BIZMANDU
www.bizmandu.com

नागरिकता बनाउने क्रममा उमेर बिग्रियो? अब पाउनुुहुन्छ त्यसलाई सच्याउने मौका, संसदमा विधयेक

२०७५ साउन २४

नागरिकता बनाउने क्रममा उमेर बिग्रियो? अब पाउनुुहुन्छ त्यसलाई सच्याउने मौका, संसदमा विधयेक
नागरिकता बनाउने क्रममा उमेर बिग्रियो? अब पाउनुुहुन्छ त्यसलाई सच्याउने मौका, संसदमा विधयेक

Tata
GBIME
Nepal Life

काठमाडौं। नागरिकता बनाउँदा शैक्षिक प्रमाणपत्र अनुसार उमेर मिलेन? वा अन्य कुनै कारणले त्रृटि भयो? वा नागरिकतामा अन्य सानातिना त्रृटि भए? यदि त्यस्तो भएमा अब तपाईँले सच्याउने सुविधा पाउनुहुनेछ।

 
सच्याउनका लागि तपाईँले पेस गर्नुभएको निवेदन हेरेर सम्बन्धित अधिकारीले प्रमाण मूल्याङ्कनपछि नागरिकताको उमेर समेत सच्याउन मिल्ने व्यवस्था सरकारले प्रस्तावित गरेको छ।
 
बुधबार प्रतिनिधिसभामा दर्ता भएको नागरिकता ऐन संशोधन विधेयकमा सानातिना त्रृृटिसँगै उमेर सच्याउन निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरिएको हो। नाम र थरको बीचको कुनै तात्विक असर नपर्ने ‘कुमार, प्रसाद, बहादुर) जस्ता शब्दावली सच्याउने सुविधा अहिले पनि छ। तर, उमेर सच्याउने विकल्प पहिलो पटक दिन लागिएको हो।
 
उमेर सच्याउन चाहने निवेदकले आवश्यक प्रमाणसहित नागरिकता लिएको एक वर्षभित्र निवेदन दिनुपर्नेछ। यसअघि जारी भएका नागरिकताको हकमा यो व्यवस्था लागू हुने वा नहुने प्रस्तावित व्यवस्था मौन छ।
 
मूल ऐनको दफा १७ संशोधनसम्बन्धी प्रस्तावित विधेयकमा भनिएको छ –उमेर सच्याउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ ।’
 
‘जन्मसिद्धका सन्तानलाई वंशज’
विधेयकले नेपालको संविधान जारी भएको मिति २०७२ असोज ३ गतेभित्र जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई बालिग भएपछि वंशजको नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ। यसअघि अन्तरिम संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिइएको थियो।
 
विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गरेको ५ महिनाभित्र विदेशको नागरिकता त्यागेको निस्सा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। यस्तै, विदेशी पुरुषसँग विवाह गरेकी नेपाली महिलाले पति नागरिकता लिन चाहेमा पतिको देशको नागरिकता नलिएको प्रमाण पेस गर्नुपर्नेछ।
 
विदेशी पुरुषसँग विवाह गरेकी नेपाली महिलाका सन्तान बालिग हुँदा बाबु आमा दुबै नेपाली नागरिक भएको अवस्थामा सन्तानले वंशजको नागरिकता पाउनेछन्।
 
गैर आवासीय नेपालीलाई नागरिकता
विधेयकले सार्क राष्ट्रबाहेक अन्य मुलुकमा बसोबास गर्ने गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था गरेको छ। संविधानले संघीय कानुन अनुसार नागरिकता दिने व्यवस्था गरे पनि ऐन संशोधन नभएका कारण नागरिकता दिन रोकिएको थियो।
 
राजनीतिकबाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्नेगरि नागरिकता प्रमाणपत्र उपलब्ध गराइनेछ।
 
निवेदन दिने व्यक्तिले बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्नेछ। यस्तै, विदेशी मुलुकको नागरिकता प्राप्त गरेको पनि प्रमाण पेस गर्नुपर्ने विधेयकमा प्रस्ताव छ।
 
नागरिकता लिन चाहने व्यक्तिले नेपालको संविधान तथा कानुन परिपालनाको प्रतिबद्धता गर्नु पर्नेछ।