १ अर्ब ६४ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बाँस्कोटाले जानकारी दिए।