काठमाडौं। कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल बालाजु र तराइले गत वर्ष क्रमश ४३ प्रतिशत र ४८ प्रतिशतले नाफा बढाएका छन्। बोटलर्स नेपालले एक अर्ब रुपैयाँ नाफा गरेको छ भने तराइले ७१ करोड ५४ लाख रुपैयाँ नाफा गरेको छ।
बोटलर्स नेपाल र बोटलर्स नेपाल तराइले कोकाकोला १४ अर्ब ७४ करोड रुपैयाँको बिक्री गरेका छन्। यो नेपालमा भएको उपभोग हो।
बोटलर्स नेपालले गत वर्ष कोकाकोलाको उत्पादन बिक्रीबाट ९ अर्ब ८ करोड रुपैयाँको आम्दानी गरेको छ। यसको लागि ५ अर्ब ९० करोड रुपैयाँ खर्च भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब ६९ करोड रुपैयाँ थियो।
चुक्ता पूँजी १९ करोड ४८ लाख रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब २ करोड रुपैयाँ जम्मा भएको छ। प्रति शेयर आम्दानी ४८४ रुपैया छ भने अघिल्लो वर्ष ३३८ रुपैयाँ थियो।
त्यस्तै बोटलर्स तराइले गत वर्ष कोकाकोलाको उत्पादन बिक्रीबाट ५ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको छ। यसको लागि तीन अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ५७ करोड रुपैयाँ थियो।
चुक्ता पूँजी १२ करोड १० लाख रुपैया छ भने जगेडा कोषमा एक अर्ब ८४ करोड रुपैयाँ छ। प्रतिशेयर आम्दानी एक वर्षमा ३९९ रुपैयाँबाट बढेर ५९१ रुपैयाँ पुगेको छ।