BIZMANDU
www.bizmandu.com

घर कर्जा: स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.९५ प्रतिशतमै ऋण दिने, अरु बैंकको कति छ ब्याजदर?

२०७५ असार ३

घर कर्जा: स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.९५ प्रतिशतमै ऋण दिने, अरु बैंकको कति छ ब्याजदर?
घर कर्जा: स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.९५ प्रतिशतमै ऋण दिने, अरु बैंकको कति छ ब्याजदर?

Tata
GBIME
Nepal Life

काठमाडौं। अहिले बैंकमा तरलता अभाव भएसँगै अधिकांश बैंकले मुद्दतीको ब्याजदर १३ प्रतिशत सम्म पुर्याकइरहेका बेला घरजग्गाको लागि दिने ऋण भने १० प्रतिशतमै दिइरहेका छन्।

काठमाडौंको भृकुटी मण्डपमा चलिरहेको घरजग्गा मेला अवधिभरका लागि बैंकले १० प्रतिशत ब्याजदरमै ऋण दिन थालेका हुन्।स्ट्यान्डर्ड चार्टर्ड बैंकले घरजग्गा मेलामा सबैभन्दा सस्तो ब्याजदरमा घरजग्गा कर्जा दिइरहेको छ।बैंकले १८ वर्ष सम्म तिर्न मिल्ने कर्जाको ब्याजदर ९.९५ प्रतिशत मात्रै तोकेको छ। घरजग्गाको मूल्याङ्कन अनुसार ५० प्रतिशत सम्म कर्जा दिने बैंकले सेवा शुल्क वापत १.२५ प्रतिशत शुल्क लिने पनि जनाएको छ।

एभरेष्ट बैंकले पनि घरजग्गा मेला अवधिभरका लागि १०.३३ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा उपलब्ध गराइरहेको छ।५ वर्ष सम्मको लागि लिँदा १०.३३ प्रतिशत र ५ वर्ष भन्दा बढी १५ वर्षसम्मको लागि लिने भए १० .८३ प्रतिशत ब्याजदर कायम गरेको छ।

सिभिल बैंकले घरजग्गा कर्जाको ब्याजदर १२.३६ प्रतिशत कायम गरेको छ। २५ वर्ष सम्म तिर्न मिल्ने कर्जा मूल्याङ्कनको ५० प्रतिशत सम्म उपलब्ध हुने बैंकले जनाएको छ।एनएमबि बैंकले भने ३५ वर्ष सम्म तिर्न मिल्ने घरजग्गा कर्जाको ब्याजदर १३.१ प्रतिशत तोकेको छ। उपत्यका भित्र भए मूल्याङ्कनको ५० प्रतिशत सम्म र उपत्यका बाहिर भए ६० प्रतिशत सम्म कर्जा लगानी गर्ने बैंकले जनाएको छ।

सनराइज बैंकले पनि २० वर्षकोलागि १४ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा लगानी गरिरहेको छ। त्यस्तै एनआइसी एसिया बैंकले पनि १२ वर्ष अवधिको कर्जा १४ प्रतिशत ब्याजदरमै उपलब्ध गराइरहेको छ।

सबै बैंकले उपत्यकाभित्र ४० देखि ५० प्रतिशत सम्म मात्रै कर्जा लगानी गर्नेछन्। राष्ट्र बैंकको निर्देशन अनुसारनै घरजग्गामा मूल्याङ्कनको ५० प्रतिशत भन्दा बढी लगानी गर्न नसकिने बैंकले जनाएका छन्।

कर्जा अवधि र ब्याजदर भने मेला अवधिभरको लागि बैंकै पिच्छे फरक फरक कायम गरिएको छ। घरजग्गा मेला असार ५ गतेसम्म चल्ने छ।