
गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो त्रैमासिक आर्थिक तथ्यांक सार्वजनिक गर्दै ४.१ प्रतिशतको आर्थिक बृद्धि भएको उत्साहजनक प्रतिवेदन पेश गरे।
त्यस क्रममा उनले आफूले लिएका नीतिहरुकै कारण आर्थिक बृद्धि भैरहेको भन्दै आफ्नै नीतिहरुको प्रशंसा र बचाउ गरे।
आफ्नो कार्यकाल सुरु भएदेखि नै सुधारकालागि काम गरिरहेको भन्दै उनले सफलताको सबै ‘क्रेडिट’ लिएका थिए।
उनले अमेरिकाको अर्थतन्त्र सारा विश्वलाई लोभ्याउने खालको रहेको भन्दै उनले हाल अझै यो मजबुत अवस्थामा पुगेको बताए।
बृद्धि निरन्तर रहेको अर्थतन्त्रको आकार बढिरहेको र चौतर्फी विकासका कारण अन्य देशहरुबाट आयातका लागि भर पर्ने अवस्था पनि घट्दै गैरहेको ट्रम्पले बताए।
जापान, चीन र यूरोपको आर्थिक बृद्धि मन्द देखिएकोले अमेरिकालाई ट्रेड वारकालागि सहज हुँदै गएको उनको तर्क थियो।
तर के ट्रम्पले लिएको नीति कै कारण अमेरिकाको आर्थिक विकासमा बृद्धि हुँदै गएको हो त?
अमेरिकाको बिगत हेर्दा बिगत एक वर्षदेखि नै अमेरिकी अर्थतन्त्र एक दशक लामो रिकभरीको प्रोसेसमा रहेको देखिन्छ।
यस बर्ष आर्थिक बृद्धिले महत्वपूर्ण गति हासिल गररहेको छ। र संभवत एक दशक लामो समयपछि अमेरिकी अर्थतन्त्र ट्रयाकमा आउने देखिन्छ।
ट्रम्पले कार्यकाल सम्हाले यता कुनै त्रैमासमा आर्थिक बृद्धि तीब्र त कुनैमा मन्द देखिँदै आएको छ। दोस्रो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा ४ प्रतिशतको बृद्धि भएको छ। तर यहि बृद्धिका कारण ट्रम्पले उल्लेखनिय बृद्धिदर हासिल गरिसकेको भन्दै उत्साहित हुनुपर्ने भने होइन।
यसअघि बाराक ओबामा प्रशासनमा सन् २०१४ को तेस्रो त्रैमासमा अमेरिकाको आर्थिक बृद्धिदर ५.३ प्रतिशत पुगेको थियो।
सन् २००९ मा अमेरिकी कमान सम्हाल्दा बाराक ओबामाका सामु ७.८ प्रतिशतमा रहको बेरोजगारी दरलाई घटाउने चुनौती थियो। उनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्दा नै यो ४.८ प्रतिशतमा झार्न सफल भैसकेका थिए।
ट्रम्पको १८ महिने कार्यकालमा यो प्रतिशत अझ घट्यो र गत महिना बेरोजगरी दर ४ प्रतिशतमा खुम्चिएको छ। बिगत ९ वर्षदेखिकै रिकभरीलाई हेर्ने हो भने हरेक बर्ष अमेरिकाको जिडिपी बढिरहेको तथ्यांकले देखाउँछ। एक्लै ट्रम्पले १८ महिनामा अख्तियार गरेका नीतिकै कारण आर्थिक सम्बृद्धि संभव भएको भने होइन।
ट्रम्पले नयाँ आँकडा सार्वजनिक गर्ने क्रममा भने-‘ गत चुनाव यता मैले ३७ लाख नयाँ रोजगारी सिर्जना गरे जुन अरुका लागि कल्पना बाहिरको कुरा थियो। कसैले पनि यो गर्न सक्दैन।’
ट्रम्पले आफूले गरेको तर अरुका लागि कल्पना बाहिरको भनेपनि तथ्यांकले यसो भन्दैन। सन् २०१६ देखि सन् २०१८ को जुनसम्ममा ट्रम्पले ३७ लाख रोजगारी सिर्जना गरे।
तर ट्रम्प निर्वाचित हुनुभन्दा ठिक १९ महिना अघि अमेरिकी अर्थतन्त्रमा ४३ लाख रोजगारी सिर्जना भैसकेको थियो।
उनले अरुकालागि कल्पना बाहिरको भनिरहँदा त्यसअघि धेरै बढी रोजगारी सिर्जना भएको तथ्यलाई बिर्सिएर अमेरिकी अर्थतन्त्रमा देखिँदै गएको सुधारको सबै श्रेय आफैँले लिन खोजेका छन्।
अमेरिकी जिडिपी औसत रुपमा बार्षिक ३ प्रतिशतभन्दा बढी बृद्धि हुने ट्र्याकमा गैरहेको ट्रम्पको दावी छ। उनले बार्षिक रुपमा १ करोड रोजगारी थपिने र जिडिपीमा तीन खर्ब डलरको बृद्धि हुँदै जाने अनुमान पनि गरेका छन्।
तर हाल बार्षिक २० खर्ब डलरको हाराहारीमा रहेको जिडिपी र १६ करोड जनशक्तिबाट ट्रम्पले भनेजस्तो तीब्र आर्थिक बृद्धि हासिल गर्न लामो समय लाग्ने बिज्ञहरु बताउँछन्।
ट्रम्पले कार्यकक्ष सम्हाले यता भैरहेको सुधारकालागि उनको ट्याक्स रिफर्म कार्यक्रमलाई पनि क्रेडिट दिएका छन्।
ट्याक्स रिफर्मको तीन महिनाभित्रमै करबापत ३०० अर्ब अमेरिकी डलर देशको ढुकुटीमा आएको उनले बताए। उनले अझै कर्पोरेट सेक्टरबाट ४ खर्ब डलरभन्दा बढी रकम ढुकुटीमा भित्रिने दावी पनि गरे।
अमेरिकी आर्थिक तथ्यांक विश्लेषण ब्यूरोका अनुसार यसै वर्षको पहिलो त्रैमासमा कर बापत ३०६ अर्ब अमेरिकी डलर ढुकुटीमा भित्रिएको छ। तर अफसोरबाट लगानी गरिरहेका कर्पोरेट कम्पनीहरुबाट नउठेको कर अझै २.३ देखि २.८ खर्ब रहेको ब्यूरोले अनुमान गरेको छ।
ट्रम्पको अमेरिका फर्स्ट नीतिका कारण अमेरिकी कम्पनीहरुको मनोबलमा भने उच्चस्तरको बृद्धि देखिएको छ।
अमेरिकाको उत्पादनकर्ताहरुको राष्ट्रिय संगठनले आफ्नो त्रैमासिक सर्वेक्षण बुलेटिन गत महिना सार्वजनिक गरेको थियो। जसमध्ये ५६८ उत्पादनकर्ताहरुमध्ये ९५ प्रतिशतले नै आफ्नो कम्पनीको अवस्था सुध्रिएको भन्दै अवस्था सकारात्मक र आशालाग्दो भएको बताएका थिए।
ट्रम्पले निर्वाचनकै एजेन्डाका रुपमा अमेरिका फर्स्ट नीतिलाई अख्तियार गरेका थिए जसबाट अमेरिकी कम्पनीहरुको मनोबल बढेको थियो। हाल अमेरिकी उत्पादन कम्पनीहरुको अवस्था पनि मजबुत बनेको सर्वेक्षणले पनि देखाएको छ।
ट्रम्पले यहि तथ्यका आधारमा दावी गरेका छन् ‘आफ्नै कारण अमेरिकी उत्पादनकर्ता कम्पनीहरुको स्थितीमा यति उच्चस्तरको सुधार आएको हो।’
हुनपनि अमेरिकी कम्पनीहरुको यो तथ्य २० वर्षयताकै उच्चस्तरको रेकर्ड भएको सर्वेक्षणमा उल्लेख छ।